गणतन्त्र सबलीकरणमा सबै शक्ति एक ठाउँमा’

सुर्खेत। संघीय लोकतान्त्रिक गणतन्त्र रक्षा र सबलीकरणमा कर्णालीका सबै दलहरु एकताबद्धता भएका छन् । मंगलवार वीरेन्द्रनगरमा आयोजित संघीय लोकतान्त्रिक गणतन्त्रका उपलब्धी र चुनौती विषयक अन्तरक्रिया कार्यक्रमका सहभागिहरुले यस्तो बताएका हुन् । विद्यमान व्यवस्थालाई माध्यम बनाएर सुशासन र विकासको काममा अघि बढ्नुपर्नेमा उनीहरु एकमत भएका हुन् । नेकपा एमाले जिल्ला कमिटि सुर्खेतको आयोजनामा गरिएको अन्तरक्रिया कार्यक्रममा विभिन्न दलका प्रतिनिधि, नागरिक समाज, शिक्षा क्षेत्रका विज्ञ र विभिन्न संघ संस्थाका प्रतिनिधिहरु सहभागि थिए ।

मध्यपश्चिम विश्वविद्यालयका प्रध्यापक डां आनन्दप्रसाद सुवेदीले सबैले एकैकिसिमबाट लोकतन्त्रको अनुसरण गर्न पाउनुपर्ने बताए । संवैधानिक प्रावधानको परिपालना गर्नु अहिलेको आवश्यकता भएको उनको भनाइ छ । अहिलेपनि लोकतन्त्रको अनुभूति शतप्रतिशत नागरिकले गर्न नसकेको भन्दै उनले सरकारले मौलिक हक कार्यान्वयनमा जोड दिनुपर्ने जनाए । राज्यले नागरिकप्रति उत्तरदायी भूमिका निभाउन नसकेको सुवेदीको भनाइ छ । सरकार र कर्मचारी तन्त्रमा बेमेल हुँदा संघीयताको मर्म अनुरूप काम हुननसकेको उनले बताए । उद्योगी व्यवसायी चिन्तामणी शर्माले संविधानको कार्यान्वयन गर्नु राज्यको प्रमुख दायित्व भएको बताए । पार्टी पंक्तिले जनताको हित हुनेगरी काम गर्नुपर्नेमा उनको जोड छ ।

लोकतन्त्रपछि नागरिकको जीवन फेरिएको भन्दै उनले सबैक्षेत्रबाट लोकतन्त्रको रक्षा गर्नु पहिलो दायित्व भएको जनाए । प्याब्सन सुर्खेतका अध्यक्ष छत्र बढुवालले शिक्षामा नीतिगत व्यवस्था आवश्यक रहेको बताए । शिक्षामा असमान्ता र शिक्षा सुधारमा ढिलाइ भइरहेको भन्दै उनले सबै नागरिकको हकमा सर्वसुलभ शिक्षा हुनुपर्नेमा जोड दिए । नागरिक समाजका प्रतिनिधि भूपेन्द्र शाहीले जनता र सरकारबीच असन्तुष्टि बढेको बताए । लोकतन्त्रको रक्षाका लागि संविधानको परिपालना गर्नुपर्नेमा उनको जोड थियो । माओवादी केन्द्रका सुर्खेत जिल्ला सचिव टोपबहादुर दर्लामीले लोकतन्त्रको रक्षा गर्नु सबैको दायित्व भएको जनाए । अहिले भइरहेको राजावादीको चर्चा बेकारको भएको र जनताले त्यस कुरामा सचेत हुनुपर्ने जनाए । सहकारी संस्थाका प्रतिनिधि नवराज कँडेलले संघीयताको मर्म अनुरूप काम गर्नुपर्ने बताए ।

गणतन्त्रपछि नागरिकको जीवन फेरिएको अनुभूति भएको उनको भनाइ छ । नेकपा एमालेका कर्णाली प्रदेश अध्यक्ष गुलावजंग शाहले संघीय लोकतान्त्रिक गणतन्त्रसहितका उपलब्धिको रक्षाका लागि गणतन्त्र पक्षधर सबै एक ठाउँमा उभिनुपर्ने बताए । जनताको बलिदानीबाट प्राप्त गणतन्त्रको संरक्षण र संवद्र्धनमा जुट्न सबैसँग अनुरोध समेत उनले गरेका छन् । पछिल्लो समय गणतन्त्रलाई कमजोर पार्ने षड्यन्त्र भइरहेकाले त्यसतर्फ सचेत रहन समग्र पार्टी पङ्क्तिलाई आग्रह समेत गरेका छन् । एमाले पार्टी केन्द्रीय सदस्य तथा सुर्खेत जिल्ला इन्चार्ज नवराज रावतले राजावादीहरू हावी भएको बताए ।

राजाबारे अहिले चलेको चर्चा मिथ्या भएको उनको भनाइ छ । एमाले नेता ठम्मर विष्टले लोकतन्त्रले गर्दा देशमा ठूलो परिवर्तन भएको जनाए । नागरिकलाई यसबारे बुझाउनुपर्ने उनको भनाइ छ । नेकपा (एमाले)कर्णाली प्रदेशका इन्चार्ज गोरख बोगटीले गणतन्त्रमाथि धावा बोल्ने काम भइरहेको बताए । उनले भने,‘समाजमा शान्ति र सुव्यवस्था कायम गर्नुपर्छ, अनेक प्रकारका साम्प्रदायिक विद्वेष भड्काउने खालका, देशको विविधतालाई दुरुपयोग गर्ने खालका हाम्रा भाषा, जातजातिका संस्कृतिको सम्मान गर्न छोडेर तिनका बिचमा अविश्वास बढाउने, त्यस्ता खालको क्रियाकलाप ग¥यो भने देश बिथोलिन्छ । देशमा अनेकता हुन्छ । देशमा एकता भएर राष्ट्र निर्माण गर्ने अभियानलाई यसले कुठाराघात गर्छ, त्यसले ।

त्यसकारण त्यस्तो नगर्ने राष्ट्रिय एकताको पक्षमा रहेका यस्ता शक्तिहरू मिलेर अगाडि बढ्न सकिन्छ ।’बजारमा चलेका हल्लाबाट नागरिकलाई सचेत बनाउनुपर्नेमा उनको जोड थियो । नेकपा (एमाले ) सुर्खेत जिल्ला कमिटी अध्यक्ष कुलमणी देवकोटाले लोकतन्त्रको सुन्दर पक्षको रक्षा गर्नुपर्ने बताए । लोकतन्त्रको दिगोपनाका लागि काम गर्नुपर्ने भन्दै उनले आयातित बिचारमा बिचल्लीत नहुन सबैलाई आग्रह गरे । उनले भने,‘ संघीय लोकतान्त्रिक गणतन्त्र, समानुपातिक प्रतिनिधित्वसहितको समावेशी शासन व्यवस्थालाई कमजोर पार्ने÷उल्ट्याउने कोसिस भइरहेको छ, त्यसतर्फ सचेत र सजग हुन सबैसँग अनुरोध गर्दछु ।’