मनसुन जन्य विपद्मा परी कर्णालीमा २४ जनाको मृत्यु, ९८ जना घाइते

गीता थापा
सुर्खेत । कर्णाली प्रदेशमा पाँच महिना यता मनसुन जन्य विपद्मा परी २४ जनाको मृत्यु भएको छ । ९८ जना घाइते भएका छन् भने १ जना वेपत्ता भएका छन् । प्रदेशका १० जिल्लामा जेठ २८ गतेदेखि असोज १४ गतेसम्म बाढी, पहिरो, चट्याङमा परी २४ जनाको मृत्यु भएको हो । आन्तरिक मामिला तथा कानुन मन्त्रालयको तथ्याङ्कअनुसार बाढी पहिरो र चट्याङमा परी सबैभन्दा धेरै जाजरकोटमा ८ जनाको मृत्यु भएको छ ।

आन्तरिक मामिला तथा कानुन मन्त्रालय अन्र्तगर्त विपद् व्यवस्थापन शाखाका शाखा अधिकृत भलाराम पंगालीले रुकुमपश्चिममा ७ जना, दैलेख र जुम्लामा तीन÷तीन जना, सुर्खेतमा दुई र सल्यानमा एक जनाको मृत्यु भएको जानकारी दिए ।

अधिकृत पंगालीका अनुसार हालसम्म प्रदेशमा बाढी पहिरो र चट्याङबाट १ सय ९८ परिवार प्रभावित भएका छन् । एक सय १३ घर पूर्ण रुप्मा क्षति भएका छन् भने ७८ घर आंशिक क्षति भएका छन् । चार सय ४१ वटा पशुचौपाया मरेका छन् भने २२ वटा गोठमा क्षति भएको छ ।
विपद्का कारण करिब ३ करोड ८८ लाख २० हजार ९ सय ३७ रुपैयाँ बराबरको क्षति भएको अधिकृत पंगालीले जानकारी दिए ।