सुर्खेत । कर्णाली प्रदेशका विद्यालयमा जनशक्तिको अभाव व्यवस्थापन, बजेटको प्रभावकारी प्रयोग र शिक्षामा समान पहुँच कसरी पु¥याउन सकिन्छ भन्ने विषयमा छलफल गरिएको छ । शिक्षा तथा मानवस्रोत विकास केन्द्रले वीरेन्द्रनगरका पत्रकारसंग भेटघाट कार्यक्रम गर्दै कर्णालीका विद्यालयमा दक्ष जनशक्ति व्यवस्थापन, बजेटको प्रभावकारी प्रयोग लगायतका विषयमा छलफल गरेको हो ।
छलफलमा सहभागी पत्रकारले स्थानीय सरकारको कमजोरी र संघीय सरकारको नीतिगत सहकार्यलाई प्रभावकारी बनाउन चालिनुपर्ने कदमका बारेमा धारणा व्यक्त गरेका थिए । शिक्षा क्षेत्रमा भइरहेको भौतिक संरचनाको सुधार, विद्यालयमा वितरण गरिने दिवा खाजा, सेनेटरी प्याड, विद्यालय कर्मचारी व्यवस्थापन अनुदान लगायत बालबालिकाको सिकाइमा देखिएका कमीहरू औंल्याउँदै यसलाई प्राथमिकताका साथ समाधान गर्न सुझाव दिएका छन् ।
कार्यक्रममा शिक्षा तथा मानवस्रोत विकास केन्द्रका निर्देशक हरि प्रसाद अर्यालले नेपालको संविधान २०७२ अन्तर्गत रहेका शिक्षा सम्बन्धी प्रावधानहरूबारे जानकारी गराउँदै संघीय सरकारले स्थानीय तहमा बजेट हस्तान्तरण गरेको भए पनि जनशक्ति र कानुनी प्रावधानको अभावले काम गर्न चुनौती थपिएको बताए । उनले पछिल्लो समय तयार गरिएको शिक्षा नीतिले समस्याको समाधानमा मद्दत गर्ने विश्वास व्यक्त गरे ।
त्यसैगरी, शिक्षा विकास तथा समन्वय एकाइ सुर्खेतका प्रमुख महेशदत्त देवकोटाले सुर्खेतका विद्यालयहरूमा भएका सुधारका प्रयासहरूबारे जानकारी दिएका थिए । उनले विद्यालयका भौतिक संरचना, शिक्षकको क्षमता अभिवृद्धि, र सिकाइ सुधारमा केन्द्रीय सरकार र स्थानीय सरकारको सहकार्यले सोचे अनुरुप उपलब्धि हाँसिल गर्न नसकेपनि निरन्तर प्रयासका कामहरु भइरहेको बताए ।
आवाजपत्र । १३ माघ २०८१, आईतवार १९:०१