रुस–युक्रेन युद्धः बेखबर आफन्तको खोजीमा परिवार

गीता थापा

  रुस–युक्रेन युद्धमा मारिएका तेजबहादुर शाहीकी श्रीमति उमा शाही, श्रीमानको तस्वीर हेदै

सुर्खेत । वीरेन्द्रनगर ६ सुर्खेतकी तीर्थाकुमारी रिजालले रसियामा बेखबर भएका छोरा फर्किने आशमा बाटो कुरेको एक वर्ष बितिसक्यो । ‘छोरा हराएको एक वर्ष भयो’ आँखाभरी टिलपिल टिलपिल आँशु खसाल्दै रिजालले भनिन् ।

तीर्थाका २६ वर्षीय छोरा सुजन शर्मा गत वर्ष असोज ३० गते रुसी सेनामा भर्ती हुन काठमाडौंबाट दुवई हुँदै रुस पुगेका थिए । महिनाको ३ लाख कमाइ हुन्छ भन्ने प्रलोभनमा परेर रसिया उडेका सुजन उतै हराए ।

सुजन गतवर्ष मंसिर १२ गते (नोबेम्भर २८) का दिनसम्म परिवारसँग सम्पर्कमा थिए । ‘त्यसपछि छोरासँग सम्पर्क छैन’ तीर्थाकुमारी भन्छिन्, लडाईमा परेको छु मम्मी भन्थ्यो, यहाँबाट भागेर म नेपाल फर्कन्छु भन्दै फोन गरेको थियो, मैले पनि २÷३ दिनमा नेपाल झिकाउने तयारी थाल्दै थिए तर छोरो त उतै हरायो ।’

टन्न पैसा कमाएर नेपाल फर्कने उनको सपना उतै विलायो । सुजनकी आमा काठमाडौंको परराष्ट्र मन्त्रालयअन्र्तगत कन्सुलर सेवा विभाग, राजदुतावास मात्र नभई मस्कोस्थित नेपाली राजदुतावासमा समेत फोन सम्पर्क गरी छोराको खोजी गरिदिन आग्रह गरिन् ।

उनको छोराको स्थिति अझै पत्ता लागेको छैन । उनी भन्छिन्, ‘सबैले आश्वासन मात्र दिन्छन्, एक वर्ष भइसक्यो छोराको पत्ता अझै लागेको छैन, न सास छ न त लाश नै ।’ तीर्थाका दुई छोरामध्ये सुजन कान्छा छोरा हुन् ।

सुजनका बुबालाई मेरुदण्डमा क्यान्सर भएको छ । उनी रातदिन ओछ्यानमै हुन्छन् त्यसमाथि झन् छोरा हराएको उनलाई छुट्टै पिर थपिएको छ । घरमा नयाँ जो व्यक्ति गए पनि छोरा आयो भन्ने गर्छन् । ‘उहाँलाई एक छिन छाड्न मिल्दैन, हेर्ने अरु कोही छैनन्, छोरा खोज्न जाउँ कि श्रीमान्लाई हेरौं’ आँखाको आशु पुछ्दै भनिन् ।

उनी अझै छोरो फर्केर आउँछ कि भन्ने आशमा छिन् । साढे सात लाख रुपैयाँ खर्च गरेर छोरालाई रसिया पठाएकी तीर्थालाई रसियामा युद्ध चलिरहेको कुरा अलि अलि थाहा थियो । तर पनि छोराको जिद्दीले गर्दा बाध्य भएर एजेन्टमार्फत छोरालाई रसिया पठाइन् । छोराले पैसा कमाएर घर फर्केला भन्ने आश बुनेर बसेकी तीर्था बेखबर छोराको के खबर सुनिने हो भन्ने पीरमा छिन् ।

उनी भन्छिन्, ‘रुसले डीएनए परीक्षणका लागि नेपाललाई अनुरोध गरेको रैछ, मैले पनि छोराको डीएनए जाँच गरेर कन्सुलर सेवा विभागमा दिएको छु, अरु खबर केही आएको छैन ।’

तीर्थाको जस्तै व्यथा भगवतीमाई गाउँपालिका–६ वेस्तडा दैलेखकी २९ वर्षकी कौशिलाकुमारी नेपालीको पनि छ । रसिया सेनामा भर्ती हुन गएका उनका श्रीमान् प्रकाश नेपाली उतै वेपत्ता छन् । उनी भन्छिन्, ‘श्रीमान् हराएको ८ महिना भइसक्यो, न सासको थाहा छ न त लासको नै ।’
आँसु लुकाउदै थपिन्, ‘ऋण गरेर श्रीमान्लाई विदेश पठाए, साहुले दिनदिनै घरमा पैसा माग्न आउँछन्, श्रीमान् हराएको तनाव छुट्टै छ, मैले पैसा कहाँबाट दिउँ, घरमा खाना लाउन धौ–धौ भइसकेको छ ।’

