सुर्खेत । कर्णाली प्रदेश सभामा सोमबार अनौठो दृश्य देखियो । सत्तापक्षका प्रदेश सभा सदस्यहरुको सिट भरीभराउ हुँदा प्रमुख प्रतिपक्ष र प्रति पक्ष दलका प्रदेश सभा सदस्यहरु कोही पनि देखिएनन् । जस कारण बैठक कार्यसूचि मै प्रवेश नगरी स्थगित भयो । प्रमुख प्रतिपक्ष दल प्रदेश सभाको बैठक छोडेर पार्टी अभियानमा व्यस्त छ । सोमबार बसेको प्रदेश सभाको बैठकमा प्रमुख प्रतिपक्ष दल र प्रतिपक्ष दलहरु अनुपस्थित देखिए । विषय सूचिमै प्रवेश नगरी जेठ १८ गतेसम्मका लागि प्रदेश सभा बैठक स्थगित भएको छ ।
प्रदेश सभाको बैठक बस्नु अघि कार्यसूचि तयार गर्न कार्य व्यवस्था परामर्श समितिको बैठक बस्छ । उक्त परापर्श समितिमा सभामुखसहित प्रदेश सभामा उपस्थित सबै दलहरुको प्रतिनिधित्व हुन्छ । सोमबार बसेको प्रदेश सभाको बैठकका लागि आइतबार कार्य व्यवस्था परामर्श समितिको बैठक बसेर जरुरी सार्वजनिक महत्वको प्रस्ताव पेश हुने र महालेखा परीक्षकको सातौ वार्षिक प्रतिवेदन २०८२ पेश गर्ने कार्यसूचि तयार गरेको थियो । तर बैठकमा प्रतिपक्ष दलका कोही पनि प्रदेश सभा सदस्यहरु उपस्थित नभए पछि बैठक कार्यसूचिमै प्रवेश नगरी स्थगित भएको हो ।
सभामुख नन्दा गुरुङले प्रमुख प्रतिपक्ष दल बैठकमा उपस्थित नहुने भन्ने विषयमा जानकारी नपाएको बताइन् । उनले नेकपा समाजवादीका प्रदेश सभा सदस्य कल्याणी खड्का पार्टीको कार्यक्रमले काठमाण्डौँ जानु भएको र राप्रपाका प्रदेश सभा सदस्य सन्तोषी शाही बिरामी भएकाले उपस्थित हुन नसक्ने जानकारी बाहेक अरु थाहा नभएको जानकारी दिइन् । उनले भनिन्, ‘कार्यव्यवस्था परामर्शको बैठकमा सबै आउनु भएको थियो । आजको बैठकका लागि कार्यसूचि सबैको सहमतिमा भएको हो । उहाँहरु नआउने प्रदेश सभा सचिवालयलाई केही खबर थिएन् ।’ उनले प्रमुख प्रतिपक्ष दलबिना संसद चल्न नसक्ने विगतदेखिको अभ्यास भएकाले जेठ १८ गतेसम्मका लागि स्थगित गरिएको बताइन् ।
नेपाली काँग्रेसका प्रमुख सचेतक हिक्मत विष्टले संसद प्रतिपक्ष दलको भएकाले बैठकमा यसरी अघोषित रुपमा उपस्थित नहुनु आश्र्यजनक भएको बताए । उनले कार्यव्यवस्था परामर्श समिति बैठकमा सबै उपस्थित भएर कार्यसूचि सहमतिमा तयार गरेको र बैठक उपस्थित नहुनु संसदीय मुल्यमान्यता विपरित हुने बताए ।
उनले भने ‘अहिले प्रिमनसुन सुरु भएको छ । वर्षा सूरु हुन थालेको छ । र्णाली भौगोलिक रुपमा विकट छ । बाटाहरु खराव छन् । म प्रस्तावक भएर यही विषयमा एउटा जरुरी सार्वजनिक महत्वको प्रस्ताव पेश गर्ने कार्यसूचि तयार गरेका थियौँ । यसमा प्रतिपक्ष दलको पनि सहमति थियो । प्रमुख प्रतिपक्ष दलबाट माननीय मिलन खड्का उपस्थित हुनुहुन्थ्यो । उहाँले पार्टीको अभियान भएकाले केही अभियानमा हुनुहुन्छ बाहेक अरु केही भन्नुभएन् । कार्यसूचि तयार गर्दा उहाँले निर्णयमा समेत हस्ताक्षर गर्नु भएको छ । यदि उपस्थित हुन नसक्ने भए बैठक आजै राख्नुपर्ने जरुरी थिएन् । एक्कासी बैठकमा नदेख्दा आश्चर्य लाग्यो ।’
यता प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक कृष्ण बहादुर जिसीले पार्टीको अभियानमा जानुपरेकाले र विजनेश नभएकाले बैठक दुई चारदिन पछि राखौँ भनेर भन्दा बैठक राखिएकाले आफुहरुको उपस्थिति नभएको बताए । उनले भने, ‘अहिले खासै विनजेश पनि छैन् । सामान्य विजनेशमा बैठक नचलाउँ र हाम्रो पार्टीको अभियान भएकाले दुईचार दिन बैठक नराखौँ भनेका थियौँ । उहाँहरुले बैठक राख्नु भएछ । यसरी प्रतिपक्ष बिना पनि बैठक बस्छ र ?
आवाजपत्र । ५ जेष्ठ २०८२, सोमबार १७:२८