सुर्खेत । कर्णाली प्रदेशका संसदीय समितिले नेतृत्व पाएका छन् । लामो समयदेखि नेतृत्वबिहिन भएका ससंदीय समितिले नेतृत्व पाएका हुन् । प्रदेश सभा समितिमा रहेका चार वटा समिति बाहेक तीन वटा समिति नेतृत्वबिहिन थिए । प्रदेश मामिला समितिमा एकीकृत समाजवादीकी कल्याणी खड्का सभापति हुनुहुन्छ । अन्य तीन वटा समिति सार्वजनिक लेखा समिति, सामाजिक विकास समिति र अर्थ तथा प्राकृतिक स्रोत समितिको सभापति बुधबार सर्वम्मत चयन भएका हुन् ।
समितिको सभापतिको निर्वाचनका लागि बुधबार मनोनयन दर्ताको समय तोकिएको थियो । प्रदेश सभा सचिवालयका सचिव जिवराज बुढाथोकीले तीन वटा समितिको सभापतिको निर्वाचनका लागि मनोनयन दर्ता भएको जानकारी दिनुभयो । उहाँका अनुसार सार्वजनिक लेखा समितिको सभापतिका लागि नेकपा माओवादी केन्द्रका विन्दमान विष्ट, सामाजिक विकास समितिको सभापतिका लागि नेपाली कांग्रेसका पूर्णबहादुर खत्री र अर्थ तथा प्राकृतिक स्रोत समितिको सभापतिका लागि नेकपा एमालेकी दक्षिणा शाहीको मनोनयन दर्ता भएको थियो । यि समितिमा एकल उम्मेदवार परे पछि सर्वसम्मत नेतृत्व चयन भएको हो ।
आवाजपत्र । ९ माघ २०८१, बुधबार १९:१५