सामुदायिक वनमा सफल महिला नेतृत्व

‘इमानदारिता’ पहिलो अस्त्र, कहीँ कतै ‘पुरुष मानसिकता बाधक’

गीता थापा

कृष्णपुर वाणी (कञ्चनपुर) । ‘हरियो वन, नेपालको धन ।’ यो कुनै नारा मात्रै रहेन । कतिपय सामुदायिक वन उपभोक्ता समूहहरूले वनको संरक्षण गरेर हरियाली मात्रै बढाएका छैनन्, आम्दानीको स्रोत बनाएका छन् । महिला नेतृत्वका सामुदायिक वन समूह यो कार्यमा अझ अगाडी छन् । महिला प्रमुख भूमिकामा रहेका वनहरूको अवस्था हेर्न लायक छन् । वन मात्र होइन, यसले यस्ता समूहका समस्याहरूको जीविकोपार्जनमा समेत सुधार ल्याएको छ ।

यस कार्यमा सुदूरपश्चिम प्रदेश कञ्चनपुरको कृष्णपुर नगरपालिका वाणीका महिला उदाहरणीय छन् । बसन्तीदेवी राना थारु अध्यक्ष रहेको जयलक्ष्मी महिला सामुदायिक वनको अवस्था आज भन्दा २१ वर्ष अघि उजाड जस्तै थियो । यो वन २०६९ असार २९ मा दर्ता भएर समुदायमा हस्तान्तरण भयो ।

जयलक्ष्मी वन समुदायलाई हस्तान्तरण गरेपछि बसन्तीदेवी संस्थापक अध्यक्ष भइन् । बिचमा अरूलाई अध्यक्ष हुने पालो दिएकी बसन्तीलाई अहिले फेरी उपभोक्ताहरूले नै अध्यक्ष बनाएका छन् । उनको नेतृत्वको प्रभावकारिताले उनलाई पटक पटक अध्यक्ष बन्ने अवसर मिलेको छ ।
बसन्तीदेवी भन्छिन्, ‘पहिला वनमा अत्यधिक डढेलो लाग्ने, वनमा चरिचरण गराउने, जथाभाबी जङ्गल फडानी गर्ने र अतिक्रमण गर्ने जस्ता कार्य हुन्थे, तर अहिले चरिचरण शून्य छ । उजाड वन अहिले हरियाली भएको छ । वनमा चरिचरण शून्य गराउनका लागि उपभोक्ता समिति लगायत उपभोक्ताहरूलाई समेत आलोपालो लगाई वनमा गस्ती गर्ने गरेको उनको भनाई छ । उनी भन्छिन्, ‘हामीले चरिचरण शून्य बनाउन वनमा गस्ती परिचालन गरेका छौ, वृक्षारोपण गरी समय समयमा गोडमेल गर्ने, मलजल गर्ने र हेरफेर गर्ने, वन फडानी गर्नेलाई जरिवाना गर्ने गरेका छौ ।’ उनले वन संरक्षणका लागि वन हेरालु मात्र होइन उपभोक्ता समितिलाई समेत आलोपालो गरी परिचालन गर्ने गरेको बताइन् ।

एक सय २७ दशमलव ४९ हेक्टरमा फैलिएको यो वनको उपभोक्ता र संरक्षक मुक्त कमैयाका ५ सय ६९ परिवार हुन् । यो सामुदायिक वन उपभोक्ता समितिको कार्यसमिति पदाधिकारीसहित ११ जना सदस्यहरू सबै महिला मात्र छन् । वन हेरालु (चौकीदार) भने एक जना पुरुष छन् । मासिक रूपमा १२ हजार तलब दिएर वन हेरालु राखेको जानकारी दिन्छिन् बसन्तीदेवी ।

वनबाट पनि राम्रै आम्दानी हुने गर्छ । वार्षिक रूपमा १५ लाख रुपैयाँको कारोबार हुने गरेको उनको भनाई छ । उनी भन्छिन्, ‘वनबाट राम्रै आम्दानी हुन्छ, वनमा आम्दानीको स्रोतको रूपमा बाँस रोपेका छौ, उपभोक्तासँग पनि एउटा रुखको घाँस काट्दा एक सय ५० रुपैयाँ उठाउने गरेका छौ, काठ चिरानी गरी बिक्री वितरण नै हाम्रो वनको आम्दानीको स्रोत हो ।’ पुरुषले नेतृत्व लिएको वनको तुलनामा जयलक्ष्मी महिला सामुदायिक वनको कारोबार र विकासबाट आफूहरूमा सन्तुष्टि मिलेको उनी बताउँछिन् । सो सामुदायिक वनले महिलाको नेतृत्व विकासका लागि विभिन्न कार्यक्रम नियमित रूपमा सञ्चालन गरिरहेको छ ।