उनी थप्छिन्, ‘गाउँघरमा केही काम गरौ भने केही काम पाइँदैन, श्रीमान् नभेटिएको चिन्तासँगै सन्तानलाई कसरी पढाउने लेखाउने भन्ने अर्काे चिन्ता थपिएको छ ।’

कौशिलाका तीन छोरी र एक छोरा छन् । कान्छा छोरा ४ वर्षका छन् । उनका श्रीमान् यसअघि रोजगारीकै सिलसिलामा दुवईमा थिए । चार वर्षदेखि दुवईमा बसेका प्रकाशले छोराको मुख प्रत्यक्ष देखेका थिएनन् । उनका कान्छा छोरा उनी दुवई गएपछि जन्मिएका थिए ।

दुवईबाटै गतवर्ष मंसिर १८ गते प्रकाश रसिया पुगेका थिए । श्रीमतीलाई साढे सात लाख रुपैयाँ पठाउन लगाएर रसिया पुगेका प्रकाश एजेन्टमार्फत रुसी सेनामा भर्ती भएका थिए । प्रकाशले कौशिलालाई धेरै पैसा कमाएर फर्किने अनि परिवारलाई सुखमा राख्ने आश्वासन दिएका थिए । कौशिला सम्झदै भन्छिन्, ‘मलाई बरु धन सम्पत्ति केही चाहिएन, मेरो श्रीमान्को खबर पाउन पाए हुन्थ्यो ।’

रसिया पुगेको चार महिनासम्म प्रकाश घरपरिवारसँग सम्पर्कमा थिए । गएको चार महिनामा उनले एक लाख २१ हजार रुपैयाँ घर पठाएका थिए । चैत ६ गते परिवारको सम्पर्कमा आएका प्रकाश त्यसपछि भने बेखबर छन् । कौशिलाले श्रीमान्को खोजी गरिदिन ३ पटक सम्म काठमाडौंस्थित रुसी राजदुतावासमा निवेदन समेत दिएकी छन् । उनी भन्छिन्, ‘खै सरकारले पनि केही खोजी गर्ला जस्तो छैन, ८ महिना भइसक्यो पत्ता लागेको छैन, पहुँच हुनेहरुकै रैछ दिन, हामी दुःखी गरिवको के नै रैछ र ।’

‘रुसी सेनामा आवद्ध नेपालीको जीवनार्थ अभियान’ की संयोजक कृतु भण्डारीले रसियामा रहेका ६ सय ९९ जनाको विवरण संकलन गरिएको जानकारी दिइन् । भण्डारीका अनुसार, ६३ जनाको मृत्यु, २ सय ६९ जना वेपत्ता, १ सय १७ जना घाइते, १३ जना अंङ्गभङ्ग भएको र ५ जनाको अस्तु नेपाल आइसकेको छ ।

‘मृत्यु भएका, वेपत्ता भएका सबैको परिवारसँग हामीले सम्पर्क गरेका छौँ’ उनले भनिन्, ‘५७ जनाको मृत्यु पुष्टि गर्न डीएनए पठाएका छौँ ।’
उनका अनुसार १ सय २६ जनाले रुसी राहदानी पाइसकेका छन् भने ६ जनाको क्षतिपूर्तिका लागि सिफारिस गरिएको छ । उनले थपिन्, ‘क्षतिपूर्तिका लागि रुसी सरकारले नै कागजपत्र मागेकाले हामीले मृत्यु भएका ६ जनाको सिफारिस गरेका छौँ ।’

उनले रुस र नेपालबीच कुनै पनि सैन्य सम्झौता नभए पनि अनेक बाटो हुँदै नेपाली युवाहरु रुस पुगेको बताइन् । मानव तस्करहरुले पैसा धेरै कमाइ हुने, एक वर्ष रुसी सेना भए त्यहीको राहदानी पाइने र परिवार पनि उतै लैजान पाउने जस्ता प्रलोभन देखाउँदै युवालाई रुस पठाइने काम भइरहेको भण्डारी बताउँछिन् ।

