कर्णालीमा पहिलो पटक राष्ट्रियस्तरको यू–१६ क्रिकेट प्रतियोगिता हुने

सुर्खेत । कर्णाली प्रदेशमा राष्ट्रियस्तरको यू–१६ क्रिकेट प्रतियोगिता आयोजना हुने भएको छ । नेपाल क्रिकेट संघको आयोजनामा आगामी जेठ १९ देखि ३१ गतेसम्म सुर्खेतको वीरेन्द्रनगरमा प्रतियोगिता हुन लागेको हो ।

एसियन क्रिकेट काउन्सिलको कार्यतालिका अनुसार आगामी जुनमा हुने एसिसि मेन्स यू–१६ कप २०२५ का लागि नेपाली टिम तयार पार्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको नेपाल क्रिकेट संघका केन्द्रीय कोषाध्यक्ष पदमबहादुर खड्काले जानकारी दिए ।

कर्णालीमा पहिलो पटक आयोजना हुन लागेको प्रतियोगितामा सात वटै प्रदेशको सहभागिता हुने कोषाध्यक्ष खड्काले बताए । लिग संस्करणमा २१ खेल खेलाइने छ । प्रतियोगिताले कर्णाली प्रदेशमा आर्थिक गतिविधिका साथै क्रिकेट खेलको विकास एवम् विस्तारमा थप टेवा पुग्ने विश्वास रहेको उनको भनाई छ ।

प्रतियोगिताबाट राष्ट्रियस्तरका दुई टिम छनौट गरिने छ । खेल कालिनचौक क्रिकेट मैदान र वीरेन्द्रनगर क्रिकेट मैदान सुर्खेतमा हुनेछ । कर्णालीको टिमको नेतृत्व कप्तान विपिन शर्माले गर्नुहुनेछ । खेलका लागि कर्णालीका ५ जिल्लाका २५ जना खेलाडी छनोट भएका छन् । प्रतियोगिता सञ्चालन गर्न ९० लाख खर्च लाग्ने जनाइएको छ ।