वीरेन्द्रनगरमा ‘हेलो गर्भवती आमा’

पाँच हजार गर्भवती तथा सुत्केरीलाई परामर्श

गीता थापा

सुर्खेत । वीरेन्द्रनगर नगरपालिका सुर्खेतले गर्भवती तथा सुत्केरी महिलालाई टेलिफोन मार्फत परामर्श सेवा दिँदै आएको छ । नगरपालिकाले प्रत्येक महिना टेलिफोन मार्फत गर्भावस्थामा हुन सक्ने जोखिमका कारण अकाल मृत्युलाई रोक्नका लागि गर्भवती तथा सुत्केरी महिलालाई परामर्श सेवा दिँदै आएको हो ।

नगरपालिकाले हालसम्म पाँच हजार गर्भवती तथा सुत्केरी आमालाई टेलिफोनमार्फत गर्भावस्थाका जोखिमका कारण हुनसक्ने अकाल मृत्युलाई रोक्न परामर्श सेवा दिएको छ ।

वीरेन्द्रनगर नगरपालिकाका १६ वडामा २० वटा स्वास्थ्य केन्द्रहरु रहेका छन् । नगरपालिकाले यी स्वास्थ्य संस्थाबाट हालसम्म दुई सय ८४ जना गर्भवती आमालाई सुत्केरी हुन निशुल्क एम्बुलेन्स सेवा प्रदान गरेको छ । सुत्केरी हुनका लागि बर्थिङ्ग सेन्टरसम्म पुग्न नगरपालिकाले निशुल्क एम्बुलेन्स सेवा दिएको वीरेन्द्रनगर नगरपालिकाको जनस्वास्थ्य शाखाका प्रमुख भुपेन्द्रदेव गिरीले बताए । यस्तै, दुई सय १२ जना गर्भवतीको भिडियो एक्सरे गरिएको छ भने एक सय ७२ जनालाई नगर प्रमुख पोषण कोशेली प्रदान गरिएको उनले बताए ।

एक हजार चार सय चार गर्भवती तथा सुत्केरी आमालार्ई तीन र सात दिनमा घरमै पुगेर नर्सिङ सेवा प्रदान गरिएको छ । नगरपालिकाले हालसम्म दुई हजार सात सय ५३ जना महिलालाई स्तन र पाठेघरको मुखमा हुने क्यान्सर जाँच सेवा प्रदान गरेको छ । यस्तै, ३८ हजार प्रजनन् उमेर समूहका महिला तथा किशोरीलाई सेनेटरी प्याड प्रदान गरिएको स्वास्थ्य शाखा प्रमुख गिरीले जानकारी दिए । यस्तै नगरपालिकाले विशेष गरी चौधरी समूदायमा देखा पर्ने सिकलसेल रोगको रोकथाम तथा उपचार सेवा अन्तर्गत ६ सय ३७ जनाको परीक्षण गरेको छ ।

साथै चौधरी समूदायलाई सिकलसेल सम्बन्धि स्वास्थ्य सचेतना जगाउनेदेखि रोग पत्ता लगाउने मेसिन खरिद गरी प्रदेश अस्पताललाई हस्तान्तरण गर्ने तयारी नगरपालिकाले गरेको छ । हालसम्म नगरपालिकाले एक सय ७८ महिला र आठ सय ५० जना अतिविपन्नको निशुल्क स्वास्थ्य बीमा गरेको छ भने ६० वर्ष पुरा भई सेवा निवृत्त भएका स्वास्थ्य स्वयम्सेविकालाई प्रोत्साहनस्वरुप ५० हजार दिन सुरु गरिएको छ । नगरपालिकाले दुई सय आठ जना विपन्न दीर्घरोगीलाई एक लाख बराबरको उपचारमा सहयोग गरेको छ ।

‘हेलो गर्भवती आमा’

यस्तै, सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाले गर्भवती तथा सुत्केरी आमालाई घरबाटै स्वास्थ्य सेवा दिन ‘हेलो गर्भवती आमा’ कार्यक्रम पनि लागु गरेको छ । वीरेन्द्रनगर नगरपालिकाका प्रमुख मोहनमाया ढकालले सोमवारबाट हरेक हप्ता गर्भवती आमाहरुलाई दक्ष स्वास्थ्यकर्मीद्वारा फोनबाट आवश्यक सल्लाह, सुझाव तथा परामर्श दिने उद्देश्यले सुरु गरिएको ‘हेलो गर्भवती आमा’ कार्यक्रम सुरु गरेको जानकारी दिइन् ।

‘हेलो गर्भवती आमा’ कार्यक्रम वीरेन्द्रनगर–२, स्थित सहरी स्वास्थ्य केन्द्र दौलतपुरबाट सुरु गरिएको मेयर ढकालले बताइन् । ढकालले स्थानीय गर्भवती आमा नर्मा थापाको स्वास्थ्य अवस्थाका बारेमा जानकारी लिदै थापाको स्वास्थ्य अवस्थाका बारेमा समेत सोधबुझ गरेकी थिइन् । गर्भ अवस्थामा नियमित जाँच गरे नगरेको तथा पोषणका बारेमा बुझ्दै ‘हेलो गर्भवती आमा’ कार्यक्रमका बारेमा समेत थापालाई ढकालले जानकारी दिएकी थिइन् । गर्भावस्थामा केही समस्या आए ढुक्कसँग स्वास्थ्य संस्था आउन र नगरपालिकाले उपलब्ध गराउने सुविधाको उपभोग गर्न ढकालले थापालाई आग्रह गरिन । मेयरको नाम मात्र सुनेकी थापा एक्कासी फोन मै बोल्न पाएपछि खुशी लागेको ढकाललाई सुनाइन । यसरी