गैरकानुनी बाटो हुँदै नेपाली नागरिक रुस पुग्ने गरेपनि नेपाल सरकार त्यसतर्फ संवेदनशील नभएको उनले बताइन् । उनले भनिन्, ‘गैरकानुनी रुपमा गए पनि ती नेपाली नागरिक हुन् । उनीहरुको जीवन रक्षा गर्नु र खोजी गर्नु सरकारको दायित्व हो, ती युवाहरुको अन्तिम अभिभावक राज्य हो, राज्यले कूटनीतिक पहल गरी रुसमा रहेका नेपाली नागरिकलाई नेपाल फर्काउने पहल गर्नुपथ्र्यो, तर सरकारले कोशिससम्म गरेन ।’
उनले थपिन्, ‘युवाहरु जोखिम मोलेर रुस पुग्नु मुख्य जिम्मेवार सरकार हो, देशमा युवालाई रोजगारी छैन अनि युवा ज्यान जोखिममा राखेर रुस पुग्न बाध्य छन् ।’

पछिल्लो समय नेपाल सरकारभन्दा पनि रुसी सरकारले नेपालीबारे चासो दिएको उनले बताइन् । ‘रुस–युक्रेन युद्धमा मृत्यु भएका कुनै पनि नेपालीको शव ल्याएको छैन’, अभियन्ता भण्डारीले भनिन्, ‘शव नपाउने स्थिति भएपछि परिवारले शवविनै काजकिरिया गर्नुपरेको अवस्था छ ।’

रुसी सेनामा भर्ना भएका गुराँस गाउँपालिका ५ दैलेख, भैरीका तेजबहादुर शाही गत बैशाखमा रुस–युक्रेन युद्धमा मारिए । मंसिरमा रुस पुगेका तेजबहादुर युक्रेनको युद्धग्रस्त क्षेत्रमा थिए ।

युद्ध क्षेत्रमा जानुअघि उनले श्रीमती उमा शाहीसँग फोनमा भनेका थिए, ‘रूस–युक्रेनबीच युद्ध भइरहेको छ, त्यहाँ हामीलाई लड्न पठाइँदैछ । मर्ने बाँच्ने टुंगो हुँदैन ।’ त्यसको १८ दिनपछि श्रीमती उमालाई रातको २ बजे श्रीमानको मृत्यु भएको खबर आयो । उनलाई भारतका एक व्यक्तिले फोन गरी श्रीमानको मृत्यु भइसकेको जानकारी दिएका थिए ।

साढे आठ लाख खर्च गरी रसिया पुगेका तेजबहादुर उतै अस्ताए । १७ वर्ष नेपाली सेनाको जागिर सकेर उनी परिवारको खुसी खोज्न भारतको दिल्ली हुँदै रसिया पुगेका थिए ।

उमा भन्छिन्, ‘कमाइ राम्रो हुन्छ, जान्छु भन्दै जानु भएको थियो, कहिल्यै नफर्कने गरी अस्ताउनु भयो’ उनले रुदै भनिन्, ‘छोरा–छोरीलाई राम्रो शिक्षा दिन सकुला भन्दै जानु भएको थियो, अब यिनै छोरा छोरीलाई कसरी पढाउने ? मेरो जागिर केही छैन, कमाउने मान्छे नै गएपछि अब कसरी बाँच्ने ?’

उनका दुई छोरी र एक छोरा छन् । उनी रसिया गएपछि ५ महिनाको अवधीमा ६ लाख रुपैयाँ पठाएका थिए । उमा भन्छिन्, ‘ऋण तिर्न ठीकै भयो, अझै बाँकी छ ऋण कसरी तिर्ने, जाने मान्छे गइसक्नु भयो, अब यी छोरा छोरीलाई सरकारले पढाउने केही व्यवस्था गरिदिएको भए हुन्थ्यो ।’

गत बैशाखमा तेजबहादुरको मृत्युको खबर सुनेपछि परिवारले उनको कुशको पुत्ला बनाएर दाहसंस्कार गरेका थिए । दुतावासमार्फत रसिया सरकारसँग सहयोगको अपिल गर्दै निवेदन समेत दिएका छौ । उमाले भनिन्, ‘धेरै पटक दुतावासमा धायौ बल्ल उहाँको शव त भेटियो, तर नेपाल ल्याउन सकेनौ, कुशको शव बनाएर यता काजकिरिया ग¥यौ । उहाँका उतैै दाहसंस्कार भयो अब केही महिनामा अस्तु पठाई दिन्छौ भनेका छन् ।’

