सुर्खेत । कर्णाली प्रदेशका सिकलसेल एनिमियाका बिरामीलाई उपचार गर्न र औषधी लिन लुम्बिनी प्रदेशको बाँके जानुपर्ने बाध्यता छ । यो रोगको उपचार गर्ने व्यवस्था र औषधी नपाइँदा बाँके जानुपर्ने बाध्यता छ ।
बिरामीलाई औषधीको मासिक औषधी करिब दुई हजार रुपियाँ खर्च लाग्छ । औषधी लिन नेपालगन्ज गएर कम्तीमा दुई दिन बस्नुपर्ने र आउने जाने भाडाबापत झन्डै पाँच हजार रुपियाँ बढी खर्च हुने गरेको गुनासो सिकलसेल एनिमियाका बिरामीले गरेका छन् । वीरेन्द्रनगर नगरपालिका–१० का प्रेमबहादुर चौधरीले प्रदेश अस्पताल सुर्खेतमै उपचार गर्ने व्यवस्था र औषधी पाइने व्यवस्था मिलाइदिन आग्रह गरे। सुर्खेतमा यो व्यवस्था नहुँदा २०७३ सालदेखि उपचार र औषधी लिन नेपालगन्ज जानु परेको उनको भनाइ छ । उपचार र औषधी लिन अर्को प्रदेश जानु पर्दा बिरामीलाई थप मानसिक र आर्थिक बोझ भएको जानकारी उनले दिए ।
संसदीय मामिला पत्रकार समाजले सोमबार सुर्खेतमा आयोजना गरेको सुर्खेतमा सिकलसेल एनिमिया रोगसम्बन्धी कार्यक्रममा सहभागी विमला चौधरीले पोषण भत्ताको व्यवस्था गरिदिन प्रदेश सरकारसँग आग्रह गरे । उनले सुर्खेतमै उपचार र औषधीको व्यवस्था भएर थोरै रकममा पनि उपचार गर्न सकिने र थारू समुदाय विपन्न भएकोले पोषण भत्ताको व्यवस्था हुन सके उपचारमा सहज हुने उल्लेख गरे । उनले नेपालगन्जमा उपचार गर्दा बिरामीलाई दुव्र्यवहार तथा विभेदसमेत हुने गरेको आरोप लगाए ।
वीरेन्द्रनगर नगरपालिका–९ कालीमाटीका रामकृष्ण थारूले आफ्नो तीन पुस्ताका सात जना सिकलसेल एनिमियाका बिरामी भएको र उपचार गर्दा सम्पत्ति सकिएको बताए। उनले दैनिक साढे दुई सय र मासिक दुई हजार रुपियाँको औषधी लिन पाँच हजार खर्च गर्नु परेको भन्दै प्रदेश सरकारबाट परिचयपत्रको पनि व्यवस्था मिलाउन माग गरे ।
कर्णाली प्रदेशको सुर्खेतमा मात्र थारू समुदायको बसोबास छ । सुर्खेतमा ३६ घरधुरी थारु समुदायको बसोबास रहेको छ । थारू समुदायलाई मात्रै लाग्ने उक्त रोगको यकिन तथ्याङ्क छैन । थारू समुदायको सिकलसेल एनिमिया रोगका विज्ञ एवं नेपाल संस्कृत विश्वविद्यालयका शरीर रचना विभाग प्रमुख डा. सुरेन्द्र चौधरीले सुर्खेतमा पनि यस रोगका बिरामी बढ्दै गएको बताए । उनले २०८० सालमा गरेको सर्भेमा सुर्खेतमा ७३७ जनामा जाँच गर्दा ७० जना र २०८१ मा गरिएको जाँचमा २०१ मध्येमा १८ जनालाई सिकलसेल एनिमिया रोग देखा परेको उल्लेख गरे । उनले यो थारू समुदायमा वंशानुगत रोग भएकोले यसको उपचार पनि ठोस नभएको जानकारी दिए ।
स्वास्थ्य सेवा निर्देशनालय सुर्खेतले सिकलसेल एनिमिया रोगको उपचारका लागि वार्षिक एक लाख रुपियाँसम्म सहयोग गर्ने जनाएको छ । निर्देशनालयका जनस्वास्थ्य निरीक्षक किरण शर्माले निर्देशनालमा १२ वटा जटिल रोगको उपचारका लागि एक करोड बजेट भएको र त्यसमा सिकलसेल एनिमिया पनि पर्ने भएकोले सो रोगका बिरामीलाई एक लाख रुपियाँसम्म उपचार खर्च बेहोर्न सकिने जानकारी दिए ।
सिकलसेल सामुदायिक अस्पताल तथा अनुसन्धान केन्द्र सुर्खेतका अध्यक्ष दिलबहादुर चौधरीले यस रोगका बिरामीको उपचारका लागि सके छुट्टै अस्पताल नभए, प्रदेश अस्पतालमा छुट्टै वार्डको व्यवस्था गर्न माग गरे । उनले हेर्दा सामान्य जस्तो लाग्ने गरे पनि यस रोगबाट थारू समुदाय निकै पीडित भएकोले संवेदनशील बनिदिन आग्रह गरे । कर्णाली प्रदेशको सामाजिक विकास समितिका सभापति पूर्णबहादुर खत्रीले सिकलसेल एनिमिया बिरामीको अवस्थाप्रति संवेदनशील बन्दै उपचार र औषधीको व्यवस्था कर्णालीमै गर्नका लागि पहल थालिने जानकारी दिए ।
आवाजपत्र । २९ आश्विन २०८२, बुधबार १४:३३