ड्रागन फ्रुट खेतीतर्फ आर्कषित हुँदै सुर्खेतका किसान

गीता थापा

सुर्खेत । सुर्खेतमा ड्रागन फ्रुटको सम्भावनाले किसानहरूलाई नयाँ आशा दिएको छ । पछिल्लो समय यहाँका किसान ड्रागन फ्रुट खेती तर्फ आर्कषित हुँदै गएका छन् ।

  

वीरेन्द्रनगर–८ का कृष्ण अधिकारी विगत चार वर्षदेखि ड्रागन फ्रुट खेती गर्दै आएका छन् । कोरिया पढ्न गएका अधिकारी पढाईसकेर नेपाल फर्केपछि काठमाडौंमा कोरियन भाषा पढाउन सुरु गरे । तर पनि उनलाई आफ्नै माटोले तान्यो । कृषि पेशामा केही गर्छु भन्ने हुडहुडीले ड्रागन फ्रुटको खेती सुरु गरे । अहिले उनको आम्दानीको स्रोत नै ड्रागन फ्रुट बनेको छ । ४० लाख लागत लागेको बताउदै उनले अहिले ड्रागन फ्रुटसंगै कुरिलो, फुल र मौरी पालन पनि गरेको बताए ।

अधिकारीले वीरेन्द्रनगर ११ ग्रागेतालमा २३ कट्ठा जमिन भाडामा लिएर कर्णाली ड्रागन कृषि तथा पशुपक्षी फर्म श्रीमति सुमना अधिकारीको नाममा दर्ता गरी व्यावसायिक खेती सुरु गरेका हुन् । फर्ममा उनलाई उनको श्रीमति सुमनाले पनि सघाउँदै आइरहेकी छन् । उनले २० कट्ठा जग्गामा ड्रागन फ्रुट र बाँकी जग्गामा कुरिलो, फुल र मौरी पालन गर्दै आइरहेको बताए । सुरूवातमा ७५० पोलमा ३ हजार ड्रागनका बिरुवा लगाएका अधिकारीको फार्ममा हाल ९ सय पोलमा ३ हजार ६०० बेर्ना उत्पादन मूलक बनेका छन् । विरुवाले एक वर्षमा नै उत्पादन दिने हुँदा लगानी पनि छिटो उठ्ने गरेको अधिकारी बताउँछन् ।

उनले भारतबाट ‘सियाम रेड’ जातका ड्रागनका बेर्ना ल्याएर खेती सुरु गरेका थिए । वार्षिक १ लाख रुपैयाँ भाडा तिर्ने उक्त जमिन अहिले अधिकारीको आम्दानीको स्रोत बनेको छ । ड्रागनको उत्पादन जेठदेखि मंसिरसम्म हुने गर्दछ । कोपिला आएको ३५ दिनमै फल बजार पठाउन सकिन्छ ।

यो वर्ष पहिलो सिजनमा १५० केजी फल उत्पादन भइसकेको अधिकारीले जानकारी दिए । दोस्रो सिजनको फल पनि बजार पठाउन सुरु भइसकेको छ । यस सिजनमा २० क्विन्टलभन्दा बढी उत्पादन हुने अधिकारी बताउछन् ।

गत वर्ष उनले ६० क्विन्टल फल बिक्री गरेर २२ लाख रुपैयाँ आम्दानी गरेको बताए । यस वर्ष उत्पादन बढेर १०० क्विन्टल पुग्ने अनुमान गरिएको छ, जसबाट करीब ३० लाख रुपैयाँको कारोबार हुने अपेक्षा छ ।

खुद्रा बजारमा प्रति केजी ४ सय र थोकमा ३ सय ५० रुपैयाँमा बिक्री हुँदै आएको ड्रागनको माग दिनानुदिन बढ्दो छ । एक पटक लगाएको ड्रागनको विरुवाले २० वर्षसम्म फल दिने गर्छ ।

ड्रागन खेतीसँगै उनले कुरिलो खेती पनि गरेका छन् । चैतदेखि भदौ महिनासम्म फल दिने यो वनस्पति एकपटक लगाइएपछि १० वर्षसम्म उत्पादन दिन्छ ।

