‘घुमौ सौराहा अभियान’ सुर्खेतमा: कर्णालीको पर्यटन विकासमा सडक पूर्वाधार प्रमुख चुनौती

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले आन्तरिक पर्यटन नै कर्णालीको आय आर्जनको प्रमुख स्रोत भएको बताएका छन्।

नेपालको प्रमुख पर्यटकीय गन्तव्य सौराहाको प्रवर्द्धन र कर्णालीको पर्यटन विकासलाई जोड्दै ‘घुमी सौराहा, चिन्तवन अभियान २०८१’ अन्तर्गत वीरेन्द्रनगरमा सम्पन्न भएको कार्यक्रममा बोल्दै उनले भने, “सरकार मात्रले विकास सम्भव छैन, निजी क्षेत्रको सहकार्य अपरिहार्य छ। जनताको अपेक्षाअनुसार परिणाम दिनुपर्ने दबाब छ, त्यसका लागि संरचना निर्माणमा हामी प्रतिबद्ध छौं।”

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी जगदीश्वर उपाध्यायले देशको आर्थिक विकासमा आन्तरिक पर्यटनले ठूलो टेवा पुर्‍याउने धारणा राख्दै कर्णालीका पर्यटकीय सम्भावनाहरुको समुचित उपयोग जरुरी रहेको बताए। उनले भने, “७० प्रतिशत आन्तरिक राजस्व निजी क्षेत्रमा आधारित छ, त्यसैले स्रोत अभावको चुनौती रहे पनि सहजीकरण गर्दै पर्यटन प्रवर्द्धनका लागि काम गरिनेछ।”

क्षेत्रीय होटल संघ नेपाल चितवन, सौराहाका अध्यक्ष ओम प्रकाश पाण्डेले सौराहाको पर्यटन सम्भावना तथा चुनौतीबारे धारणा राखे। उनले भने, “कर्णालीको पर्यटन विकासको लागि सडक पूर्वाधार प्रमुख चुनौती हो। यदि १० प्रतिशत पर्यटक मात्र कर्णाली भित्र्याउन सकियो भने यहाँको पर्यटनले ठूलो फड्को मार्नेछ।”

कार्यक्रममा सौराहा र कर्णाली जोड्ने पूर्वाधार विकासको आवश्यकता औँल्याउँदै, दुवै गन्तव्यलाई परस्पर लाभ हुने किसिमले सहकार्य अघि बढाइने निष्कर्ष निकालिएको छ। कर्णालीको प्रकृतिक, सांस्कृतिक सम्पदालाई समेट्ने गरी संरचनागत विकास तथा प्रचार–प्रसारको आवश्यकता पनि औँल्याइएको थियो।