बसन्ती लोपोन्मुख बिजयसालको बिरुवालाई संरक्षण गरी अहिले आफ्नो सामुदायिक वनमा थुप्रै बिजयसालको रुख जोगाउन सफल भएकी छन् । सामुदायिक वनको अध्यक्षमा बसन्ती आएपछि वनको हैसियत मात्र फेरिएन; आम्दानीको स्रोत समेत बनेको छ । २९ वर्ष साहुको घरमा कमैया बसेकी बसन्तीले एक कक्षा पनि पढेकी छैनन् । तर उनका घरका भित्ता सम्मान पत्र र पुरस्कारले भरिएका छन् । यो सम्मान पत्र उनले वन संरक्षण गरे बापत पाएकी हुन् । पहिला कसैसँग बोल्न डराउने बसन्ती अहिले ५ सय ६९ परिवारले मान्ने व्यक्ति भएकी छन् ।

यसै गरी मोहना वन वाटिका महिला सामुदायिक वनकी अध्यक्ष हुन् सिर्जना थापा । यो वन कृष्णपुर नगरपालिका वडा नम्बर ९ मा पर्छ । ३७ दशमलव १४ हेक्टर क्षेत्रफलमा फैलिएको यो वनको उपभोक्ता दुई सय ५० परिवार छन् । सानो क्षेत्रफल भएको वन बाढी विस्थापितले अतिक्रमण गरेर बसेका छन्, यसले वनको क्षेत्रफल घट्नुका साथै संरक्षणमा निकै चुनौती रहेको थापा बताउँछिन् ।

अतिक्रमण हटाउने काम उनका लागि सबैभन्दा ठुलो चुनौती बनेको छ । थापाले वन संरक्षणमा उपभोक्ताहरूको साथ र सहयोग नहुँदा समस्या भएको गुनासो गरिन् । मासिक रूपमा ६ हजार दिएर एक जना वन हेरालु राखिए पनि वनको आर्थिक स्रोत धेरै छैन । हेरालुको पैसा पनि उपभोक्ताबाट उठाएर दिने गरेको उनको भनाई छ । थापा भन्छिन्, ‘पुरुषले नेतृत्व गरेको वनमा चोरी तथा तस्करीका घटना बढी हुने गरेको सुनिँदा हाम्रो वन हराभरा हुँदै गएको छ, महिला राति गस्तीमा समेत जाँदा चोरी सिकारीका घटना कम हुन्छन् ।’

कृष्णपुर नगरपालिका २ नम्बरमा पर्ने जनहित महाकाली सामुदायिक वन भने महिला र पुरुष मिलेर नै संरक्षण गरेका छन् । यो वनको ११ सदस्यीय उपभोक्ता समितिमा कोषाध्यक्ष, सचिव र सदस्य गरी ६ जना महिला छन् ।

वनको कोषाध्यक्षमा इन्द्रादेवी पाल छिन् । इन्द्रादेवी भन्छिन्, ‘हामी महिला पुरुष सबै मिलेर वन संरक्षणमा लागेका छौ ।’ आजभन्दा २१ वर्ष अगाडिसम्म उराठलाग्दो वन अहिले घना जङ्गलमा परिणत भएको छ । वनको अध्यक्ष पुरुष भए पनि आफूलाई काम गर्न भने सहज भएको उनी बताउँछिन् ।

उनी भन्छिन्, ‘हामीले वनलाई आफ्ना सन्तानलाई जस्तै स्याहारसुसार गरेर हुर्काएका छौ ।’ उनले थपिन्, ‘वन संरक्षणका लागि चरिचरण शून्य गराएका छौ, डढेलोबाट वनलाई ७५ प्रतिशत जोगाएका छौ, वृक्षारोपण गर्ने, चोरी शिकारी कम गर्न वनमा गस्ती गर्ने गरेका छौ ।’ यो सामुदायिक वनमा २ जना वन हेरालु राखेको उनले जानकारी दिइन् । वन हेरालुलाई प्रति व्यक्ति १४ हजार ५ सय रुपैयाँ तलब दिने गरेको उनको भनाई छ ।

