सामाजिक सञ्जाल नियमन विधेयक अनिवार्य छः मन्त्री गुरुङ

सुर्खेत । सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले नेपालमा प्रेस स्वतन्त्रताको दुरुपयोग हुँदै गएकोप्रति गम्भीर चिन्ता व्यक्त गरेका छन् । उनले प्रेस स्वतन्त्रताको दुरुपयोगलाई नियन्त्रण गर्न सरकारले नयाँ विधेयक ल्याउने तयारी गरिरहेको पनि बताए । सुर्खेतबाट प्रकाशित युगआह्वान राष्ट्रिय दैनिकको २५ औं रजत जयन्ती तथा “युग वर्ष सम्मान–२०८१“ समारोहलाई सम्बोधन गर्दै उनले सामाजिक सञ्जाल नियमन विधेयकलाई गलत ढंगले व्याख्या गरिएको भन्दै त्यसको गलत अर्थ नलगाउन आग्रह गरे ।

“नेपालमा प्रेस स्वतन्त्रता भन्नासाथ जस्तोसुकै कुरा बोलेर वा लेखेर उन्मुक्ति पाउने मानसिकता हावी हुँदै गएको छ,’’ मन्त्री गुरुङले भने, “प्रेस स्वतन्त्रताको नाममा अब अराजकता, अनुशासनहीनता र भ्रम फैलाउने प्रवृत्ति मौलाउँदै गएको छ, जुन लोकतन्त्रका लागि घातक हो ।’’

उनका अनुसार सामाजिक सञ्जालमार्फत जातीय सद्भाव खलल पर्ने, गलत सूचना फैलाउने, अनर्गल आरोप लगाउने प्रवृत्तिले समाजलाई विखण्डनतर्फ धकेल्ने खतरा बढेको छ । यसरी सामाजिक सञ्जालको दुुरुपयोगले नै साइबर अपराधमा पनि भयावह वृद्धि भएको उल्लेख गर्दै उनले भने, “हालसम्म ४० हजारभन्दा बढी साइबर अपराध सम्बन्धी उजुरी दर्ता भएका छन् । त्यसैले अब हामी सामाजिक सञ्जालको प्रयोगमा स्पष्ट कानुनी दायरा तोक्ने तयारीमा छौं ।’’

मन्त्री गुरुङका अनुसार सामाजिक सञ्जाल नियमनको विधेयकको मस्यौदा निर्माणको चरणमा पुगेको छ र सरकार त्यसलाई जसरी भए पनि अघि बढाउने पक्षमा छ । उनले भने, “यो विधेयक प्रेस स्वतन्त्रतामाथि हमला होइन, समाजमा फैलिरहेको अराजकतालाई व्यवस्थापन गर्ने संयन्त्र हो । अभिव्यक्ति स्वतन्त्रताको नाममा कोही पनि समाजमा नकारात्मक सोच र द्वेष फैलाउने छुट दिन सकिँदैन ।”

उनले पत्रकारहरुलाई जिम्मेवार र सत्यनिष्ठ पत्रकारितामा जोड दिँदै लोकतन्त्रको रक्षाका लागि सञ्चार क्षेत्रले आफ्नो मर्यादा कायम राख्नुपर्ने आवश्यकता औंल्याए । “सञ्चार माध्यम समाज निर्माणको संवेदनशील कडी हो, त्यसैले यसलाई जिम्मेवार बनाउँदै अगाडि बढाउनु आवश्यक छ,” उनले जोड दिए ।

यस्तै समारोहमा बोल्दै भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री विनोद कुमार शाहले हालको कर्णाली प्रदेश सरकार पूर्ण रूपमा सफल नदेखिए पनि केही सकारात्मक कामहरू अगाडि बढाइरहेको बताएका छन् । उनले सरकारका कमजोरीहरूलाई आलोचना गर्नु लोकतन्त्रमा स्वाभाविक भए पनि त्यसका राम्रा पक्षहरूलाई समेत उजागर गर्न संचार माध्यमले भूमिका खेल्नुपर्ने आवश्यकता औंल्याए ।

