सुर्खेत । भनाई नै छ, ‘एउटी महिला शिक्षित हुनु भनेको सिङ्गो घर परिवार शिक्षित हुनु हो ।’ तसर्थ छोरीहरूलाई पनि उचित शिक्षा दिनुपर्छ । आत्मनिर्भरतापूर्वक जीवनयापन गर्ने वातावरण सिर्जना गर्नु अभिभावकको दायित्व हो ।
बेहुला पक्षका अभिभावकहरूले समेत एउटी शिक्षित बुहारीको अपेक्षा राख्नुपर्छ । सुन र दाइजोको लोभले बिहे गर्न खोज्ने पुरुषहरूको सङ्कुचित सोचमा समेत डँढेलो लगाउनुपर्छ । समाजमा भएका गलत संस्कारको बहिष्कार गर्नुपर्छ भन्ने सन्देश दिनको लागि वीरेन्द्रनगर सुर्खेतकी अस्मिता ढकाल र बुटवलका रामु ज्ञवालीले सुन र दाइजो विना नै विवाह गरेका छन् ।
विवाह भन्ने वित्तिकै धेरैको मानसपटलमा सुन र दाइजो आउने गर्छ । समाज तथा आफन्तजनलाई देखाउनकै लागि पनि दुलहीले धेरै सुनका गरगहनामा झकिझकाउ हुनुपर्ने गलत संस्कारको बहिष्कार गर्नका लागि सुन नलगाई विवाह गर्ने निर्णय गरेको नव दुलही ढकाल बताउँछिन् । सुन र दाइजो विना नै विवाह गरेका यो जोडी नेपाल सरकारको शाखा अधिकृत हुन् ।
कानुनी रुपमा सुन र दाइजो गलत मानिएपनि सामाजिक रुपमा भने देखासिखि गर्नै पर्ने संस्कारले जरा गाडेको अवस्था छ । तर ढकालले भने आफ्नो विवाहमा यी दुवै कुरा बहिस्कार गरेकी छन् । उनले सोमवार सम्पन्न विवाहमा सुन नलगाएरै विवाह गरेकी हुन् ।
अस्मिताले सुन र दाइजो विना विवाह गर्ने निधो पहिले नै गरेकी थिइन् । तर, उनका माइती र घर पक्ष भने राजी भएनन् । अन्तत ः दुवै पक्ष मान्न तयार भए ।
‘सुरुमा त मेरो कुरामा बुवाआमाहरु मान्न तयार हुनुभएन तर, मैले मनाएरै छाडे’ अस्मिताले भनिन्, ‘मैले विवाहमा सुन नलगाउनु मात्र ठूलो कुरा होइन तर, यसले दिने सन्देश समाजमा सकारात्मक जाओस् भन्ने हो ।’ निम्न वर्गका परिवारहरुलाई विवाहमा सुन जुटाउन आर्थिक रुपमा बोझिलो हुने गर्दछ त्यसकारण यस्ता परम्पराहरुको अन्त्य गर्नु जरुरी रहेको उनको भनाई छ । यसको सुरुवात आफैबाट गर्नु उचित हुँदा यसरी विवाह गर्ने निचोड गरेको उनले बताइन् ।
अस्मिताकी आमा यामकुमारी ढकालले छोरीको चाहना बमोजिम समाजमा सकारात्मक सन्देश दिनका लागि सुन नलगाएरै विवाह गरिदिएको बताइन् ।
आवाजपत्र । २२ आश्विन २०८१, मंगलवार १६:३६