विवाह गर्न कर गरेपछि प्रेमिकाको हत्या

सुर्खेत । रुकुम पश्चिममा ४९ वर्षीय महिला र २३ वर्षीय युवाबिच प्रेम सम्बन्ध रहेको विवाहको दबाब दिएपछि हत्या भएको खुलेको छ । रुकुम पश्चिमको सानी भेरी गाउँपालिका वडा नं. ४ लाम चौरकी ४९ वर्षीय सुशीला मल्लको हत्या गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको हो ।

प्रहरीले सुशीलाको हत्या आरोपमा रुकुम पश्चिम चौरजहारी नगरपालिका वडा नं. ११ माथिल्लो सकेंना बस्ने २३ वर्षीय प्रेम मल्ललाई पक्राउ गरी आइतबार सार्वजनिक गरेको हो । मृतक सुशीला र प्रेमबिच डेढ वर्ष अगाडि जाजरकोट रिम्ना मेलामा चिनजान भएको र त्यति बेला फोन नम्बर साटासाट गरेर बेला–बेला भेटघाट हुने गरेको अनुसन्धानमा खुलेको प्रहरीले जनाएको छ ।

गत शुक्रवार सुशीला आफ्नै घरमा मृत अवस्थामा फेला परेकी थिइन् । प्रहरीका अनुसार घाँटीमा सल बेरिएको अवस्थामा घाँटी, निधार र अन्य शरीरको भागमा चोटपटक लागेको अवस्थामा उनको शव बरामद गरिएको थियो । साउन २१ गते सोमबार प्रेम भेटघाटका लागि सुशीलाको घरमा आएका थिए ।