सुर्खेत । मिडियाले श्रमजीवी पत्रकारको सुरक्षाको लागि सामाजिक सुरक्षा कोष, संचयकोष र नागरिक लगानी कोषमा पत्रकारलाई जोड्नुपर्ने पत्रकारहरुले बताएका छन् ।
श्रमजीवी पत्रकार ऐन कार्यान्वयनको अवस्था र ऐन संशोधन विषयक प्रदेश स्तरीय अन्तरक्रिया कार्यक्रममा सहभागि सुर्खेतका पत्रकारहरुले श्रमजीवी पत्रकारहरुको सुरक्षा नभएको भन्दै ऐनमा पत्रकारको सामाजिक सुरक्षा कोष, संचयकोष र नागरिक लगानी कोषमा पत्रकारलाई जोड्नुपर्ने सुझाव दिएका हनु । उनीहरुले पत्रकारको हकहितका लागि र मिडियामा दिगो स्थायित्व बनाउनका लागि यसमा सरकार पनि जिम्मेवार रहेको बताएका छन् । उनीहरुले ऐनमा भएका कुरा समेत कार्यान्वयन हुन नसकेको भन्दै कानुनी पक्ष नै फितलो भएको बताएका हुन् ।
न्यूनतम पारिश्रमिक निर्धारण समितिका अध्यक्ष संगिता खड्काले ऐन संशोधन गर्नका लागि पहल गरिरहेको बताइन् । उनले श्रमजीवी पत्रकार एउटा मिडिया छोडेर अर्काे मिडियामा जाँदा खाली हात जानु पर्ने अवस्थालाई अन्त्य गर्नका लागि पत्रकारको सामाजिक सुरक्षा कोषलाई ऐनमा लागु गर्न समिति लागि रहेको बताइन् । पत्रकारहरुले दिएको सुझावलाई ऐन संशोधनमा लागु गर्नका लागि समितिले पहल गर्ने उनले प्रतिवद्धता समेत व्यक्त गरिन् ।
आवाजपत्र । १६ असार २०८१, शनिबार १७:०२