सुर्खेत । वीरेन्द्रनगर नगरपालिकाका नगरप्रमुख मोहनमाया ढकालले महिलाहरुले सफलतापूवर्क राज्य चलाइरहेको बताएकी छन् । उनले महिलाहरुले अवसर पाए पछि हट्दैन् र गर्न सक्छन् भन्ने सन्देश पनि दिएको उल्लेख गरिन् । ११५ औँ अन्तराष्ट्रिय महिला दिवसको अवसरमा वीरेन्द्रनगर नगरपालिकाले शनिबार आयोजना गरेको मुल समारोहमा बोल्दै महिला आन्दोलनका उपलब्धी र कानूनले दिएका अधिकारका लागि महिलाले प्रथम दर्जा हासिल गर्ने अवस्थासम्म ल्याइपु¥याएको उल्लेख गरिन् । उनले अघि भनिन्, ‘जुनसुकै ठाउँमा रहेर पनि गर्न सक्छौँ । अवसर दिएमा कोही पनि पछि हट्दैनन् । कर्ममा विश्वास गरेर अघि बढौँ र आफ्नो शक्ति चिनौँ । घरसंसार चलाएका हामी महिलाहरुले सफलतापूर्वक राज्य चलाइरहेका छौँ । ’
उनले राजनीतिक, सामाजिक क्षेत्र, पेशा व्यवसाय सफलतापूर्वक गर्न सक्छौँ भन्ने सन्देश दिएका छौँ । उनले राजनीतिक, सामाजिक परिववर्तनसँगै विभिन्न कालखण्डमा उठेका विषयले महिलाहरुले विभिन्न अधिकार प्राप्त गरेको उल्लेख गर्दै अब यि अधिकार स्थापित गर्न आवश्यक रहेको औल्याइन् । उनले महिलाले राष्ट्रपति, प्रधानन्यायधिस, सभामुख समेत भएर सफलतापूर्वक काम गरेको बताइन् । यो सबै महिला आन्दोलनको उपलब्धी र कानूनले दिएको अधिकारका कारण भएको उनको भनाई थियो ।
उनले नेपालको कानूनले दिएको अधिकारलाई प्रयोग गर्दै लैजान पनि आग्रह गरिन् । ‘नेपालको कानूनले महिलालाई सशक्त बनाएको छ । हिंसा नगर्ने कानून बनाएको छ । निजामती, सुरक्षा निकाय र विभिन्न पेशा व्यवसाय गर्ने अधिकार दिएको छ । म यो देशको सामाजिक क्षेत्रमा लाग्छु, राजनीतिक क्षेत्रमा गेर नीति निर्माणमा लाग्छु भन्ने अधिकार दिएको छ । हामीले पाएको यो अधिकारलाई प्रयोग गर्दै लानुपर्छ ।’ उनने भनिन् ।
आवाजपत्र । २४ फाल्गुन २०८१, शनिबार २२:४७