नेपालमा सुर्तिजन्य पदार्थको सेवनबाट वर्षेनी २७ हजार भन्दा बढीको मृत्यु

सुर्खेत । नेपालमा सुर्तिजन्य पदार्थको सेवनबाट प्रत्येक वर्ष २७ हजार भन्दा बढीको मृत्यु हुने गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सहयोगमा आउटरिच मिडियाले सुर्खेतको वीरेन्द्रनगरमा आयोजना गरेको धुम्रपान तथा सुर्तिजन्य पदार्थ नियन्त्रण तथा नियमन सम्बन्धी सरोकारवालाहरुसंग अन्तरक्रिया गर्दै नेपालमा वर्षेनी २७ हजार एक सय ३७ जनाले धुम्रपान तथा सुर्तिजन्य पदार्थ सेवनबाट ज्यान गुमाउनु परेको जानकारी दिएको हो ।

आउटरिच मिडियाका संयोजक कल्पना आचार्यले विश्वमा मुत्युको प्रमुख कारण सुर्तिजन्य पदार्थ सेवन रहेको बताइन् । उनका अनुसार नेपालमा २८ प्रतिशतले सुर्तिजन्य पदार्थ सेवन गर्ने गरेको पाइएको छ । त्यसमा पुरुष ४८ दशमलव ३ प्रतिशत र ११ दशमलव ६ प्रतिशत महिलाले सुर्तिजन्य पदार्थ सेवन गर्ने गरेको संयोजक आचार्यको भनाई छ । विश्वमा प्रत्येक वर्ष सात लाख मानिसको मृत्यु सुर्तीजन्य पदार्थको सेवनले हुने गरेको छ ।

जनस्वास्थ्य कार्यालय सुर्खेतका प्राबिधिक शाखा वरिष्ट मलेरिया निरक्षक उदय वि.सीले सुर्तिजन्य पदार्थको सेवनले मुटु सम्बन्धी रोग, मधुमेह, क्यान्सर, दम खोकी जस्ता रोग निम्याउने गरेको बताए । उनले नेपालमा सुर्तिजन्य पदार्थको सेवनबाट प्रतिघण्टा ३ जना, प्रत्येक दिन ७५ जना, प्रत्येक महिना २ हजार २ सय ६१ जना र प्रत्येक वर्ष २७ हजार एक सय ३७ जनाको मृत्यु हुने गरेको जानकारी दिए । उनका अनुसार मृत्यु हुने मध्ये १५ प्रतिशत धुमपान तथा सुर्तिजन्य पदार्थको सेवनकै कारण हुने गरेको छ ।

जिल्ला प्रशासन कार्यालय सुर्खेतका प्रमुख प्रशासकिय अधिकृत हितप्रसाद पौडेलले सुर्तिजन्य पदार्थको सेवनलाई रोक्नका लागि सबै सरोकारवाला निकाय र व्यक्तिको सहयोग र सहकार्य आवश्यक रहेको बताए । उनले सुर्तिजन्य पदार्थको सेवन कम गर्न अनुगमन गर्ने व्यवस्थापन समिति बनेको र उक्त समिति मार्फत जिल्लामा समय समयमा अनुगमन पनि हुने गरेको बताए । हरेक वडाका स्वास्थ्य चौकीले समेत सचेतना मुलक कार्यक्रम गर्ने र सुर्तिजन्य पदार्थको सेवन नियन्त्रण गर्नका लागि पहिलो प्राथमिकता दिनु पर्ने उनको भनाई छ । उनले स्वास्थ्य चौकी वरी परी सय मिटर टाढासम्म सुर्तिजन्य पदार्थको विक्रि वितरण र सेवनमा रोक लगाइनु पर्ने बताए ।

वीरेन्द्रनगर नगर पालिकाका वडा नम्बर ८ का वडा अध्यक्ष टिकाराम शर्माले सुर्तिजन्य पदार्थको सेवनले बालबालिकामा प्रत्यक्ष असर देखिने भएकाले यसको अभियानमा नै बालबालिकालाई जोड्नु पर्ने बताए । आफ्नो वडाले सुर्तिजन्य पदार्थको सेवनलाई न्युनिकरण गर्नका लागि वडाका प्रत्येक विद्यालयमा दुव्र्यसनी विरुद्ध अभियान सञ्चालन गर्न लागिएको उनको भनाई छ ।

सरकारले सुर्तिजन्य पदार्थ नियन्त्रण तथा नियमन गर्ने ऐन, २०६८ ल्याएको छ । उक्त ऐनमा कुनै पनि सञ्चारमाध्यममा विज्ञापन गर्न निषेध गर्नुका साथै सार्वजनिक स्थलमा सुर्तिजन्य पदार्थ सेवन गर्न पाईदैन । तर, अझैपनि होटल तथा रेष्टुरेण्टहरुमा निर्वाध रुपमा धुमपान तथा सुर्तिजन्य पदार्थको प्रयोग हुने गरेको अन्र्तक्रियामा सहभागिहरुले गुनासो गरेका छन् । स्कुल, कलेज, अस्पताल क्षेत्रको सय मिटरमा सुर्तिजन्य पदार्थ बेच्न तथा सेवन गर्न नपाइने कानुनमा उल्लेख गरेपनि यसको कार्यान्वयन भने हुन नसकेको सरोकारवालाहरुको भनाई छ ।