सुर्खेत । मानव सेवा आश्रमको कर्णाली प्रदेश स्तरीय भवन निर्माणका लागि सुर्खेतको वीरेन्द्रनगरमा महायज्ञ आयोजना गरिने भएको छ ।आगामी मंसिर २१ गतेदेखि २८ गतेसम्म सञ्चालन हुने महायज्ञ मार्फत भवन निर्माणका लागि आवश्यक रकम संकलन गरिने छ ।
महायज्ञमा प्रमुख कथावाचकको रूपमा भागवत भाष्कर कमलनयन गौतम रहेका छन् । यसमा सबै धर्म र परम्पराका पण्डित, गुरुहरूको सामूहिक उपस्थिति हुनेछ । यसका साथै, राष्ट्रिय तथा स्थानीय कलाकारहरूको प्रस्तुति, नाटक, झाँकी प्रदर्शन लगायतका सांस्कृतिक कार्यक्रमहरू पनि आयोजना गरिने छन् ।
आश्रमको नयाँ भवन निर्माणका लागि वीरेन्द्रनगर नगरपालिका–११ स्थित गंगामाला धार्मिक वन र देउती बज्यै सामुदायिक वन समितिले २९ विघा जग्गा उपलब्ध गराएको छ। महायज्ञ मूल आयोजक समितिका संयोजक डा। नवराज केसीका अनुसार, महायज्ञबाट कम्तिमा ५ करोड रुपैयाँ संकलन गर्ने लक्ष्य राखिएको छ । आश्रमको भवन निर्माणमा कुल ८ देखि १० करोड रुपैयाँ लाग्ने अनुमान गरिएको छ ।
डा। केसीले बिहीवार आश्रममा पत्रकार सम्मेलनमा भने, ‘सरकारको पुँजीले मात्र भवन निर्माण सम्भव छैन, समाजको पुँजी पनि यसमा लाग्नुपर्छ। हामीलाई पैसा मात्र होइन, सेवा गर्ने हातहरू पनि चाहिएको छ। सबै कर्णालीवासीलाई यस पुण्यकार्यमा सहभागी हुन आग्रह गर्दछु ।’ भवनमा सडक आश्रित मानवको उद्धार गरेर राख्ने मात्र नभई मानव सेवा बुझाउने मानवता अध्ययन केन्द्रको स्थापना गरिने संयोजक केसीले बताए ।
कर्णाली प्रदेश सरकारले पनि भवन निर्माणका लागि चालु आर्थिक वर्षको बजेटमा १ करोड रुपैयाँ दिने घोषणा गरेको छ । २०७५ माघ १८ गतेदेखि सुर्खेतको वीरेन्द्रनगर नगरपालिका—१२ मा आश्रमले भाडाको घरबाट सेवा दिँदै आएको छ । हालसम्म ४०६ जना बेसहारालाई उद्धार गरिएको आश्रमले जनाएको छ । आश्रमका संस्थापक र स्वयंसेवकहरूले भवन निर्माणका लागि सबैलाई सहयोगको आह्वान गरेका छन् ।
आवाजपत्र । २९ कार्तिक २०८१, बिहीबार १९:५१