होटल, रेस्टुरेन्ट र होमस्टे व्यवसायीका लागि आतिथ्यता सम्बन्धी तालिम

सल्यान । पर्यटन प्रवद्र्धन र स्थानीय व्यवसायीहरूको क्षमता अभिवृद्धिका लागि सल्यानको सल्लीबजारमा दुई दिने आतिथ्यता सम्बन्धी तालिम शुक्रबार सम्पन्न भएको छ । कर्णाली प्रदेश सरकारको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय अन्तर्गत वन अनुसन्धान तथा प्रशिक्षण केन्द्र, सुर्खेतको आयोजनामा तालिम सञ्चालन गरिएको हो ।

बिहीबारदेखि सुरु भएको तालिममा वनगाड कुपिण्डे नगरपालिका (सल्यान) र सिम्ता गाउँपालिका (सुर्खेत) भित्रका ५० जना होटल, रेस्टुरेन्ट तथा होमस्टे सञ्चालकहरूको सहभागिता रहेको थियो ।

पर्यटन सम्भावना उच्च रहेका कुपिण्डे ताल, भेरी नदी लगायत क्षेत्रको पर्यटन विकासमा योगदान पुगोस् भन्ने उद्देश्यले तालिमको आयोजना गरिएको वन अनुसन्धान तथा प्रशिक्षण केन्द्रकी निर्देशक रेणुका न्यौपानेले जानकारी दिइन् । “आतिथ्यता सेवा, पर्यावरणीय पर्यटन, स्थानीय उत्पादनको प्रवद्र्धन र वन पर्यटन सम्बन्धी विषयमा सहभागीहरूलाई जानकारी दिइयो,” निर्देशक न्यौपानेले भनिन्, “वन संरक्षण र पर्यटन प्रवद्र्धन एक अर्काका पूरक विषय हुन् । सामुदायिक सहभागिता मार्फत दिगो पर्यटन विकास गर्नुपर्छ भन्ने सन्देश पनि यो तालिममार्फत प्रवाह भएको छ ।”

पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले पर्यटन सम्भावना भएका क्षेत्रमा यस्ता तालिम सञ्चालन गरिँदै आएको निर्देशक न्यौपानेले जानकारी दिइन् । उनका अनुसार ‘नेपालका सय पर्यटकीय क्षेत्र’ अन्तर्गत पर्ने कुपिण्डे ताल, भेरी नदीलगायत क्षेत्रको पर्यटन सम्भावना उच्च भएकाले यहाँका व्यवसायीलाई तालिम प्रदान गरिएको हो ।

तालिममा Culinary & The Hospitality Center Pvt. Ltd. का प्रशिक्षक केशवबहादुर कठायतले आतिथ्यता, खानपान व्यवस्थापन, होटलसम्बन्धी नीति तथा कानुनबारे प्रशिक्षण दिएका थिए ।

कार्यक्रममा वनगाड कुपिण्डे सव–डिभिजन वन कार्यालय सल्लीबजारका प्रमुख कमल चित्रकार, सामुदायिक वन उपभोक्ता महासंघ कर्णाली प्रदेश सचिवालय सदस्य इन्द्रबहादुर बुढाथोकी, लेखा अधिकृत चन्द्रा बस्नेत, सिम्ता सव–डिभिजनका गोविन्दलाल गिरि लगायतको उपस्थिति थियो । कार्यक्रमको सहजीकरण वन अनुसन्धान तथा प्रशिक्षण केन्द्रका अधिकृत गंगा त्रिपाठीले गरेका थिए ।