वनको संरक्षण गरेर उपभोक्ता समितिले हरियाली मात्रै बढाएको छैन, वनबाट आम्दानीको स्रोत पनि बनाएको छ । वनको २४ हेक्टर क्षेत्रफलमा बाँस लगाएर आम्दानीको स्रोत बनाएको इन्द्रादेवीको भनाई छ । वर्षनी बाँस बेचेर ८ लाख सम्म आम्दानी हुने गरेको उनले बताइन् । यस्तै बिजयसालको पनि संरक्षणमा आफूहरू लागि परेको उनको भनाई छ ।

जनहित महाकाली सामुदायिक वनका अध्यक्ष तुलसीराम चौधरीले वन, पानी, भूमिसँग स्थानीय महिलाको प्रत्यक्ष सम्बन्ध हुने बताए । वनमा महिलाको प्रत्यक्ष र सक्रिय सहभागिता नहुँदो हो त अहिलेको जसरी वन हरियाली हुने थिएन । राज्यले लगानी गर्नु परेको भए यस्तो सम्भव नै नहुने चौधरीको दाबी छ । दुई सय १५ दशमलव ५२ हेक्टर क्षेत्रफलमा फैलिएको यो वनको उपभोक्ता ६ सय २५ परिवार छन् ।

सामुदायिक वन समन्वय समिति कैलालीको तथांङ्क अनुसार कृष्णपुर नगरपालिकामा ९ वडा छन् । ९ वटा वडामा ४४ वटा सामुदायिक वन छन् । तीमध्ये ९ वटा सामुदायिक वनको नेतृत्व महिलाले गरेका छन् । ९ वडामा रहेका ४४ वटा सामुदायिक वनको कुल क्षेत्रफल ७ हजार ५ सय ७ दशमलव ९६ हेक्टर छ । ती सामुदायिक वनमा १८ हजार ४ सय ४५ परिवार आबद्ध छन् ।

सुदूरपश्चिम प्रदेश सरकार, वन निर्देशनालय, धनगढीका वन निर्देशक हेमराज विष्टका अनुसार सुदूरपश्चिम प्रदेशमा ३ हजार ४ सय १० वटा सामुदायिक वन छन् । कञ्चनपुर जिल्लामा मात्र १ सय ४१ वटा छन् ।

निर्देशक विष्टले महिलाले नेतृत्व लिएको वनमा सुशासन कायम हुने बताए । उनले भने, ‘पुरुषले पनि काम राम्रो नै गर्नु भएको छ तर महिला नेतृत्वमा हुँदा इमानदारी पूर्वक काम गर्ने भएकाले काम अलि बढी देखिएको हो ।’

सामुदायिक वन समन्वय समिति कैलालीका अध्यक्ष महेशदत्त जोशीले पुरुषले नेतृत्व लिएको वन भन्दा महिलाले नेतृत्व लिएको सामुदायिक वन धेरै राम्रो भएको बताए । ‘महिलाले वनलाई घरजस्तै संरक्षण गर्नु भएको छ, जोशी भन्छन्, ‘पुरुषको तुलनामा महिलाले गरेको काम प्रशंसा योग्य नै छ । यस वर्ष धेरै सामुदायिक वनले आफ्नो वन डढेलोबाट जोगाउन सफल भएका छन्, त्यसमा पनि महिलाले नेतृत्व लिएको वनमा अझ बढी राम्रो काम भएको देखिन्छ ।’ उनले संरक्षणको पाटोमा महिलाले इमानदारीपूर्वक भूमिका निर्वाह गरेको बताए ।

सब डिभिजन वन कार्यालय वाणीका रेन्जर बिम्ला निडालले महिलाले नेतृत्व गरेको सामुदायिक वन राम्रो भएको बताइन् । वन संरक्षण गरेर प्राकृतिक स्रोतको संरचना बढाउन महिलाको सक्रिय योगदान रहेको उनको बुझाई छ ।

