सरकारलाई तत्तकाल पूर्णता दिन प्रदेश सभा सदस्यहरुको आग्रह

सुर्खेत । कर्णाली प्रदेश सरकारलाई छिटो पूर्णता दिन प्रदेश सभा सदस्यहरुले आग्रह गरेका छन् । सरकारले पूर्णता नपाउँदा सरकारका कामकार्वाही प्रभावित भएको भन्दै प्रदेश सभा सदस्यहरुले छिटो पूर्णता दिन आग्रह गरेका हुन् । केन्द्रको गठबन्धन परिवर्तन भएसँगै कर्णालीमा एमाले संसदीय दलका नेता यामलाल कंडेल मुख्यमन्त्रीमा नियुक्त भएको ११ दिन बितिसक्दा पनि मन्त्रिपरिषद् विस्तार हुन सकेको छैन् । चैत २७ गते कंडेल मुख्यमन्त्रीमा नियुक्त भए पनि एमाले र माओवादीबिच भागबण्डामा कुरा नमिल्दा अहिलेसम्म मुख्यमन्त्री कंडेल सरकारमा एक्लै सरकारमा छन् ।
शुक्रबार बसेको प्रदेश सभाको बैठकको विशेष समयमा बोल्दै प्रदेश सभा सदस्य वेदराज सिंहले तत्तकाल सरकारलाई पूर्णता दिनुपर्ने बताए । उनले भने, ‘डेढ महिनादेखि सरकारका कामकार्वाही प्रभावित भएका छन् । मुख्यमन्त्री नियुक्त भएको ११ दिन बितिसक्दा पनि मुख्यमन्त्री एक्लै हुनुहुन्छ । दिनादिन गर्नुपर्ने आवश्यक निर्णयहरु प्रभावित भएका छन् । तत्त्काल सरकारले पूर्णता पाहोस् ।’ उनले नवनियुक्त मुख्यमन्त्रीलाई बधाई तथा शुभकामना व्यक्त गर्दै सरकारलाई काँग्रेसले रचनात्मक सहयोग गर्ने पनि बताए ।
यस्तै प्रदेश सभा सदस्य कल्याणी खड्काले पनि सरकार फेरबदल हुँदा र पूर्णता नपाउँदा सरकारका कामकार्वाही प्रभावित भएको बताइन् । उनले सबै भन्दा बढी गरिब विपन्न वर्ग समस्या परेको उल्लेख गरिन् । उनले अहिले प्रदेशका आगलागी घटना भइरहेकाले पनि उद्धार,राहत र नियन्यन्त्रणका लागि सरकारले ध्यान दिन पनि आग्रह गरिन् ।

यस्तै प्रदेश सभा सदस्य घनश्याम भण्डारीले डेढ महिनादेखि सरकारका काम अघि बढ्न नसकेको बताए । उनले नयाँ मुख्यमन्त्री नियुक्त भए पनि अहिले बधाई र शुभकामना दिने काम मात्र भएको भन्दै सरकारलाई पुर्णता दिएर अघि बढ्न आग्रह गरे । उनले भने, ‘अहिलेको व्यवस्था माथि प्रश्न छ । डेढ महिनादेखि सरकारका कामकार्वाही अघि बढ्न सकेका छैनन् । बधाई र शुभकामना दिने काम मात्र भएको छ । अब सरकारकै रुपमा ग्रहण गर्ने गरी सरकार देखाउने वातावरण छिटो बनोस् ।’ प्रदेश सभा बैठक वैशाख १२ गते बुधबार दिउँसो ३ बजेसम्मका लागि स्थगित भएको छ ।