यस वर्ष मात्रै कुरिलो विक्रि गरेर उनले ६० हजार रुपैयाँ आम्दानी गरेको बताए । कुरिलो प्र्रति केजी ६ सय रुपैयाँमा विक्रि हन्छ ।
त्यसैगरी, मौरीपालन सुरु गर्नका लागि परीक्षणमा ३ घार मौरी राख्नु भएको अधिकारीले यस वर्ष मौरीको घार विस्तार गरी ६० वटा पु¥याउने बताए । उनले भने, ‘‘अहिले मौरी परीक्षणका लागि ३ घार मात्र राखेका छौ । उत्पादन राम्रै हुने रैछ । यस वर्ष मौरीको घार ६० सम्म पु¥याउने तयारी छ ।’’

कृषिमा आत्मनिर्भर हुँदै जानुभएको अधिकारीले फर्ममा एक जनालाई स्थायी रोजगारी पनि दिएका छन् । उनलाई मासिक १७ हजार रुपैयाँ तलब दिने गरेको अधिकारीले बताए ।

त्यसैगरी, ड्रागन र कुरिलोका बिरुवा उत्पादन र बिक्रीबाट पनि राम्रो आम्दानी भएको छ । उनले यस वर्ष मात्र १ लाख ५० हजार रुपैयाँको बिरुवा बिक्री गरिसकेको बताए ।

अधिकारीका अनुसार ड्रागन खेती अत्यधिक श्रम नचाहिने, तर दीर्घकालीन आम्दानी दिने पद्धति हो । “एकपटक लगाएको बिरुवाले २० वर्षसम्म फल दिन्छ,” उनी भन्छन्, “गर्मी हावा र पानी भएको ठाउँमा उत्पादन अझ राम्रो हुन्छ ।” गोडमेल वर्षमा ३ पटक र मलपानी २ पटक गर्नुपर्ने भए पनि कम्पोस्ट मलको प्रयोगले खर्च घटेको र माटो उब्जाउ भएको उनी बताउँछन् ।

स्तै कृष्ण जस्तै वीरेन्द्रनगर–१२ सुर्खेतकी पद्मा रावत पनि ड्रागन फ्रुटको खेतीमा रमाउन थालेको ५ वर्ष भयो । २०७७ मा मालिका कृषि तथा ड्रागन फ्रुट फर्म स्थापना गरी उनका श्रीमान बीरबहादुर बुढाले सुरु गरेका थिए ।

बीरबहादुर ड्रागनको बेर्ना लिन २०७७ चैतको अन्त्यतिर भारतको गुजरात पुगे । त्यति बेला भारतमा दोस्रो लहरको कोरोना सङ्क्रमणको निकै ठूलो त्रासदी थियो । भारतमा कोरोना व्यापक रूपमा फैलिँदै गएपछि वैशाखमा नेपालमा पनि लकडाउन गरिएको थियो । विश्वव्यापी महामारीका रूपमा फैलिएको कोरोना सङ्क्रमणका कारण बीरबहादुरको २०७८ वैशाख १७ गते मृत्यु भयो ।

श्रीमान गुमाएपछि फर्मको सबै जिम्मेवारी श्रीमति पद्माको काँधमा आइप¥यो । उनका श्रीमान्ले करिव ५० लाखको एकल लगानीमा २३ कठ्ठा जमिन भाडामा लिई सुरु गरेको ड्रागन फ्रुटको खेती पद्माले अगाडी बढाइन् । उनी भन्छिन्, ‘‘श्रीमान्को सपना थियो । ड्रागन फ्रुटको खेती गर्ने उहाँको सपना पुरा गर्न पनि मैले काम अगाडी बढाएको हो ।’’ उनको काममा दुई छोरी र एक छोराले पनि साथ दिँदै आइरहेका छन् ।