सामुदायिक वन उपभोक्ता महासङ्घ कञ्चनपुरका अध्यक्ष लक्ष्मी साउदले सामुदायिक वनमा महिला नेतृत्व बढेको बताइन् । महिलाले नेतृत्व लिएको काम पारदर्शी हुने र वन संरक्षणमा महिलाले इमानदारी पूर्वक काम गर्ने गरेको उनको भनाई छ ।

सुर्खेतका वन पनि उम्दा

कञ्चनपुर वाणीका महिला जस्तै कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरका महिलाहरू पनि सामुदायिक वन संरक्षणमा लागि परेका छन् । आफू खुसी रूख काट्ने र दाउरा लैजाने प्रचलन रहँदै आएको वनलाई संरक्षण गर्न महिला नेतृत्व सक्षम देखिन थालेको छ । हरियाली देख्नै मुस्किल भएका वन समेत हराभरा हुन थालेका छन् ।

वीरेन्द्रनगर १० र ११ नम्बरमा पर्ने शिव शक्ति सामुदायिक वन पनि महिलाले नेतृत्वका कारण सफल एक सामुदायिक वन मानिन्छ । समुदायमा हस्तान्तरण भएदेखि १५ वर्षसम्म यो वनको नेतृत्वमा पुरुष थिए जुन बेला वन संरक्षण त्यति राम्रो भएको थिएन । २०७३ सालदेखि यो वनको नेतृत्व महिलाहरूले गर्दै आइरहेका छन् । पुरुषले गर्न नसकेको काम महिला नेतृत्वले गरेको छ । यो वनको अध्यक्ष मिना आचार्य हुन् ।
२०७३ सालदेखि निरन्तर शिव शक्ति सामुदायिक वनको अध्यक्ष भएकी मिना २ वटा वडालाई नेतृत्व गर्दै वनको संरक्षणमा जुटेकी हुन् । १३ सदस्यीय कार्यसमिति रहेको यो वनमा दुई जना मात्र पुरुष सदस्य छन् । उनी भन्छिन्, ‘पुरुषले १५ वर्ष नेतृत्व गरिसकेपछि अब महिलाले पाउनु पर्छ भनेर पुरुष दाजुभाइसँग लडेरै अध्यक्ष भएकी हुँ ।’

सुरुमा मिनाले अध्यक्ष हुन्छु भन्दा कसैले उनलाई विश्वास गरेनन् । पुरुषले नेतृत्व दिन नमाने पनि उनले हार नमानेर निरन्तर नेतृत्वका लागि लडिरहिन् र पहिलो वर्षको कार्यकाल हेर्नका लागि पुरुषले उनलाई नेतृत्व सुम्पियो । पहिलो ३ वर्षको कार्यकालमा उनले १५ वर्षसम्म पुरुषको नेतृत्वले गर्न नसकेको काम गरेर देखाइन् । वनमा पाँच वटा रिचार्ज पोखरी निमार्ण, वृक्षारोपण, २ वटा धारा निमार्ण, बस्तीमा तटबन्ध लगायतका थुप्रै काम गरेपछि पुरुषले फेरी पनि उनलाई नै नेतृत्व सुम्पिए ।

मिना भन्छिन्, ‘हिम्मत हार्नु हुँदैन, जस्तो सुकै गाह्रो काम पनि गर्न सकिन्छ, पहिला मलाई नै असहयोग गर्ने पुरुष दाजुभाइ अहिले मेरै कामको प्रशंसा गर्दै हिँड्नु हुन्छ ।’ अध्यक्ष मिना वनमा लगाएका बिरुवाहरूको रेखदेखका लागि धेरै जसो आफै वनमा पुग्ने गर्छिन् । बिरुवाको गोडमेल गर्ने, मलजल गर्ने र रेखदेख गर्ने काम समितिसहित उपभोक्ताहरूलाई समेत पालो लगाएर गर्ने गरेको उनको भनाई छ । उनले रिचार्ज पोखरी, धारा, बस्तीमा तटबन्ध लगायतका काम वर्षै पिच्छे मर्मत गर्ने काम पनि गरेको बताइन् ।

