हुम्लाको ताजाकोट गाउँपालिका औलोको उच्च जोखिममा

सुर्खेत। कर्णाली प्रदेशका चार जिल्ला औलोको जोखिममा रहेको पाइएको छ । स्वास्थ्य सेवा निर्देशनालयका अनुसार प्रदेशका दश जिल्लामध्य हुम्ला, मुगु र सुर्खेत औलोको जोखिममा रहेका हुन् । ती मध्ये हुम्लाको ताजाकोट गाउँपालिका अझ उच्च जोखिममा रहेको छ । यस्तै सुर्खेत वीरेन्द्रनगर, मुगुको खत्याड तथा हुम्लाको ताजाकोट औलोको मध्यम जोखिममा रहेको कर्णाली प्रदेश स्वास्थ्य निर्देशनालयका भेक्टर कन्ट्रोल सुपरभाइजर अधिकृत श्याम लाल आचार्यले बताए ।

‘हुम्लामा भेटिएका दुई जना औलो रोगका बिरामीमध्ये एउटा स्थानीयस्तरमा रोग लागेको भेटिएको हो,’ उनले भने,‘चालू आर्थिक वर्षमा कर्णाली प्रदेशमा भेटिएका औलोका ३८ बिरामीमध्ये हुम्लामा भेटिएका एक जना बिरामी बाहेक अरु आयातित बिरामी हुन् ।’

चालू आर्थिक वर्षमा कर्णाली प्रदेशमा सुर्खेतमा २९, दैलेखमा ४, कालिकोटमा ३ र हुम्लामा २ जना औलो रोगका बिरामी फेला परेको आचार्यले जानकारी दिए  । ‘३७ जना आयातित औलो रोगमा बिरामी भेटिएका छन्,’ उनले भने,‘एक जनामा स्थानीय औलोका बिरामी भेटिएका हुन् ।’

कर्णालीका चार जिल्लामा भेटिएका औलो रोगका बिरामीमध्ये हुम्लाको ताजाकोट गाउँपालिका, दैलेखको आठबिस नगरपालिका, चामुण्डा बिन्द्रासैनी नगरपालिका, दुल्लु नगरपालिका, ठाटीकाँध गाउँपालिका, कालिकोटको खाँडाचक्र नगरपालिका, सुर्खेत जिल्लाका बराहताल गाउँपालिका वीरेन्द्रनगर नगरपालिका, चौकुने गाउँपालिका गुर्भाकोट नगरपालिका, लेकबेँसी नगरपालिका, पञ्चपुरी नगरपालिका र सिम्ता गाउँपालिकामा औलो रोगका बिरामी रहेको आचार्यले बताए ।

त्यस्तै, कर्णालीका ७९ स्थानीय तहका सात सय १८ वडामध्ये तीन वडा औलो रोगको उच्च जोखिम रहेको, सात वटा वडा मध्यम जोखिम रहेको, चार सय १० वटा वडा निम्न जोखिम रहेको र दुई सय ९८ वडामा जोखिम नरहेको आचार्यले जानकारी दिए ।

उच्च जोखिममा रहेको वडामध्ये हुम्ला ताजाँकोट गाउँपालिका वडा नं २, ३ र ४ रहेको छन् । न्यून जोखिममा सुर्खेत वीरेन्द्रनगर नगरपालिका वडा नं. २, गुर्भाकोट नगरपालिका वडा नं. ८, मुगु खत्याड गाउँपालिका वडा नंं. ८, सोरु गाउँपालिका वडा नंं. ४, ५, हुम्ला जिल्लाको अदानचुली गाउँपालिका वडा नं.३ र ताजाँकोट गाउँपालिका वडा नंं ५ रहेको आचार्यले बताए ।