सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले लैङ्गिक न्याय प्रवद्र्धन र न्यायिक समितिको सशक्तिकरणका पहलहरू तीव्र बनाउने प्रतिवद्धता जनाएका छन् । राष्ट्रिय महिला आयोग काठमाण्डौंको आयोजनामा शुक्रवार वीरेन्द्रनगरमा सम्पन्न प्रदेश स्तरीय अन्तरक्रिया कार्यक्रममा कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले न्यायिक समितिका सदस्यहरूका गम्भीर समस्याबारे ध्यानाकर्षण गर्दै प्रदेश सरकार न्यायिक समितिहरूको लागि आवश्यक सुधार र काम गर्न प्रतिबद्ध रहेको बताएका हुन् ।
कार्यक्रममा न्यायिक समितिका प्रतिनिधिहरूले सरकारसमक्ष बालविवाह, बहुविवाह, घरेलु हिंसा र ठगीका उजुरीहरूको बढ्दो संख्या र यससँग सम्बन्धित संरचनागत समस्याहरू बारे जानकारी गराएका थिए । न्यायिक समितिहरूको लागि कानुनी परामर्शदाताको अभाव, बजेटको कमी, समन्वयको समस्या र पीडितहरूलाई तत्काल न्याय नपाउने जस्ता चुनौतीहरू प्रमुख रूपमा प्रस्तुत गरिएको थियो ।
मुख्यमन्त्री कँडेलले यस अवस्थालाई गम्भीरतापूर्वक लिएको बताउँदै भने, “तपाईंहरूको कुरा हामीले सुनेका छौं र कर्णाली प्रदेश सरकार तपाईंहरूको क्षेत्रको गर्नुपर्ने काम पूरा गर्ने छ ।’’ उनले थपे, “सरकारले आफ्नो क्षमता अनुसार काम गर्ने छ र सबैको समन्वयले मात्रै न्यायको पहुँचलाई सुदृढ बनाइने छ ।’’
मुख्यमन्त्री कँडेलले आगामी बजेटमा सामाजिक न्याय र पीडितमैत्री न्याय प्रणाली सुदृढीकरणका लागि प्राथमिकता दिने बताए । उनले न्यायको पहुँचलाई गाउँ र सहरसम्म पु¥याउन समन्वय र सहकार्यका माध्यमबाट काम अघि बढाउने योजना सरकारको रहेको उल्लेख गर्नुभयो । उहाँले न्यायिक समितिका प्रयासलाई सम्मान गर्दै सरकार र स्थानीय तहबीच सहकार्यको माध्यमबाट कर्णाली प्रदेशमा न्यायको पहुँच सुधार्ने प्रतिवद्धता गरे ।
कार्यक्रममा न्यायिक समितिका सदस्यहरूले सरकारसँगको समन्वयलाई अझ प्रभावकारी बनाउन, महिला कानुनी परामर्शदाताको संख्या बढाउन र न्यायिक सेवा केन्द्रहरूको भौगोलिक पहुँचलाई सुदृढ पार्न आवश्यकताको पनि समिक्षा गरेका थिए ।
प्रदेश प्रहरीका प्रवक्ता शिवकुमार श्रेष्ठले पनि प्रहरी समक्ष लैङ्गिक हिंसाका उजुरी धेरै आउने गरेको बताए । “बलात्कारका उजुरीहरू सबैभन्दा धेरै छन्,” उनले भने, “त्यसपछि बहुविवाह र घरेलु हिंसा प्रमुख छन् । बालविवाहको उजुरी भने समुदायमै मिलाइने भएकाले प्रहरीसम्म पुग्दैन ।”
श्रेष्ठका अनुसार पछिल्लो समय लागू औषधको कारोबार प्रदेशमा तीव्ररूपमा बढेको छ । “आजका अधिकांश अपराधहरूको मूल कारण लागू औषध हो,” उनले भने ।
आवाजपत्र । १२ बैशाख २०८२, शुक्रबार १९:५१