सुशासन र सेवा प्रवाह सम्बन्धमा कर्मचारी संगठनको ७ बुँदे कुपिण्डे दह घोषणापत्र जारी


सुर्खेत । नेपाल निजामती कर्मचारी संगठन, कर्णाली प्रदेशले विभिन्न महत्वपूर्ण निर्णय सहित सुशासन र सेवा प्रवाह सम्बन्धमा ७ बुँदे कुपिण्डे दह घोषणापत्र जारी गरेको छ । संगठनको पहिलो पदाधिकारी बैठकले शनिबार कुपिण्डे दह घोषणा पत्र जारी गर्दै सुशासन र सेवा प्रवाह सम्बन्धमा ७ बुँदे घोषण पत्र जारी गरेको हो ।
संगठनले सेवाग्राहीप्रति शिष्टाचारको रुपमा आफैबाट नमस्कार अभियायन सञ्चालन गर्ने पनि घोषणा गरेको छ । सरल सरकार, सहज सेवाको मान्यतालाई आत्मसाथ गर्दै संगठनले आफैबाट पहिलो नमस्कार अभियान सञ्चालन गर्न लागेको अध्यक्ष राजेश आचार्यले जानकारी दिए ।
सहभागितामूलक सेवाः सुशासनमा टेवा“ भन्ने अभियानलाई, सार्थकता प्रदान गर्न नीति तर्जुमा देखि कार्यान्वयन हुँदै प्रतिफल वितरणसम् आम नागरिक र सरोकारवालको सार्थक र अर्थपूर्ण सहभागिता गराउन “सेवाग्राही लाईनमा होइन अनलाइनमा“ भन्ने ध्येयलाई अवलम्बन गरिने संगठनले जनाएको छ ।
घोषणा पत्रमा संघ, प्रदेश र स्थानीय तहमा कार्यरत सबै राष्ट्रसेवक कर्मचारीहरुको सेवाको सुरक्षा, वृत्ति विकास, समय सापेक्ष सेवा सुविधा वृद्धि र उच्च मनोभावका साथ सेवा प्रवाह गर्ने कार्य वातावरण सिर्जना गर्न “एकीकृत सरकारी सेवाः विकास र समृद्धिमा टेवा“ भन्ने अभियान सञ्चालन गरिने, सार्वजनिक सेवामा आम नागरिकको समान पहुँचका लागि सार्वजनिक सेवालाई छिटो, छरितो, चुस्त, दुरुस्त, प्रविधिमैत्री, सर्वसुलभ र पारदर्शी बनाउन आम राष्ट्रसेवकहरुलाई अनुरोध गरिएको छ ।’
यस्तै, सार्वजनिक प्रशासनलाई समय सापेक्ष परिस्कृत बनाउँदै आम नागरिकले अनुभुत गर्ने गरी “शीघ्र सेवाः तिव्र विकास“ को अभियानलाई सञ्चालन गरिनेछ । सार्वजनिक प्रशासन भित्रः सुरक्षित कार्य क्षेत्र’ भन्ने अभियान सञ्चालन गरी पेशाकर्मीलाई सुरक्षित र मर्यादित वातावरणमा उच्च मनोबलका साथ सेवा प्रवाह गर्ने उचित कार्य वातावरण सिर्जना गर्न तीनै तहका सरकारलाई संगठनले अनुरोध गरेको छ ।
उच्च क्षमतामा काम गर्ने वातावरण सिर्जना गरी सामाजिक न्याय, दिगो शान्ति, सुशासन र विकास मार्फत “समृद्ध नेपालः सुखि नेपाली“ को राष्ट्रिय आकांक्षा पुरा गर्न आधार सिर्जना गर्न पहल संगठनबाट शुरुवात गरिएको आचार्यले जानकारी दिए ।

पेशागत हक हित र अधिकारको रक्षाका निम्ति ट्रेड युनियन अधिकारको सुनिश्चिता गर्न सरकारसँग माग संगठनको छ । संगठनले जिम्मेवारी र कर्तव्यबोधका साथ सेवा प्रवाहमार्फत कर्णाली प्रदेश सरकारको “समृद्ध कर्णालीः सुखारी कर्णालीबासी“ को अभियानलाई सार्थकता दिने प्रतिवद्धता व्यक्त गरेको छ ।