सुर्खेत । कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा ‘रोजगार मेला’ सञ्चालन हुने भएको छ । रोजगारी दिने र रोजगार खोज्नेहरुबीचको मिलानका लागि रोजगार मेलाको आयोजना गर्न लागिएको हो । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोलप्रसाद अर्यालले शनिवार वीरेन्द्रनगरमा पत्रकारसंग छलफल गर्दै वीरेन्द्रनगरमा ‘रोजगार मेला’ सञ्चालन गर्न लागिएको जानकारी दिएका हुन् ।
मन्त्री अर्यालका अनुसार ‘रोजगार मेला’ जेठ २५ र २६ गते सञ्चालन हुनेछ । मन्त्री अर्यालले आन्तरिक रोजगारलाई प्रवर्धन गर्नका लागि मेलाको आयोजना गर्न लागिएको बताए । उनले भने, पछिल्लो समय धेरै युवाहरु रोजगारका लागि विदेशिनु भएको छ, युवा लक्षित गरेर रोजगार मेलाको आयोजना हामीले सात वटै प्रदेशमा सञ्चालन गर्दैछौ, यसले थोरै भए पनि युवालाई आफ्नै देशमा रोजगारी पाउने वातावरण सिर्जना हुनेछ ।’
यस्तै मन्त्री अर्यालले रोजगारका लागि विदेश पठाउने नाममा कोही पनि युवा ठगिएको भए मन्त्रालयको पैसा नलाग्ने नम्बर ११४१ मा फोन गरेर आफ्ना समस्या बताए समस्याको समाधान गरिने समेत जानकारी दिए । उनले भारतमा रोजगारीका लागि जाने नेपालीहरुको तथाङ्क संकलन गर्ने काम पनि भइरहेको बताए । प्रधानमन्त्री रोजगार कार्यक्रमलाई परिवर्तन गरेर सीप मुलक कार्यक्रमको आयोजना गरिने मन्त्री अर्यालले जानकारी दिए । यसअघि प्रधानमन्त्री रोजगारको नाममा बजेटको दुरुपयोग भएको भन्दै उनले अब काम होइन युवालाई सीप सिकाउने कार्यक्रम लागु गर्ने बताएका छन् ।
आवाजपत्र । ५ जेष्ठ २०८१, शनिबार १९:१०