सुरुमा काम गर्ने क्रममा मिनाले धेरै चुनौतीको सामना गर्नुप¥यो । महिलाको चरित्रमाथि आछेप लगाउने काम समेत पुरुषहरूबाट भएको थियो । काम गर्ने क्रममा भ्रष्टाचार गरेको भन्दै मिनासहित कोषाध्यक्ष र सचिवलाई पुरुषले अख्तियारमा मुद्दा समेत हाले ।
तर छानबिनपछि महिलाले गरेको काम झन् उत्कृष्ट देखियो । एक तले वनको भवनमा दोस्रो तला थप्ने, समुदायका असक्त र असहायहरूलाई सहयोग, विद्यालयमा विपन्न वर्गका विद्यार्थीलाई सहयोग, बाल विकास पढाउने चार जना शिक्षिकालाई मासिक रूपमा ५ सय सहयोग गर्दै आइरहेको मिनाको भनाई छ ।

यो वनमा ३३ केभीए प्रसारण लाइनको दुई वटा पोल परेका छन् । उक्त पोल वरिपरि लाइन कटान गर्नका लागि वनले १० लाख प्राप्त गरेको थियो । २ सय ९० दशमलव ४ हेक्टर क्षेत्रफलमा फैलिएको यो वनको उपभोक्ता ८ सय परिवार छन् ।

यस्तै ऐश्वर्य महिला सामुदायिक वन वीरेन्द्रनगर ११ मा पर्छ । उक्त वनको अध्यक्ष कमला विक हुन् । उनी गत माघ महिना मात्र अध्यक्ष भएकी हुन् । यो सामुदायिक वनमा ९ सदस्यीय उपभोक्ता समिति रहेको छ । मासिक ८ हजार तलब दिएर यो सामुदायिक वनले वन हेरालु महिलालाई नै राखेको छ । ५१ दशमलव ४२ हेक्टर क्षेत्रफल रहेको यस वनको उपभोक्ता करिब ३ सय छन् । अध्यक्ष विकले पहिलाको तुलनामा वन अहिले राम्रो भएको बताइन् ।

उनले भनिन्, ‘वर्षै पिच्छे वृक्षारोपण गर्ने, वन जथाभाबी काट्न नदिने, चोरी सिकारी रोक्न वन हेरालु राख्ने गरेका छौ ।’ वन व्यवस्थापनका लागि उपभोक्ताबाट मासिक ५० रुपैयाँ उठाउने गरेको उनको भनाई छ ।

महिला र पुरुषबिच विश्वासको खडेरी

वीरेन्द्रनगर १ मा पर्ने कृष्ण सामुदायिक वनमा महिला र पुरुषले नेतृत्व गर्दै आइरहेका छन् । अध्यक्ष पद्मादेवी थापासहित ११ सदस्यीय कार्यसमिति रहेको छ । पद्मादेवी विगत साढे दुई वर्षदेखि यो वनको नेतृत्व गर्दै आइरहेकी छन् । तर उनलाई काम गर्न भने सहज छैन । महिला भएकै कारण पुरुष दाजुभाइले काममा असहयोग गरेको उनको गुनासो छ । कानुनमा महिला सहभागिता अनिवार्य गरिएको कारणले मात्र महिलालाई समावेश गराउँछन् काम गर्न भने दिँदैनन्, उनले भनिन्, ‘पुरुषहरूले महिलाको नेतृत्वमा बसेर हामी काम गर्दैनौ भन्छन्, बैठकमा बोलाउँदा समेत आउँदैनन्, काम गर्न धेरै नै गाह्रो भएको छ ।’

पद्मादेवीले आफूलाई काम गर्न सहयोग नगरेको भन्दै जिल्ला वन र वडा कार्यालयमा पटक पटक जानकारी गराउँदै राजीनामा पत्र समेत दिएको र समितिले पारित नगरेसम्म राजीनामा स्वीकृत नहुने भएकाले समस्या भएको बताइन् । उनी भन्छिन्, ‘सामुदायिक वनमा राजनीतिक हस्तक्षेप धेरै नै भयो, तेरो र मेरो पार्टी भन्ने प्रवृत्तिले गर्दा काम गर्ने वातावरण नै छैन, वन नै सखाप हुने अवस्था आइसकेको छ ।’

