उत्पादनमुखी बजेट ल्याउन सुझाव

सुर्खेत । कर्णाली प्रदेश सभा सदस्यहरुले उत्पादनमुखि बजेट ल्याउनुपर्ने बताएका छन् । मंगलबार बसेको प्रदेश सभा बैठकको विशेष समयमा बोल्दै प्रदेश सभा सदस्यहरुले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट उत्पादनमुखी हुनुपर्ने सरकारलाई सुझाव दिएका हुन् ।

प्रदेश सभा सदस्य जानकी सिंहले बजेट राम्रो आउँछ भन्ने आशा गरेको बताइन् । उनले उत्पादनमा केन्द्रित गरेर बजेट ल्याउन सरकारलाई सुझाव दिइन् । उनले भनिन्, ‘बजेट उत्पादन हुने क्षेत्र उद्योग, पर्यटन, कृषिलगायतमा केन्द्रित गरेर बजेट ल्याउँनुपर्छ । हामीले अर्थतन्त्र अघि बढाउन नसके सधै संघको अनुदानमा चलाउनुपर्ने हुन्छ ।’
यस्तै प्रदेश सभा सदस्य कल बहादुर हमालले कर्णालीको विकासका लागि गहन रुपमा छलफल गर्नुपर्ने बताए । उनले प्रतिपक्षले रचनात्मक रुपमा सुझाव दिएर विकासमा सहयोग गर्नुपर्ने बताए ।
यस्तै प्रदेश सभा सदस्य देवेन्द्र बहादुर शाहीले उत्पादनमुखी र काम गर्ने सक्ने योजना ल्याउनुपर्ने बताए । उनले भने, ‘आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट आउँदैछ । अब उत्पादनमा लाग्नुपर्छ । हाम्रो ठाउँको तरकारी कुहिएर जाने अवस्था छ । बाहिरको विषादी तरकारी बजारमा छ । यसतर्फ सरकारले ध्यान दिएर नीति बनाउँन आवश्यक छ । भण्डारण गरिदियो भने गाईभैसीलाई खुवाउनुपर्ने बाध्य हुन्न् ।’

यस्तै प्रदेश सभा सदस्य जित बहादुर मल्लले सन्तुलित बजेट ल्याउन सरकारलाई सुझाव दिए । सबै क्षेत्रलाई समेट्ने गरी बजेट ल्याउनुपर्ने उनको भनाई छ । उनले भनिन्, ‘कृषि, पर्यटन, उद्योग, रोजगारलगायतका क्षेत्रमा बजेट बिनियोजन हुनुपर्छ । सबै क्षेत्रलाई समेट्ने गरी बजेट ल्याउन सरकारलाई आग्रह गर्दछु ।’