गीता थापा
सुर्खेत । बिहान दिउसको खाजाको पैसा, सामान्यतया केही रुपैयाँ मात्रै हुन्छ । खाजा खाएपछि फर्किएको थोरै पैसा जब थैलीमा जम्मा हुन्छ, त्यसले संगठन चलाउने बलियो आधार बन्छ भन्ने उदाहरण देखाइरहेको छ । अखिल नेपाल महिला संघ (अनेमसंघ) कर्णाली प्रदेश कमिटी ।
संगठन सशक्तिकरणका लागि आर्थिक आत्मनिर्भरता अत्यावश्यक हुन्छ भन्ने बुझाइले अनेमसंघ कर्णालीले ‘‘थैली अभियान’’ सुरु गरेको छ । अखिल नेपाल महिला संघ (अनेमसंघ) कर्णाली प्रदेश कमिटीका अध्यक्ष पद्मा खड्काले आर्थिक अभावका कारण संगठन सञ्चालनमा आइरहेको कठिनाइलाई सामना गर्न, सदस्यहरू मार्फत नै चलाउने सोचबाट सुरु भएको बताइन् ।
थैली अभियानको औपचारिक सुरुवात नेकपा एमाले प्रदेशका पूर्व अध्यक्ष गुलाबजंग शाह र पुर्व प्रदेश इन्चार्ज लेखराज भट्ट द्वारा गरिएको थियो । २०८० असोज ९ गते सम्पन्न भएको दोस्रो बैठकमा उनीहरुले थैलीमा हजार÷हजार रुपैयाँ राखेर अभियानको शुभारम्भ गरेका थिए । त्यसपछि सुरु भएको थियो संगठनभित्रको आत्मबलको अभियान । खाजा खाएर फिर्ता भएको रकमलाई “थैलीमा” हाल्ने ।
अध्यक्ष खड्का भन्छिन्, ‘‘सुरुमा सानो लाग्थ्यो ५ रुपैयाँ, १० रुपैयाँ तर नियमितता, प्रतिबद्धता र सामूहिक प्रयासले थैली आर्थिक व्यवस्थापनको आधार बनेको छ ।’’ थैली अभियानको अभ्यास सरल देखिन्छ । खाजाको फिर्ता भएको पैसा जम्मा गर्नु । तर यसको पछाडि गहिरो सोच, संगठनप्रतिको प्रतिबद्धता र आत्मनिर्भर बन्ने प्रयास लुकेको छ । उहाँले भन्नुभयो, ‘‘हाम्रो उद्देश्य प्रष्ट छ । सशक्त संगठन निर्माण, आर्थिक आत्मनिर्भरता र महिला नेतृहरूको एकतामा आधारित आन्दोलनको सुदृढीकरण ।’’
उनले थपिन्, “हामीले देख्यौं कि सहयोगी हात कतै टाढा छैन, हाम्रो खल्तीमै छ । संघीयता आयो, महिला नेतृत्व बढ्यो, तर आर्थिक श्रोत कमजोर रहेसम्म संगठन बलियो हुन्न भन्ने बुझेर हामी आफैंले बाटो खोल्यौं ।” संगठन चलाउन आर्थिक चुनौती बढ्दै गएपछि अध्यक्ष खड्काले देख्नुभएको थैली अभियान अहिले सशक्त बन्दै गएको छ । अध्यक्ष खड्का भन्छिन्, “हाम्रो अभियान भनेको समस्या देखाएर होइन, समाधान खोजेर अगाडि बढ्ने हो । थैली अभियान त्यसैको एउटा उदाहरण हो ।” उहाँले थप्नुभयो, ‘‘थैलीमा जम्मा हुने प्रत्येक रुपैयाँको मूल्य केवल पैसा होइन । त्यो विश्वास, त्याग र संगठनप्रतिको प्रेम हो ।’’
हाल अनेमसंघ कर्णालीमा १० वटै जिल्लाबाट प्रतिनिधित्व हुने ५४ सदस्यीय कमिटी छ । ती सबै सदस्यहरूले खाजाको फिर्ता रकम नियमित रूपमा थैलीमा हालिरहेका छन् । पहिलोपटकको थैली संकलनमा १५ हजार रुपैयाँ संकलन भएको थियो । त्यसको निरन्तरतापछि हालसम्म ६० हजार रुपैयाँ संकलन भइसकेको छ ।
उनले भनिन्, ‘‘महिलाहरूका हातमा परेको थैली आज संगठन सशक्तिकरणको बलियो हतियार बनेको छ । संगठनको बैठक, तालिम, जनचेतना कार्यक्रम वा अन्य गतिविधि सञ्चालन गर्दा लगानी गर्ने स्रोतको रूपमा थैलीको प्रयोग गर्दै आइरहेका छौ ।’’
यसले अनेमसंघभित्र आर्थिक अनुशासन मात्रै होइन, समान उत्तरदायित्वको संस्कार पनि विकास गरिरहेको छ । मुलुकको विकासजस्तै संगठनको विकास पनि आफैंबाट सुरु गर्नुपर्ने अध्यक्ष खड्काको भनाई छ ।
हाल थैली अभियानबाट संकलित रकम संगठनको कोषाध्यक्षको जिम्मामा छ । तर अब छिट्टै बैंक खाता सञ्चालन गरी, लेखापरीक्षण प्रणाली मार्फत पारदर्शितासहित रकम सञ्चालन गर्ने योजना बनाइएको खड्काको भनाई छ । “हामी रकम जम्मा मात्रै गरिरहेका छैनौं, त्यो रकम पारदर्शी ढंगले चलाउने प्रतिबद्धता पनि हाम्रो अभियानकै हिस्सा हो,” अध्यक्ष खड्का बताउछिन् । संगठनले आर्थिक अनुशासन कायम गर्न पदाधिकारीहरूबाट १०० रुपैयाँ र सदस्यहरूबाट ५० रुपैयाँ लेवी पनि संकलन गर्ने गरेको छ ।
यस्तै अनेमसंघले २६१ वटा टोल कमिटीहरू पनि गठन गरिसकेका छ । हालसम्म कर्णालीभरि ३० हजार सदस्यता वितरण गरिएको छ, जसमध्ये ७ हजार सदस्य औपचारिक रूपमा आबद्ध भइसकेका छन् । अध्यक्ष खड्काका अनुसार संगठनको लक्ष्य २० हजार सक्रिय सदस्य बनाउने र प्रदेशस्तरीय सम्मेलन आयोजना गर्ने रहेको छ ।
अध्यक्ष खड्काले अब संघको आफ्नै मुखपत्र प्रकाशन गर्ने योजना अघि बढेको र त्यसबाट विज्ञापन संकलन गरी आर्थिक स्रोतको विविधिकरण गर्ने सोच बनाइएको बताइन् । कर्णाली प्रदेश जस्तो भौगोलिक चुनौतीपूर्ण भूभागमा संगठन सञ्चालन गर्नु सजिलो छैन । अझ महिलाहरूको नेतृत्वमा राजनीतिक संगठन चलाउनु त अझ चुनौतीपूर्ण छ । तर अनेमसंघ कर्णालीको यो अभियान अरु सामाजिक, राजनीतिक संघसंस्थाका लागि पनि सिक्ने योग्य अभ्यास बनेको छ । थोरै रकमको निरन्तर बचतले ठूलो परिवर्तन सम्भव छ भन्ने उदाहरण यो अभियानले दिएको छ ।
आवाजपत्र । २१ जेष्ठ २०८२, बुधबार १९:१६