जुस बेचेरै मासिक डेढ लाख कमाउँदै वीरेन्द्रनगरका नवीन जैसी

गीता थापा

सुर्खेत । विदेश जाने सपना देख्ने युवा धेरै छन्, तर केही यस्ता पनि छन् जसले आफ्नै माटोमा संघर्ष गर्दै आत्मनिर्भरता र सफलता हासिल गरेका छन्। सुर्खेतको वीरेन्द्रनगर–४ का ३५ वर्षीय नवीन जैसी यस्तै प्रेरणादायी पात्र हुन्। उनले जुस बेचेरै न केवल राम्रो आम्दानी गरिरहेका छन्, बरु युवाहरूका लागि स्वदेशमै अवसर खोज्ने गतिलो उदाहरण समेत बनेका छन् ।

विगत १२ वर्षदेखि “पशुपति फ्लेवर जुस सेन्टर” नामक व्यवसाय सञ्चालन गर्दै आएका जैसी अहिले मासिक एक लाख ५० हजार रुपैयाँसम्म आम्दानी गर्छन् । घर खर्च, परिवारको आवश्यकताको जोहो गरी उनले नियमित रूपमा झण्डै ६० हजार रुपैयाँ बचत गर्दै आइरहेका छन् । “सुरुमा त साथीभाइले तिरस्कार गरे, खिस्सी उडाए—तर आज ती सबैले मेरो कामको तारिफ गर्छन्,” उनी भन्छन् ।

जुस गाडीबाट सुरु भएको यात्रा

३० लाख रुपैयाँको लगानीबाट व्यवसाय सुरु गरेका जैसीले सुरुका दिनहरूमा निकै संघर्ष गर्नुप¥यो । “म जुस बेच्न थालेको सुन्दा धेरैले अचम्म मान्थे, कसैले भने नाइट गाडी किन्, कसैले भने विदेश जा। तर मलाई सधैं आफ्नै माटोमै केही गर्नु पर्छ भन्ने अठोट थियो,” उनी सम्झन्छन् । सुरुमा १२ लाख रुपैयाँ आफन्तबाट जुटाए पनि बाँकी रकम उनले ऋणमा लिनुप¥यो ।

हाल उनी दैनिक ५ देखि ८ हजार रुपैयाँसम्म कारोबार गर्छन् । म्याङगो, लिची, पाइनापल, स्ट्रबेरी, मसला सोडा लगायतका जुसको विक्रि गर्दै आएका जैसीले स्थानीय उत्पादकबाटै कच्चा पदार्थ खरिद गर्छन्, जसले व्यवसायलाई थप दिगो बनाएको छ ।

बजारको प्रतिस्पर्धा, ग्राहकको मन जित्नुपर्ने दबाब र गुणस्तरीय सेवा दिने चुनौतीहरूका बाबजुद जैसीले कहिल्यै हार मानेनन् । उनले आफ्नो व्यवसायलाई विश्वास, मेहनत र इमान्दारिताका साथ अगाडि बढाए । उनी भन्छन् , “काम सानो–ठूलो भन्ने हुँदैन, इमान्दारी र परिश्रमले जे पनि सम्भव छ ।”

उनले जुस बेचेरै वीरेन्द्रनगर–४ मा आधा कठ्ठा जग्गा किनेर घर पनि बनाईसकेका छन् । उनी भन्छन्, “यो सबै मिहिनेतको फल हो, आत्मसन्तुष्टि यसैमा छ ।” अहिले उनले घण्टाघर नजिकै गाडी राखेर जुस विक्रि गर्दै आइरहेका छन् । प्रति गिलास सानोको ३० र प्रति गिसाल ठुलोको ५० रुपैयाँमा जुस विक्रि हुने गर्छ ।

युवाहरूका लागि प्रेरणा

जैसीको सफलताको कथा नेपालको हजारौं युवाहरूका लागि प्रेरणादायी छ । उनी भन्छन्, “देशमै अवसर खोज्ने हो भने विदेश जानु पर्दैन, आवश्यकता हो–दृढ अठोट, मेहनत र इमान्दारिता ।” जैसी अहिले सबै युवाका लागि स्वदेशमै पनि आत्मनिर्भर बन्न सकिन्छ, रोजगार सिर्जना गर्न र सम्मानका साथ बाँच्न सकिन्छ भन्ने गतिलो उदारणीय पात्र बन्न सफल भएका छन् ।