गर्भवतीसँग भलाकुसारी हुने यो सेवा अब वीरेन्द्रनगरका १६ वटै वडाका स्वास्थ्य केन्द्रमा पनि लागु हुनेछ । हरेक हप्ता गर्भवती आमालाई दक्ष स्वास्थ्यकर्मीहरुले फोनबाट आवश्यक सल्लाह, सुझाव तथा परामर्श सेवा प्रदान गर्न सेवारम्भ गरिएको हो । जसमा नियमित गर्भजाँच, रगत जाँच, भिडियो एक्सरे, पिसाव तथा आवशयक जाँचजपड्ताल, खोप, पोषण तथा सरसफाई, गर्भवती अवस्थामा देखापर्ने खतराका चिन्हहरु, प्रसुतिपूर्वको तयारीका साथै अन्य स्वास्थ्य सेवा गर्भवती तथा आमालाई टेलिफोनमार्फत घरमै सेवा दिने उद्देश्यले हेलो गर्भवती आमा कार्यक्रम सुभारम्भ गरिएको नगर प्रमुख ढकालले बताइन ।

‘हाम्रो नगरपालिकामा रहनु भएका गर्भवती आमाहरुलाई हामीले यसअघि सरकारले तोकेको अनिवार्य चार पटक जाँचमा एक हजार रुपैयाँ र निशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराउने गरेका थियौं,’ नगर प्रमुख ढकालले भनिन्, ‘तर अहिले सरकारले नयाँ प्रोटोकल जारी गरेपछि अधिकांश गर्भवती आमाहरुलाई जानकारी नुहुनु र कतिपय अवस्थामा स्वास्थ्य संस्थामा आउने समय बिर्सेर अनिवार्य जाँचमा छुट्न थालेपछि हामीले यो सेवा सुभारम्भ गरेका हौं ।’

१६ वटै वडामा रहेका गर्भवती आमाहरुको पूर्ण विवरण स्वास्थ्य स्वयंमसेविकाको माध्यमबाट स्वास्थ्य केन्द्रहरुमा राखिएको हुन्छ । सोही विवरण हेरेर हरेक हप्ता तथा जाँच गर्ने समयमा स्वास्थ्य संस्थाबाट दक्ष स्वास्थ्यकर्मीले गर्भवती आमालाई टेलिफोन गरी आवश्यक सरसल्लाह तथा परामर्श दिने व्यवस्था मिलाइएको उनले बताइन । सरकारले चार पटक गरिने गर्भावस्थामा हुने जाँचलाई बढाएर आठ पटक गर्नुपर्ने अनिवार्य पोर्टकल लागु गरेपछि यसबाट छुट्न सक्ने सम्भावित आमा र बच्चाको स्वास्थ्यमा समस्या नहोस् भन्ने हेतुले टेलिफोनमार्फत ट्रयाक गर्न सुरु गरिएको प्रमुख ढकालले बताइन् ।

यस अघि आमाको माया कार्यक्रममार्फत गर्भवती आमाको अनिवार्य चार पटक जाँच गर्ने गरिएको थियो । तर यो व्यवस्थालाई परिमार्जित गर्दै सरकारले आठ पटक अनिवार्य गर्भावस्था जाँच गराउनुपर्ने नयाँ प्रोटोकल लागु गरेको छ । नयाँ प्रोटोकल लागु भएपछि यसको जानकारी नुहुँनु र जाँच गराउने समय बिर्सने लगायतका कारणले गर्भवती महिलाहरु स्वास्थ्य संस्थामा जाँच गराउन नआउन थालेपछि स्वास्थ्य संस्थाबाटै सम्पर्क गरी सेवा दिने प्रणालीको विकास गरिएको नगरपालिकाले जनाएको छ । नगरपालिकाले यसअघि चार पटकसम्म गरिने गर्भवती जाँचमा आउने महिलालाई प्रोत्साहनस्वरुप एक हजार र निशुल्क एम्बुलेन्स सेवा दिदैं आइएको थियो । तर आठ पटक गरिने जाँचमा भने अधिकांश गर्भवती महिलाहरु नआउन थालेपछि नयाँ रणनीति लिनु परेको नगरपालिकाले जनाएको छ । यो सेवा सुरु भएसँगै आर्थिकरुपमा विपन्न महिलाहरुलाई आवश्यकताका आधारमा घरमै सेवा लिन सहज हुने अपेक्षा राखेको नगर प्रमुख ढकालले बताइन ।

यस्तै नगर प्रमुख ढकालले सहरी स्वास्थ्य केन्द्र दौलतपुरमा स्तनपान कक्षको पनि सुभारम्भ गरेकी छन् । स्तनपान कक्ष नहुँदा सेवा लिन आउने आमालाई असहज नहोस् भन्ने हेतुले नगरका सबै स्वास्थ्य संस्थामा अनिवार्य छुट्टै कक्षको स्थापना गर्न लागिएको उनले बताइन । सुर्खेतका नौ वटा पालिकामा सबैभन्दा उत्कृष्ट स्वास्थ्य सेवा दिन वीरेन्द्रनगर सफल भएको उल्लेख गर्दै नगर प्रमुख ढकालले गुणस्तरिय सेवासँगै प्रजनन् स्वास्थ्यलाई प्राथमिकतामा राखेर अगाडि बढेको बताइन ।