६५० पोलमा २ हजार ६०० विरुवाबाट सुरु गरिएको ड्रागन फ्रुटको खेती अहिले १ हजार ४०० पोलमा ५ हजार ६०० विरुवा छन् । वार्षिक तीन लाख रुपैयाँ भाडा तिर्ने गरी लिजमा लिएको यो जग्गा १५ वर्षका लागि सम्झौता गरिएको पद्माले बताइन् ।

यस वर्षको पहिलो सिजनको ड्रागन बजार पठाउन सुरु भएको छ । अहिलेसम्म २ क्वीटल ड्रागन फ्रुट विक्रि गरिसकेको पद्माले बताइन् ।ड्रागन फ्रुटले वर्षमा ७ देखि ८ पटकसम्म उत्पादन दिन्छ । एउटा खम्बामा चार वटाको दरले विरुवा रोप्ने गरिन्छ । उनले भनिन्, ‘‘ड्रागन फ्रुटको मुल्य अहिले घटेको छ, पहिला जस्तो अहिले आम्दानी हुँदैन तर पनि आफुलाई घरखर्च र छोरा छोरीको पढाई खर्च पुगेकै छ ।’’ उनले थपिन्, ‘‘पहिला सुरुवातमा व्यावसायिक ड्रागन फ्रुटको खेती गर्ने किसान कम हुनुहुथ्यो । अहिले धेरै भइसक्नुभयो त्यसले एकै पटक फल उत्पादन हुने हुँदा प्रतिस्पर्धामा बजारमा जाँदा मुल्य घटेको छ । पहिला ८ सय रुपैयाँ केजी विक्रि हुने ड्रागन अहिले ४ सयसम्म झरेको छ ।’’ अहिले प्रतिकेजी होलसेलमा ३५० र खुद्रा मुल्य ४०० सम्म विक्रि वितरण गर्दै आइरहेको उनले बताइन् ।

वर्षमा ६ लाखसम्म आम्दानी हुने गरेको पद्मा बताउँछिन् । धेरै विरुवा नयाँ रोपिएकोले फल कम उत्पादन भएको उनको भनाई छ । उनले भनिन्, ‘‘नयाँ रोपेको विरुवाले फल दिने समय नभएकाले आम्दानी पनि कम छ ।’’ ड्रागन फ्रुटको विरुवा विक्री गरेर वर्षमा ३ लाख छुट्दै आम्दानी हुने पद्मा बताउँछिन् । साथै उनले फर्ममा तरकारी, फुलका बेर्ना समेत लगाउने गरेको बताइन् । उनले कुखुरा र बाख्रा पालन पनि गरेकी छन् । उनी भन्छिन्, ‘‘फर्मबाट निस्केको घाँस बाख्रालाई हुन्छ । त्यसैले कुखुरा र बाख्रा पनि पालेको छु ।’’

कर्णाली ड्रागन उत्पादन महासंघ कर्णाली प्रदेशका अध्यक्ष महेन्द्र खनालले पछिल्लो समय सुर्खेतका किसान ड्रागन खेती तर्फ आर्कषित भएको बताए । उनका अनुसार अहिले सुर्खेतमा ४५ जना किसानले ड्रागन फ्रटको खेती गर्दै आइरहेका छन् ।

उनले करिव ७० हेक्टर क्षेत्रफलमा ड्रागन फ्रटको खेती भइरहको बताए । ड्रागनको उत्पादन एकै पटक हुने भएकाले किसानलाई बजारीकरणको समस्या हुने गरेको उनको भनाई छ ।

खनालका अनुसार हाल उत्पादन भएको ड्रागन सुर्खेतमै विक्रि हुनुका साथै नेपालगञ्ज र काठमाडौंसम्म पठाइने गरिएको छ ।

सरकारी तथा निजी क्षेत्रको सहकार्यमा बजार पहुँच, भण्डारण सुविधा र प्रविधिको पहुँच सुनिश्चित गरिएमा ड्रागन फ्रुट खेतीले कर्णाली प्रदेशको कृषि व्यवसायलाई नयाँ उचाइमा पु¥याउन सक्ने अध्यक्ष खनाल बताउँछन् ।

रासस