गीता थापा
सुर्खेत । केही समय पहिला युवाको रोजाइमा नपरेको कृषि पेशामा अहिले विस्तारै युवाहरू आकर्षित हुन थालेका छन् । ‘सुरुवात आफैँबाट गरौँ, परिवर्तन सम्भव छ,’ भन्ने सोचका साथ दिपेन्द्र कार्की व्यावसायिक कृषि क्षेत्रमा रमाउन थालेको १७ वर्ष भयो । पढेको लेखेको युवाले माटो, गोठ, गोवर अनि गाईवस्तु छुन हुन्न भन्ने विचार विरेन्द्रनगर–९ लाटिकोइली सुर्खेतका कृषि व्यवसायी दिपेन्द्र कार्कीले बदली दिएका छन् । पछिल्लो समय कक्षा १२ पढेर सक्ने वित्तिकै विदेश जाने युवाको लर्काे लाग्ने गर्छ । तर १४ महिना इजरायलमा बसेर आफ्नै ठाउँमा फर्केका कार्की अहिले कृषि पेशामा रमाउन थालेका छन् ।
२०१६ सालमा इजरायल पुगेका कार्कीले त्यहाँको कृषि प्रणाली बुझे, पशुपालन, तरकारी खेती कसरी गर्ने भनेर सिकेर अहिले आफ्नै ठाउँमा गाई पालन र तरकारी खेती गर्दै आइरहेका छन् । हुन त उनले इजरायल जानु भन्दा अघि नै घरमै गाई फार्म खोली सकेका थिए । इजरायलमा कृषि सम्बन्धी आफुले सिकेको र जानेको कुरा अहिले आफ्नै गाई पालन र तरकारी खेतीमा प्रयोग गर्दै आइरहेका छन् ।
कार्कीले गाईपालन १७ वर्षदेखि गर्दै आए पनि तरकारी खेती गर्न थालेको भने १३ वर्ष भयो । अहिले उनले कोपिला एग्रिकल्चर एन्ड लाइभस्टक प्रा.लि.को रुपमा आफ्नो फार्म दर्ता गरी २४ वटा गाई पालनसंगै २ विगा जग्गा भाडामा लिएर तरकारी खेती गर्दै आएका छन् । ३२ लाख रुपैयाँ व्यक्तिगत लगानीमा उनले गाई पालन र तरकारी खेती सुरु गरेका हुन् ।
कार्कीले अहिले दैनिक रुपमा १ सय १० लिटर दुध विक्रि गर्दै आएको बताउछन् । ८० रुपैयाँ लिटर दुध विक्रि हुन्छ, उनले भने, ‘गाई पालन र तरकारी खेतीबाट राम्रै आम्दानी भएको छ, यो पेशाबाट एकदमै सन्तुष्ट छु ।’
कार्की भन्छन्, ‘दुई व्यवसायलाई एकसाथ सञ्चालन गर्न केही गाह्रो भए पनि यी व्यवसाय एक अर्कोका परिपुरक हुन्, सबैभन्दा ठुलो र उपयोगी फाइदा भने टनेलबाट निस्कने घाँसपात गाईवस्तुको लागि र गाईवस्तुका मलको उपयोग तरकारीमा भइरहेको छ ।’ सोही कारण पनि उनले आफ्नो फार्मलाई प्राङ्गारिक फार्मको रुपमा स्थापना गर्न सकेका छन् ।
गाईको गोवरबाट उनले प्राङ्गारिक मल उत्पादन पनि गर्ने गर्छन् । उनले एक वर्षमा ८५ टन प्राङ्गारिक मल उत्पादन गर्ने गरेको बताए । होलसेलमा प्रति किलो २० र फुटकरका २५ रुपैयाँमा मल विक्रि वितरण गर्ने गरेको उनले बताए ।
उनले अहिले ३ जनालाई रोजगारी समेत दिएका छन् । कामदारको काम र दक्षता हेरेर १० देखि २२ हजारसम्म तलव दिने गरेको उनले बताए । उनले भने, ‘एक महिनामा गाईलाई दाना पानी र कर्मचारीलाई तलव दिएर ८० हजार रुपैयाँ बचाउने गरेको छु, महिनामा ८० हजार बचत गर्न सके किन जानु प¥यो विदेश ।’ कार्कीले अहिले स्थायी प्रकृृतिका १० वटा टनेलमा बेमौसमी तरकारी, टमाटर, बोडी, सिमी लगाएका छन् ।
यस्तै ६ कट्ठा जग्गामा फुल लगाएका छन् । तर पछिल्लो समय तरकारी बालीमा नयाँ नयाँ किसिमको रोग किरा देखा पर्ने हुँदा तरकारी उत्पादनमा कमी भएको कार्की बताउँछन् । कार्की कृषि क्षेत्रमा रहेको प्रचुर सम्भावनालाई आत्मसाथ गर्न उनी युवाहरूमा आग्रह गर्छन् । देशको समृद्धि कृषिबाट नै रहेको र युवाले कृषिमा क्रान्ति ल्याउनलाई अहम् भुमिका खेल्ने उनको भनाई छ ।