पद्मादेवीले महिलाले नेतृत्व लिएपछि नै सामुदायिक वनको भवन निमार्ण कार्य भएको बताइन् । उनले भनिन्, ‘हामीले वनमा प्रत्येक वर्ष वृक्षारोपण गर्दै आइरहेको छौ, वनमा तार जाली लगाएका छौ, पुरुषको पालामा गर्न नसकेको काम हामी महिलाले गर्दा पनि पुरुषहरू सन्तुष्ट छैनन्, हरेक काममा बाधा उत्पन्न गर्न खोज्दा काम गर्न समस्या भएको छ ।’ वनमा लगाएका बिरुवालाई समय समयमा गोडमेल गर्दै बिरुवाको संरक्षण गरेको उनको भनाई छ ।

कृष्ण सामुदायिक वनका उपाध्यक्ष मिलन नेपाली भने महिला अध्यक्ष भएकै कारण सहयोग नगरेको भन्ने कुरा अस्वीकार गर्छन् । उनले महिला नेतृत्वमा भएका कारण असहयोग गरेको भन्दा पनि महिला नेतृत्व सफल नभएको दाबी गरे ।

नेपालीले भने, ‘हामीले असहयोग गरेको भन्ने कुरा गलत हो, हामी समितिले अध्यक्षलाई सहयोग गरेका छौ, स्थानीय राजनीतिक खिचातानीका कारण भने काम गर्न गाह्रो भएको हो ।’ उनले थपे, ‘महिला दिदी बहिनीले काम राम्रोसँग नगरी दिँदा र पटक पटक राजीनामा बुझाउँदा हामी सङ्गठन विहीन जस्तै भएका छौ, महिलालाई घर परिवारसँगै वन पनि समाल्नु पर्ने भएकाले उहाँहरूलाई समस्या भएको हो ।’

वन संरक्षणमा राती पनि गस्ती जानु पर्ने अवस्थामा महिलाको चरित्रमा समाजले औला उठाउने भएकाले पनि महिलाले काम गर्न नसकेको उनको भनाई छ ।

यता वीरेन्द्रनगर नगरपालिका वडा नम्बर १ का वडाध्यक्ष दिनेश खत्रीले कृष्ण सामुदायिक वनमा स्थानीय राजनीतिक हस्तक्षेप भएको स्वीकार गरे । उनले पद्मादेवीले वनको क्षेत्रमा राम्रो काम गर्दागर्दै पनि उपभोक्ता समिति र सदस्यबाट नै सहयोग नभएको बताए । उनी भन्छन्, ‘उहाँले वन डढेलोको समयमा राती पनि खटिएर काम गर्नु भएको थियो, उहाँको नेतृत्व कुशल भए पनि समितिमा अन्य पार्टीका व्यक्ति भएकाले उहाँलाई असहयोग भएको हो ।’

कर्णाली प्रदेश वन निर्देशनालयका सहायक वन अधिकृत सन्त थापाका अनुसार कर्णाली प्रदेशमा २ हजार ८ सय ३ वटा सामुदायिक वन छन् । सुर्खेत जिल्लामा मात्र २ सय ७१ वटा छन् ।

अधिकृत थापाले महिलाले नीति नियम भित्र रहेर काम गर्ने हुँदा महिला नेतृत्वका वन सफल भएको बताए । महिलाले चलाएको घर जस्तै वन पनि सफल हुनुमा महिलाहरूको इमानदारिता भएको उनको भनाई छ ।

महिला अधिकारकर्मी शान्ति सिंहका अनुसार महिला नेतृत्वको वन सफल हुनुका कारणहरूमा काममा पारदर्शिता, काम र जिम्मेवारीमा अनुशासन, सबैको सल्लाहमा निर्णय, प्रभावकारी समन्वय, रणनीतिक योजना बनाउनु छन् । सामुदायिक वनको नेतृत्वमा बस्दा महिलाको क्षमता विकास भएको र महिलाले सबैलाई समेटेर काम गर्ने हुँदा पुरुषको तुलनामा महिला सफल भएको उनको ठम्याई छ ।

वन उपभोक्ता महासङ्घ कर्णाली प्रदेशका अध्यक्ष भवानीप्रसाद अधिकारी कर्णाली प्रदेशमा महिला नेतृत्वका सामुदायिक वन पुरुषको तुलनामा सफल भएको तर्क गर्छन् ।