रुस–युक्रेन युद्धमा मारिएका तेजबहादुर शाहीका परिवार, तस्वीरमा तेजबहादुर 

यस्तै रुसी सेनामा १३ महिनादेखि कार्यरत दैलेखका एक युवाले मृत्युलाई नजिकबाट देखे । युद्धग्रस्त क्षेत्रबाट बाँचेर फर्कने आशै मारेका उनी अहिले नेपाल फर्कने तयारीमा छन् । उनीसँगै गएका उनका अन्य २ जना साथी युद्धग्रस्त क्षेत्रमै अस्ताए । नाम नबताउने सर्तमा उनी भन्छन्, ‘कञ्चनपुरबाट मसँगै आएका मेरा दुई जना साथी विराजन र निराजन विष्टको युद्धग्रस्त क्षेत्रमा परेर मृत्यु भयो, आफ्नै आँखाअगाडि साथीहरुको मृत्यु भएपछि म पनि नेपाल फर्कन पाउँदिन जस्तो लागेको थियो, भाग्यले साथ दियो र बाँचे ।’

उनी एक महिनापछि नेपाल फर्किदै छन् । यसअघि उनी नेपाली सेनामा ७ वर्ष जागिर गरेर अफगानिस्तानमा पुगेका थिए । त्यहाँ पनि उनी आर्मीमै थिए । कमाई राम्रो हुने भन्दै उनी एजेन्टमार्फत अफगानिस्तानबाटै रुस पुगेका थिए ।

उनी भन्छन्, ‘एक वर्षको सम्झौता हुन्छ सेनामा बस्ने, यहाँको नागरिक हुन फेरी पाँच वर्ष बस्नुपर्ने हुन्छ ।’ नेपालमा भने जस्तो रोजगारी नहुँदा नेपाली युवाहरु आफ्नो ज्यानको जोखिम मोल्दै रुस पग्ने गरेको उनको भनाई छ ।

उनी थप्छन्, ‘काल आएपछि जहाँ पनि मरिन्छ भन्छन्, रुसमा आउने भनेको कि वार कि पार भनेर आउनुपर्छ, मरे जीवन सकिन्छ, बाँचे जिन्दगी बन्छ ।’

वैदेशिक रोजगारीका आकांक्षी नेपालीले रुस–युक्रेन युद्धलाई समेत उपयोग गर्दा आफूलाई जोखिममा पारेका छन् । चालु आवमा रुस जाने नेपाली युवाको संख्या ह्वात्तै बढ्नुको कारण जोखिम भए पनि रोजगारीको खोजी हो ।

वैदेशिक रोजगार विभाग काठमाडौंका अनुसार, आर्थिक वर्ष २०७५÷७६ देखि २०७९÷८० बीच सात सय ४४ नेपाली श्रम स्वीकृति लिई रुस पुगेका छन् । चालु आव सुरु भएसँगै रुस जाने युवाको संख्या अझै बढेको छ । पाँच वर्षमा रुस गएको संख्याभन्दा २०८०÷८१ मा बढी रुस पुगेका छन् ।

यसबीच श्रम स्वीकृत लिएर पाँच सय ६२ जना रुस पुगेका हुन् । अध्ययन, भ्रमण, रोजगारी र अन्य उद्देश्यले नेपाली युवा रुस पुगेका हुन् । वैदेशिक रोजगार विभागका निर्देशक तथा सूचना अधिकारी गुरुदत्त सुवेदीले कानुनी प्रकृया पु¥याएर रुस जाने युवाको संख्या बढेको थियो, युद्धपछि रुस जान सरकारले प्रतिबन्ध लगाएको जानकारी दिए ।

रुसमा पढ्न र रोजगारीका लागि नेपाली युवा रुस–युक्रेन युद्ध सुरु हुनुभन्दा अघिबाटै जाने गरेको उनले बताए । उनका अनुसार सबैजना रुसी सेनामा गएको भन्न त मिल्दैन । तर, त्यहाँको सेनामा जाने धेरैजसो नेपालीहरू नेपाल बाहिरैबाट प्रक्रिया मिलाएर रुस गएको देखिन्छ । नेपालबाट सिधै रुस गएर त्यहाँको सेनामा भर्ती हुनेभन्दा पनि पहिले अरू देश जाने अनि उतैबाट रुस पुग्ने गरेको उनले बताए । ‘बेलायत र भारतबाहेक अरू देशमा नेपालबाट सैनिक भर्ना पठाउने व्यवस्था छैन,’ उनले भने, ‘तर फ्रान्स, रुस, अफगानिस्तान, युक्रेनलगायत अन्य देशमा नेपाली सैनिक छन् ।’

श्रम स्वीकृति लिएका नेपालीले रुसी सेनामा जाने नभई अन्य कामका लागि रुस जान भनी आवेदन दिन आउने गरेका विभागका सूचना अधिकारी सुवेदीले जानकारी दिए । सरकारले केही गरिरहेको छ भन्ने अनुभूति नपाएको र ध्यानाकर्षण गराउन खोज्दा पनि चासो नदिएको परिवारजनको गुनासो छ ।