काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका तत्कालीन सभापति गिरिजाप्रसाद कोइरालाको १००औँ जन्मजयन्ती, मंगलबार विभिन्न कार्यक्रम गरी मनाइँदैछ।
नेपाली कांग्रेसले पूर्वसभापति गिरिजाप्रसाद कोइरालाको शताब्दी जन्मजयन्ती आज विभिन्न कार्यक्रम गरी मनाउँदै छ। पार्टीको केन्द्रीय कार्यालय सानेपामा बहस कार्यक्रम आयोजना हुनेछ।
कोइरालालाई केन्द्रमा राखेर तीन शीर्षकमा बहस कार्यक्रम समेत हुनेछ। ‘क्रान्तिदेखि शान्तिसम्म’ विषयक बहसमा वक्ताका रूपमा पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराई, कांग्रेस पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला र नेकपा एमालेका नेता प्रदीप ज्ञवाली रहनेछन्। बहसको दोस्रो विषय ‘समुन्नतिको दोस्रो जग’ राखिएको छ। यसमा लेखक हरि शर्मा, अच्युत वाग्ले र मञ्चला झाले धारणा राख्नेछन्।
‘फोटो पत्रकारिता : जोखिम र अनुभव’ शीर्षकको छलफलमा फोटो पत्रकार चन्द्रशेखर कार्की, गोपाल चित्रकार, विकास रौनियार र प्रकाश माथेमा वक्ता हुनेछन्।
तत्कालीन राणा शासकबाट लखेटिएका कृष्णप्रसाद कोइराला र दिव्या कोइरालाका कान्छा पुत्रका रूपमा १९८१ असार १८ गते भारतको बिहारमा जन्मिएका गिरिजाप्रसाद नेपाली राजनीतिका धरोहर मानिन्छन्। उनी बीपी कोइराला र मातृकाप्रसाद कोइरालाका भाइ हुन्।
२०६२/०६३ को जनआन्दोलन र बृहत् शान्ति सम्झौतामा उल्लेख्य भूमिका खेलेका उनी पाँचपटक प्रधानमन्त्री भए। उनको निधन २०६६ साल चैत ७ गते भयो।
आवाजपत्र । १९ असार २०८१, मंगलवार ०८:०५