उनका अनुसार महिला वन जंगलसँग बढी जोडिएको हुनाले पनि महिलाले वनको संरक्षणमा इमानदार पूर्वक काम गर्दै आएको, सुशासन, प्रभावकारी रेखदेख, कानुन पालनामा कडाइ गर्ने क्षमता पुरुषको तुलनामा महिलाको धेरै भएको उनको बुझाई छ ।

अधिकारीले वन ऐनमा ५० प्रतिशत महिला सहभागिता गराउने नीति रहे पनि कर्णाली प्रदेशमा अझै ५० प्रतिशत महिलाको सहभागिता भई नसकेको र आगामी दिनमा ५० प्रतिशत भन्दा बढी महिला सहभागिता गराउने लक्ष्य रहेको बताए ।

वन उपभोक्ता महासङ्घ सुर्खेतका अध्यक्ष चन्द्रप्रसाद थानीले पनि महिलाले नेतृत्व लिएको सामुदायिक वनमा पुरुषले साथ र सहयोग नगरेको बताए । उनका अनुसार महिलाको नेतृत्वमा पुरुष हिँड्नु हुँदैन भन्ने मानसिकताले जरा जाडेको छ । त्यस कारण वन संरक्षणमा जुटेका पुरुष र महिलाहरूबिच द्धन्द बढेको हो । थानीले भने, ‘पुरुषको पनि साथ सहयोग पाएका महिला नेतृत्व भने अझ बढी सफल छन् ।’ वनका गतिविधि विवाद रहित र आर्थिक रूपमा पारदर्शी मात्र नभई वन पनि हराभरा भएको अध्यक्ष थानीले बताए ।
वनको नेतृत्वले महिलाको क्षमतासँगै सिप विकास भएको उनको भनाई छ । अध्यक्ष थानीका अनुसार महिलाहरू नेतृत्वमा आएपछि वन तथा वातावरण संरक्षण र व्यवस्थापन प्रभावकारी भएको छ ।

वन उपभोक्ता महासङ्घ सुर्खेतका अनुसार वीरेन्द्रनगर नगरपालिकाका १६ वडामा ७२ वटा सामुदायिक वन छन् । तीमध्ये १४ वटा सामुदायिक वनको नेतृत्व महिलाले गरेका छन् । ७२ वटा सामुदायिक वनमा १९ हजार २ सय ८१ परिवार उपभोक्ता छन् । वीरेन्द्रनगरमा सामुदायिक वनले १२ हजार एक सय ८७ दशमलव ६८ हेक्टर ओगटेको छ ।

वीरेन्द्रनगरका ऐश्वर्य महिला सामुदायिक वन, नेवारे महिला सामुदायिक वन, इन्द्रपुर महिला सामुदायिक वन, तिजु पानी महिला सामुदायिक वन, सिद्ध पाइला महिला सामुदायिक वन, माइली पानी महिला सामुदायिक वन, असुरै नि महिला सामुदायिक वन, चुनिया पानी महिला सामुदायिक वन, मुलपानी महिला सामुदायिक वन, शिव शक्ति सामुदायिक वन, पिपल चौतारी सामुदायिक वन, कृष्ण सामुदायिक वन र सिर्जना सामुदायिक वन गरी १४ वटामा महिला नेतृत्व छ ।

सामुदायिक वन उपभोक्ता महासङ्घ नेपालका अनुसार हाल नेपालमा २२ हजारभन्दा बढी सामुदायिक वन छन् । तीमध्ये करिब ११ सय सामुदायिक वनको नेतृत्व महिलाले गरेका छन् ।

वन नियमावली अन्तर्गतको सामुदायिक वन मार्गदर्शन २०६५ मा वन व्यवस्थापन, स्रोत र कोष परिचालनमा महिलाको सहभागिता बढाउने नीति छ । यसका लागि सामुदायिक वनको उपभोक्ता समितिमा अनिवार्य ५० प्रतिशत महिला सहभागी हुनुपर्ने व्यवस्था छ । वन मार्गदर्शनमा अध्यक्ष र महासचिव पदमध्ये कम्तीमा एक पदमा महिला रहने प्रावधान छ । त्यसै गरी उपाध्यक्ष र कोषाध्यक्षमध्ये कम्तीमा पनि एक पदमा महिला अनिवार्य रहने व्यवस्था रहेको छ ।