कर्णाली प्रदेशको बजेटः ३१ अर्ब ४१ करोड ४१ हजार

सुर्खेत । कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८१/०८२ का लागि ३१ अर्ब ४१ करोड ४१ हजारको बजेट विनियोजन गरेको छ ।


आर्थिक मामिला तथा योजना मन्त्री महेन्द्र केसीले शनिवार आर्थिक वर्ष २०८१/०८२ का लागि ३१ अर्ब ४१ करोड ४१ हजारको बजेट विनियोजन गरेका हुन् । मन्त्री केसीले कुल बजेटमध्ये चालुतर्फ ७ अर्ब ५७ करोड ५५ लाख ९२ हजार अर्थात् २४.१२ प्रतिशत बजेट विनियोजन गरिएको छ । पुँजीगततर्फ १८ अर्ब ७५ करोड ८ लाख ६८ हजार अर्थात् ६९.७ प्रतिशत बजेट सरकारले विनियोजन गरिएको छ । यस्तै, वित्तीय व्यवस्थापनतर्फ २५ करोड र स्थानीय तह वित्तीय हस्तान्तरणतर्फ ४ अर्ब ८३ करोड ३५ लाख ८१ हजार बजेट विनियोजन गरेको मन्त्री केसीले बताए ।

मन्त्री केसीले आगामी आर्थिक वर्षको खर्च व्यहोर्ने स्रोतमध्ये आन्तरिक राजस्वबाट ८३ करोड ४४ लाख ६५ हजार, चालु आवको खर्च नभई बचत हुने अनुमानित रकम ५ अर्ब १३ करोड ८१ लाख २६ हजार, संघीय सरकारको राजस्व बाँडफाँडबाट ९ अर्ब ३८ करोड ५३ लाख, वित्तीय सामान्यीकरण अनुदान १० अर्ब ३६ करोड ६३ लाख र ससर्त अनुदान ३ अर्ब ७१ करोड ५० लाख र संघीय सरकारको समपूरक अनुदान १ अर्ब २८ करोड ५० लाख एवम् विशेष अनुदान ६७ करोड ६५ लाख रहेको बताए ।