कर्णाली प्रदेश सभाको पाँचौं अधिवेशन अन्त्य

सुर्खेत । कर्णाली प्रदेश सभाको दोस्रो कार्यकालको हिउँदे तथा पाँचौं अधिवेशन अन्त्य भएको छ । सोमबार राती १२ बजेदेखि लागू हुने गरी प्रदेश सभाको पाँचौं अधिवेशन अन्त्य भएको हो । गत माघ ७ गतेदेखि प्रदेश सभाको हिउँदे अधिवेशन सुरु भएको थियो । प्रदेश सभा सचिवालयका अनुसार यस अवधिमा प्रदेश सभाका ३१ वटा बैठक बसेका छन् भने जम्मा ३६ घण्टा एक मिनेट २५ सेकेण्ड बैठक सञ्चालन भएको छ । अधिवेशनको अन्तिम तथा ३१ औं बैठक सोमबार रातिसम्म बसेको थियो । प्रदेश प्रमुख यज्ञराज जोशीले प्रदेश सरकारको सिफारिसमा दोस्रो कार्यकालको पाँचौं अधिवेशन अन्त्य गरिएको पत्र प्रदेश सभा सचिवालयमा पठाउँनु भएको थियो ।
यस अवधिमा प्रदेश सभाले विभिन्न महत्वपूर्ण विधेयकहरु पारित गरेको छ । अधिवेशनले लामो समयदेखि नेतृत्व बिहिन रहेका अर्थ तथा प्राकृतिक स्रोत समिति, सार्वजनिक लेखा समिति र सामाजिक लेखा समितिको नेतृत्व चयन गरेको छ । सभामुख नन्दा गुरुङले महत्वपूर्ण विधेयकहरु पारित गर्नुका गरेको जानकारी दिइन् । यस अधिवेशनमा सात वटा विधेयक पारित भएका छन् ।
प्रदेश सभा सचिवालयका अनुसार हिउँदे अधिवेशनमा आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व सम्बन्धी व्यवस्था गर्न बनेको विधेयक, कर्णाली प्रदेश निजामती सेवा ऐन २०८० लाई संशोधन गर्न बनेको विधेयक, कर्णाली प्रदेश सवारी यातायात सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, कर्णाली प्रदेश प्रहरी सेवा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, दलित समुदायको सशक्तिकरण र जीवनस्तर प्रवद्र्धन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, कर्णाली प्रदेशको विद्युत सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, कर्णाली प्रदेश बिउबिजन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक सभाबाट पारित भएका छन् । प्रदेश सभा बैठकमा कर्णाली प्रदेश स्थानीय सेवाको गठन , सञ्चालन र सेवाका शर्त सेवाको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक टेबुल भएर छलफल अघि बढेको छ ।
यस्तै हिउँदे अधिवेशनमा नेपाल सरकारका प्रधानमन्धी केपी शर्मा ओलीले विशेष सम्बोधन गर्नु भएको थियो । माघ फागुन २३ गते प्रधानमन्त्री ओलिले प्रदेश सभाको बैठकमा सम्बोधन गरेका थिए ।