मन्त्री शाहले भने, “म भन्न चाहन्न कि कर्णाली सरकारले पूर्ण रूपमा सफलता हासिल गरिसकेको छ । तर, हामीले केही राम्रा प्रयासहरू गरेका छौँ, जसको समाजमा केही हदसम्म प्रशंसा पनि भएको छ ।’’ उनले संचार क्षेत्रबाट उठाइएका विषयवस्तुहरूलाई सकारात्मक रूपमा लिइरहेको भन्दै संचारकर्मीहरूलाई धन्यवाद दिए । “तपाईंहरूले उठाएका विषयहरू हाम्रो लागि गम्भीर ध्यानाकर्षण हुन् । हामीले सुधार गर्नुपर्ने ठाउँ छन्, र त्यो सुधारका लागि यस्ता पत्रकारिता पहलहरू आवश्यक छन् ।’’ मन्त्री शाहले भने ।

वीरेन्द्रनगर नगरपालिकाका नगरप्रमुख मोहनमाया ढकालले सञ्चार माध्यम समाज परिवर्तनको सशक्त हतियार भएको बताउँदै संचारकर्मीहरूप्रति सम्मान प्रकट गरेकी छन् । उनले पत्रकारहरूले विगतमा खेलेको भूमिकालाई प्रशंसा गर्दै आगामी दिनमा अझ प्रभावकारी र उत्तरदायी भूमिकाको अपेक्षा व्यक्त गरिन् ।

प्रमुख ढकालले भनिन्, “हामी परिवर्तनको संवेदनशील घडीमा छौं । यस्ता बेला संचारले समाजमा आशा, सूचना र चेतना फैलाउने मात्र होइन, नीति निर्माण र कार्यान्वयनमा समेत प्रत्यक्ष प्रभाव पार्ने क्षमता राख्दछ ।”

प्रमुख ढकालले जनप्रतिनिधिहरू, सञ्चारकर्मीहरू र नागरिक समाजबीच सहकार्य आवश्यक भएको उल्लेख गर्दै भनिन्, “हामी सबैले आ–आफ्नो क्षेत्रबाट जिम्मेवारी पूर्वक काम गरे मात्र समाज परिवर्तन सम्भव छ । संचारले उठाएका सरोकारका विषयहरू नीति निर्माण र कार्यान्वयनमा समावेश हुने वातावरण बनाउनेछौं ।” उनले नगरपालिकाले नागरिक अभिमुखी कार्यक्रमहरू संचालन गर्दै आएको र ती कार्यक्रमहरूको सफल कार्यान्वयनमा सञ्चारमाध्यमले महत्वपूर्ण सहयोग गरेको पनि बताइन् ।

त्यस्तै, उनले भनिन्, “पत्रिकामा प्रकाशित भएका खबरहरू हामीका लागि सुझाव र चेतावनी दुवै हुन् । यदि हामीबाट कमजोरी भयो भने सञ्चार माध्यमले उजागर गरोस्, सुधारका लागि हामी तयार छौं । त्यस्तै, राम्रो कामलाई हौसला दिने समाचार पनि समाजमा ऊर्जा दिन्छ ।”

समारोहमा युगआह्वान दैनिकका प्रकाशक तथा सम्पादक दीपक कुमार बुढाले पत्रिकाले कर्णाली क्षेत्रको सवाल उठाउँदै आएको बताए । उनले मध्यपश्चिम विश्वविद्यालय स्थापनाका आन्दोलनदेखि प्रदेश विभाजनसम्मका आन्दोलनमा पत्रकारिताको भूमिका रहेको स्मरण गरे ।उनले भने, “हामीले सानो भएपनि कर्णालीको समृद्धिको लागि एउटा इँटा थपेका छौं ।” उनले सरकारको खरिद ऐनले कर्णालीका मिडियालाई पन्छ्याउने गरेको गुनासो गर्दै नीति निर्माणमा सुधारको माग गरेका छन् ।

कर्णालीकै पहिलो युग आह्वान राष्ट्रिय दैनिकले विभिन्न कार्यक्रम गरी वार्षिकोत्सव मनाएको थियो। कार्यक्रममा विभिन्न ठाउँमा योगदान दिनेहरूलाई युग सम्मान २०८२ ले सम्मान समेत गरिएको थियो।