सुर्खेत । कर्णाली प्रदेश सरकारले नागरिकहरुको निजी आवासीय घरको बीमा गरेको छ । प्राकृतिक विपद् लगायतको भवितव्यको कारणबाट हुने क्षति र नोक्सानीको आर्थिक सुरक्षाको प्रत्याभूत गर्न नागरिको घरको बीमा गरेको हो ।
सोमबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आयोजित घरको बीमा शुभारम्भ कार्यक्रममा स्थानीय तहलाई बीमा पोलिसि हस्तान्तरण गरिएको हो । मुख्यमन्त्री यामलाल कंडेलले बीमामा सहभागी भएका स्थानीय तहलाई बीमा पोलिसी हस्तारुन्तरण गरेका हुन् ।
मुख्यमन्त्री कंडेलले कर्णाली प्रदेश प्राकृति विपद्को उच्च जोखिमको रहेको र यहाँका नागरिकले विपद्का कारण वर्षेनी जनधनको क्षति व्यहोर्नु परेको अवस्थालाई मध्यनजर गर्दै नागरिकको घर बीमा कार्यक्रम संचालनमा ल्याइएको बताए । उनले भने, ‘यो कार्यमा हामी सबै सहकार्य गरेर अघि बढ्नुपर्ने हुन्छ । बीमाको बारेमा जनचेतना जगाउन र नागरिकलाई सुरक्षित बाटोमा जान सहयोग पुग्छ ।’ उनले कर्णालीका सबै स्थानीयहसँग सहकार्य गरेर कार्यक्रम लागू गर्ने बताए ।
यसअघि प्राकृतिक विपदबाट हुने मानवीय क्षतिको लागि सामुहिक दुर्घटना बीमा कार्यान्यवन गरेको सरकारले अहिले घरको पनि बीमा गरेको हो । घर बीमा कार्यक्रम सम्बन्धी कार्यविधि २०८१ गत फागुन १३ गते मन्त्रीपरिषद्बाट स्वीकृत भइ घर बीमा कार्यक्रममा आवद्ध हुन प्रदेशका स्थानीय तहलाई गत चैत्र २२ गते १५ दिने सूचना प्रकाशित गरेको थियो । सोही सूचनाको आधारमा कर्णालीका १० जिल्लाका २३ वटा स्थानीय तहले प्रतिबद्धतासहित आन्तरिक मामिला तथा कानून मन्त्रालयमा प्रतिवद्धतासहितको पत्राचार गरेका थिए ।
नेपाल बिमा प्राधिकरणले छनौट गरि पठाएका २३ वटा स्थानीय तहमा २३ बटा बीमक कम्पनी खटाई निजी आवासको मूल्यांकन शुरु गरिएएको थियो । स्थानीय तहसँगको सहकार्यमा बीमक कम्पनीद्धारा घरको मूल्यांकन गरि सम्बन्धित स्थानीय तहको सिफारिससहित विवरण पठाएका १५ वटा स्थानीय तहका १६ हजार ७२ घरको घर बीमा गरि पोलिसी जारी भएको हो ।
आन्तरिक मामिला तथा कानून मन्त्रालयका अनुसार प्रतिघर अधिकतमा २० लाखसम्मको बीमा गरिएको छ । प्रिमियम वापत घरको मूल्यांकन अनुसार कम्तीमा रु १०० देखी अधितम एक हजार १२५ सम्म प्रिमियम भुक्तानी भएको मन्त्रालयले जानकारी दिएको छ ।
कर्णाली प्रदेश सरकारले आर्थिक वर्ष २०८१ ÷०८२ मा रु ४ करोड ५० लाख बजेट विनियोजन गरेको थियो । त्यस मध्य ९८ लाख २४ हजार ८ सय ९३ खर्च भएको मन्त्रालयले जनाएको छ । चालु आर्थिक वर्ष ०८२÷०८३ मा घर बीमा कार्यक्रममा रु ३ करोड ५० लाख विनियोजन रहेको । आघिल्लो आर्थिक वर्ष घर बीमामा समाबेश नभएका स्थानीय तहलाई चालु आर्थिक वर्षमा समावेश गरिने मन्त्रालयले जनाएको छ ।
कार्यविधिका अनुसार भूकम्पबाट हुने क्षति, अग्नीजन्य, हावाजन्य, पानीजन्य, भूमिजन्य, खस्ने वा भासिने सम्बन्धी जोखिम, चटयाङगजन्य जोखिम, आकाशिय सामाग्रीजन्य जोखिम, धक्काजन्य जोखिम, स्वजलन सम्बन्धी जोखिम, बाढी तथा डुवावानबाट क्षतिग्रस्त घर, हुलदंगा तथा आतंकवादजन्य जोखिम, अन्य प्राकृतिक विपद्को कारणले क्षतिग्रस्त घरको बीमा रकम भुक्तानी हुने छ ।
अहिले घर बीमा पहिलो चरणमा शारदा नगरपालिका सल्यानमा चार हजार ७०७ , ठाँटीकाध गाँउपालिका दैलेखमा ५२६, गुर्भाकोट नगरपालिका सुर्खेतमा ९१६, लेकबेशी नगरपालिका सुर्खेतमा २६५, बराहताल गाँउपालिका सुर्खेतमा दुई हजार ४६, रुकुमपश्चिमको त्रिवेणी गाँउपालिकाका ३३९ र सानीभेरी र्गाँउपालिकाका २१२, कालिकोटका तिलागुफा नगरपालिकाका ६५५, पलाता गाउँपालिकाका ६४३ र महाबै कालीकोटका ६८० घरको बीमा गरिएको हो ।
यस्तै डोल्पाको जगदुल्ला गाउँपालिकाका ६४०, जुम्लाको सिजा गाँउपालिकाका एक हजार ५४५, हुम्लाको खार्पूनाथ गाउँपालिकाका ६६१, मुगुको छाँयानाथ रारा नगरपालिकाका एक हजार ३११ र जाजरकोटको बारेकोट गाउँपालिकाका ७३३ घरको बीमा गरिएको हो ।
फोटो क्याप्सनः नागरिकको घर बीमा पोलिसि स्थानीय तहलाई हस्तारुन्तरण गर्दै मुख्यमन्त्री कंडेल । तस्बिरः मुना हमाल ।
आवाजपत्र । १२ श्रावण २०८२, सोमबार १६:०७