सुर्खेत । जलवायू परिवर्तनको असरप्रति सबै क्षेत्र संवेदनशिल हुन आवश्यक रहेको सरोकारवालाले बताएका छन् । ग्लोबल सेन्टर फर क्लाइमेट एण्ड सेकुरेटी गभर्नेन्सले मंगलबार वीरेन्द्रनगरमा आयोजना गरेको जलवायु क्षेत्रको सुशासन ः जलवायु परिवर्तनमा संवेदनशीलता र बुझाइ सम्बन्धी अन्तरक्रिया कार्यक्रममा सरोकारवालाहरुले यस्तो बताएका हुन् ।
नेपालमा जलवायू परिवर्तनका कारण देखिएको असरप्रति संवेदनशिल हुनु पर्ने र यसको न्यूनिकरण र अनुकुलनका लागि ठोस नीति बनाएर कार्यान्वयन गर्नुपर्ने उनीहरुको जोड छ । तिनै तहका सरकारले विशेष ध्यान दिनुपर्ने उनीहरुको भनाई छ ।
प्रदेश सभा सदस्य रणसिंह परिवारले जलवायू परिवर्तन न्युनिकरणका लागि सरकारी तबरबाट बजेट समेत व्यवस्था नभएको भन्दै कुल बजेटको यति प्रतिशत भनेर बजेट बिनियोजन गर्नुपर्ने बताए । उनले जलवायू परिवर्तन सम्बन्धी सचेता स्थानीय स्तरसम्म दिनुपर्ने बताए ।
प्रदेश सभा सदस्य हिक्मत विष्टले जलवायू परिवर्तनको असर कम गर्न र न्युनिरकण गर्न सबै संवेदनशिल हुनुपर्ने बताए । उनले सरकारलाई यसतर्फ ध्यानाकर्षण गराउने र अध्ययन गरेर सुझाव दिने गरेको जानकारी दिए ।
प्रदेश सभा सदस्य तुलसा मल्लले नीति निर्माणमा ध्यान लिनुपर्ने बताइन् । उनले भनिन्, ‘जलवायू परिवर्तन असर कम गर्ने , न्यूनिरकण गर्न नीति निर्माणमा ध्याान आवश्यक छ । विकास निर्माणका कामहरु अघि बढाउँदा पनि त्यसतर्फ ध्यान दिनुपर्छ ।’
सुर्खेत उद्योग वाणीज्य संघका सदस्य कृति शाक्य गुबाजुले व्यक्तिव्यक्तिबाट सुरुवात गर्नुपर्ने बताउँनुभयो । उहाँले वातावरणलाई स्वच्छ र संरक्षण गर्न सबै पक्ष लाग्नुपर्नेमा जोड दिइन् । मध्यपश्चिम विश्वविद्यालयका विज्ञान तथा प्रविधि संकायका डिन डा. प्रध्यापक सुदिप ठकुरीले जलवायू परिवर्तनको असर नेपालमा धेरै भएको बताउँदै यसको असर प्रति सबै सचेत हुनुपर्ने बताए ।सबै सरोकारवालाहरु संवेदनशिल भएर नीति तथा कानुन बनाउने र कार्यान्वयनमा ध्यान दिनुपर्ने उनको भनाई छ । उर्जा खपतमा कम, वैकल्पिक उर्जाको प्रयोग, जलवायु परिवर्तनका असर कम गर्न नीति निर्माण, बजेट व्यवस्था गरेर सबै तहबाट कार्यान्वयनमा जोड दिनुपर्ने बताए ।
कार्यक्रममा प्रतिनिधिसभाका पूर्व सदस्य दिपक प्रकाश भट्ट, जलवायू विज्ञ डा. सुस्मिता ढकाल, ग्लोबल सेन्टर फर क्लाइमेट एण्ड सेकुरेटी गभर्नेन्सका कार्यकारी निर्देशक अभयराज जोशीले कार्यक्रमको सहजिकरण गरेका थिए ।
कार्यक्रममा प्रदेश सभा सदस्य, सुरक्षा निकाय, बार एशोसिएसन, सामुदायिक वन उपभोत्ता, प्रध्यापक, पत्रकारलगायतको उपस्थित रहेको थियो ।
आवाजपत्र । २७ भाद्र २०८१, बिहीबार १८:२३