प्रतिपक्ष र सरकारबीच सहमति जुटेन्, प्रदेश सभाको बैठक माघ २५ गतेसम्म स्थगित


सुर्खेत । नेकपा माओवादी केन्द्रले प्रदेश सभाको बैठक अवरुद्ध जारी राख्दा प्रदेश सभा बैठक पटक पटक स्थगित भएको छ । आइतबार बसेको प्रदेश सभा बैठकमा प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रले वार्षिक १० हजार युवालाई रोजगार दिने कर्णाली समृद्ध कार्यक्रम अघि नबढाएको भन्दै अवरुद्ध गरेको थियो । त्यस यसता तीन पटकसम्म प्रदेश सभाको बैठक स्थगित भएको छ । मंगलबार ३ बजे बस्ने भनेको बैठक माघ २५ गते दिउँसो ३ बजेसम्मका लागि स्थगित भएको छ । पटक पटक छलफल गर्दा पनि प्रमुख प्रतिपक्ष दल र सरकारबिच सहमति जुट्न सकेको छैन् ।
नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक कृष्ण जिसीले सरकारले आफुहरुले उठाएका माग पुरा गर्न तयार नभएकाले प्रदेश सभा बैठक अघि बढ्न नदिने बताए । उनले, ‘हामीले उठाएका मागप्रति सरकार गम्भिर देखिएन् । बरु खण्डन गर्नतर्फ लाग्यो । कुनै सहमति नभए पछि हामीले प्रदेश सभा बैठक अघि बढ्न दिँदैनौँ ।’
सरकारका प्रवक्ता एवंम भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री विनोदकुमार शाहले प्रतिपक्षले उठाएका माग सरकार पुरा गर्न असमर्थ रहेको बताए । उनले उक्त कार्यक्रम अहिले नीति तथा कार्यक्रम र बजेटमा नभएकाले माग पुरा गर्न समस्या भएको उल्लेख गरे । उनले भने, ‘वार्षिक १० हजार युवालाई रोजगारी दिने कर्णाली समृद्ध कार्यक्रम थियो । यो कार्यक्रम सरकारले ल्याउँदा माननिय राजकुमार शर्मा मुख्यमन्त्री हुनुहुन्थ्यो । उहाँहरुले कानून निर्माण गरेर संचालन गर्ने भन्नु भएको थियो । तर कानून निर्माण गर्नुभएन् । अहिले यो कार्यक्रम नीति तथा कार्यक्रममा समावेश गरेको छैन् । त्यसैले उहाँहरुले राखेको माग सरकार पुरा गर्न सक्ने अवस्थामा छैन् । उहाँले यो कुरा महसुस गरेर प्रदेश सभा बैठक संचालन गर्न दिनुहुन्छ भन्ने अपेक्षा गरेका छौँ ।’ उनले छलफल जारी रहेको र टुंगोमा पुगिनसकेको बताए ।