सुर्खेत । सामाजिक विकास मन्त्री घनश्याम भण्डारीले दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता समयमै नहुने अवस्था देखिए कर्णाली प्रदेशले आफैं राष्ट्रियस्तरको प्रतियोगिता सञ्चालन गर्ने जनाएका छन्।
मंगलबार गुर्भाकोटमा सम्पन्न छैठौं चन्द्र स्मृति कप फुटबल प्रतियोगिताको समापन समारोहमा बोल्दै मन्त्री भण्डारीले संघीय सरकार अझै निर्णयमा पुग्न नसकेकाले कर्णाली प्रदेशले स्वतन्त्र रूपमा अग्रसरता लिने संकेत दिए।
“कर्णालीको खेल क्षेत्रको विकास र प्रवर्धनका लागि राष्ट्रियस्तरको खेलकुद आयोजना गर्न प्रदेश सरकार तयार छ,” मन्त्री भण्डारीले बताए।
उनले पछिल्लो समय जुम्ला र सुर्खेतमा फुटबल गतिविधि उल्लेख्य रूपमा बढिरहेको उल्लेख गर्दै आवश्यक पूर्वाधार निर्माणमा पनि लगानी भइरहेको जानकारी दिए।
त्यसै अवसरमा मेहेलकुना फुटबल क्लबद्वारा आयोजित अध्यक्ष कपको अन्तिम खेलमा रोयल फुटबल क्लब, वीरेन्द्रनगरले इभी बहुउद्देश्यीय संस्था, बडाखोलीलाई ५-१ को गोल अन्तरले पराजित गर्दै उपाधि हात पारेको छ।
विजेता टोलीका लागि दीपेन्द्र सिंह ठकुरीले दुई गोल गर्दा लक्ष्मण राना, श्याम बादी र धनसिंह विकले एक–एक गोल गरे। इभीका तर्फबाट कमल मस्कीले एक मात्र सान्त्वना गोल गरे।
स्थानीय स्तरमा बढ्दो खेलकुद गतिविधिले कर्णाली प्रदेशमा खेल विकासको सम्भावनालाई उजागर गरिरहेको भन्दै मन्त्री भण्डारीले आगामी दिनमा अझ प्रभावकारी योजना ल्याउने प्रतिबद्धता जनाए
आवाजपत्र । ९ बैशाख २०८२, मंगलवार २१:२६