कर्णाली प्रदेश अस्पतालमा एक सुत्केरीको मृत्यु

सुर्खेत । प्रदेश अस्पताल सुर्खेतमा एक सुत्केरीको मृत्यु भएको छ । मृत्यु हुनेमा वीरेन्द्रनगर–६ बस्ने १८ वर्षीया शर्मिला सुनार रहेकी छन् । उनलाई सुत्केरी व्यथा लागेपछि हिजो (आइतवार) अस्पतालमा भर्ना गरिएको मृतककी भाउजु चन्द्रकली सुनारले आवाजपत्रलाई जानकारी दिइन् । अस्पताल भर्ना गरसकेपछि डाक्टरले विरामीको अवस्था सामान्य नै रहेको आफन्तलाई जानकारी दिएको थियो ।

चन्द्रकलीले भनिन्, ‘पहिला आमा बच्चा दुवैलाई ठिकै छ भन्नु भयो, पछि एक्कासी बच्चाको पेटमा नै मृत्यु भइसकेको छ भन्ने जानकारी आएपछि हामीले आमालाई बचाईदिनुस् भनेर आग्रह ग¥यौ ।’ बच्चा आइतवार साझ ९ः३० बजे नै जन्मिसकेको थियो । उनले थपिन्, ‘विरामी भेट्न हामीलाई जान पनि दिएका छैनन्, विरामीको अनुहार हामीले अहिलेसम्म देख्न पनि पाएका छैनौ, बच्चा के जन्मियो त्यो पनि जानकारी छैन, मरेकै भएपनि बच्चा हामीलाई दिनुस् भनेको हो त्यो पनि दिएनन्, सुविधासम्पन्न अस्पतालमा आउँदा पनि सुत्केरी सुरक्षित हुन नसक्नु यो कस्तो विडम्बना हो, लापरवाही गर्ने चिकित्सकलाई कडा कारवाही हुनु पर्छ ।’

चन्द्रकलीका अनुसार डाक्टरले शर्मिलालाई बढी रक्तस्राप भएको र आइसियुमा राखिएको जानकारी दिएका थिए । मृतकका आफन्तलाई जानकारी नदिएरै अस्पतालले पहिला प्रहरीलाई अस्पतालमा बोलाएको चन्द्रकलीले जानकारी दिइन् । प्रहरी आएपछि मात्र आज (सोमवार) विहान ४ बजे प्रहरीले शर्मिलाको मृत्यु भइसकेको जानकारी दिएका थिए ।

चिकित्सकको लापरवाहीका कारण शर्मिलाको मृत्यु भएको आरोप उनका आफन्तले लगाएका छन् । आन्दोलनमा सहभागि रमेश बस्यालले आन्दोलन शान्तिपूर्ण तरिकाले गरिरहेको बताए । सुत्केरी गराउने संवेदनशील विषयमा डाक्टरहरु गम्भीर नभएको उनको भनाई छ । अहिले पीडित पक्षसंग अस्पताल प्रशासनले छलफल गरिरहेको छ । आफन्तहरूले भने अस्पताल परिसरमा दोषी चिकित्सकलाई कारवाही गर्नु पर्ने माग राख्दै प्रदर्शन गरिरहेका छन् । घटनाको नियन्त्रणका लागि अस्पताल परिसरमा प्रहरी टोली तैनाथ गरिएको छ ।