यस्तै वीरेन्द्रनगर २ दौलतपुरका गोपालराज सुनारले २ बिगाहा जग्गामा धानबाली तथा तरकारी खेती गर्दै आइरहेका छन् । उनले आफ्नो मुख्य आय–आर्जनको स्रोतका रूपमा कृषि पेशा बनाएका छन् । कुनैबेला विदेशिएका साथीभाइको प्रगति देखेर मन बदल्न खोजेका गोपालले अहिले घरमै बसेर राम्रो आम्दानी गरेका छन् ।
‘मलाई जलवायुमैत्री कृषि गर्न वीरेन्द्रनगर नगरपालिकाको कृषि शाखाबाट सहयोग भएर हो, नगरले स्थायी टनेल बनाउनका लागि आर्थिक अनुदान दियो यसले कृषिमै भविष्य देख्ने बनायो,’ गोपाल भन्छन्, ‘अहिले एक सिजनमा ६० हजार आम्दानी हुन्छ ।’
उनीसँग अहिले पाँच वटा पक्की टनेल र दुइटा कच्ची टनेल छन् । जसमा साग, काउली, भ्यान्टा, सिमी, बोडी, टमाटर, खुर्सानी र च्याउँ लगाएका छन् । बेमौसमी तरकारी खेती गरेरै उनले मनग्ये आम्दानी गरिरहेका छन् । २०७४ सालदेखि तरकारी व्यवसायमा लागि परेका गोपाल थोरै लगानीमा पनि राम्रो आम्दानी गर्न सकिने बताउँछन् ।
गोपालले आफुले लगाएको तरकारीमा हाल्न गड्यौला मल पनि बनाउने गर्ने गर्छन् । यस्तै झोल मल कीरा नियन्त्रणका लागि उत्तम औषधी भएको उनी बताउँछन् । बजारमा पाइने विभिन्न किटनाशक विषादी प्रयोग उनले गर्दैनन् । गोपालले भने, ‘विषादी प्रयोग नगरेर तरकारी फलाउँदा बजार खोज्न पनि जानु पर्दैन, घरबाटै बिक्री हुन्छ ।’ उनले फलाएका तरकारीमा विषादीको प्रयोग नभएको उनी बताउँछन् । स्वस्थकर तरकारी उत्पादनले झन् बढी आम्दानी दिने र माटोको उर्वराशक्ति कमजोर पनि नहुने उनी बताउँछन् ।
दिपेन्द्र र गोपालराज जस्तै वीरेन्द्रनगर–१० नयाँगाउका कृषक ज्ञानबहादुर चौधरी पनि अहिले व्यावसायिक च्याउँ खेतीमा रमाइरहेका छन् । उनलाई च्याउँ खेती गर्नका लागि वीरेन्द्रनगर नगरपालिकाले विउ उपलब्ध गराएको थियो । चौधरी भन्छन्, ‘दैनिक ७ किलोसम्म च्याउँ बेच्छु, सिजनमा क्विन्टल आलु, प्याज, धनिया, लसुन र खुर्सानी बेचिरहेको छु, घरखर्च यहीँबाट पुग्छ ।’ प्रतिकिलो ३ सय रुपैयाँमा च्याउँ विक्रि गर्ने गरेको उनले बताए । उनले धान तथा तरकारी खेतीमा आफैले तयार पारेको गोठेमल हाल्ने गरेको बताए । उनले पनि तरकारीमा विषादीको प्रयोग भने गर्दैनन् । ज्ञानबहादुर भन्छन्, ‘पछिल्लो समय युरिया जस्ता विषादीले धान तथा तरकारीको उत्पादन त बढाएको छ, तर, मानव स्वास्थ्यमा नराम्रो असर परिरहेको छ, ।’
जलवायुमैत्री कृषि प्रविधि प्रवद्र्धन गर्न र किसानहरूको जीविकोपार्जनमा सुधार ल्याउका लागि वीरेन्द्रनगर नगरपालिका सुर्खेतले किसानलाई अगार्निक तरकारी खेती गर्नका लागि विभिन्न कार्यक्रम ल्याएको नगरपालिकाको कृषि विकास शाखाका कृषि अधिकृत निशा केसीले जानकारी दिइन् । नगरपालिकाले नगरका १६ वटै वडामा कृषि क्षेत्र पकेट पहिचान गरी तरकारी खेती गर्न सहयोग गर्दै आइरहेको उनले बताइन् । शहरी क्षेत्रमा कौशी खेती, ग्रामीण भेगमा तरकारी खेती प्रवद्र्धन कार्यक्रमहरु गर्दै आएको उनको भनाई छ । विउ विजन वितरण गर्ने, पक्की टनेल निमार्णमा ५० प्रतिशत अनुदान दिने गरेको केसीले बताइन् ।
आवाजपत्र । १५ आश्विन २०८१, मंगलवार १३:०१