सुर्खेत । कर्णाली प्रदेशका भुमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री एवं सरकारका प्रवक्ता विनोदकुमार शाहले राष्ट्रिय धान दिवसको शुभकामना दिएका छन् । मन्त्री शाहले शनिबार २१ औं राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव, २०८१ को शुभकामना दिएका हुन् । मन्त्री शाहले जारी गरेको शुभकामना सन्देशमा नेपालको प्रमुख खाद्यन्न बाली धान भएको र जसले खाद्य सुरक्षामा महत्वपूर्ण स्थान ओगटेकोका धान बालीले आर्थिक, साँस्कृतिक र धार्मिक महत्व राखेको बताएका छन् ।
उनले लेखेका छन्, धानको उत्पादन बृद्धि, आधुनिकीकरण, यान्त्रीकरण र व्यवसायीकरणलाई प्रवर्द्धन गर्ने हेतुले वि.सं. २०६१ देखि नियमित रूपमा प्रत्येक वर्ष असार १५ मा राष्ट्रिय धान दिवस तथा रोपाई महोत्सव मनाउने गरिएको छ । यसै सन्दर्भमा यस वर्ष जलवायु मैत्री कृषि, धान उत्पादनमा बृद्धि भन्ने नाराका साथ २१ औं राष्ट्रिय धान दिवस तथा रोपाई महोत्सव, २०८१ विभिन्न कार्यक्रमहरु सहित मनाइएको छ ।
यस्तै, शाहले जलवायु परिवर्तनको कारण धान खेतीमा बढ्दो नकरात्मक असरलाई न्यूनीकरण गर्न जलवायु अनुकूलित प्रविधिहरुको अनुसन्धान र विकास एवं उपलब्ध प्रविधिहरुको प्रचार(प्रसार गरी तिनको अवलम्बन गर्न कृषक पक्षहरुलाई सचेत र जागरुक बनाई धान उत्पादन एवं उत्पादकत्व बढाउनुपर्ने उल्लेख गरेका छन् ।
साथै उनले प्रत्येक वर्ष असार १५ को दिनलाई नेपालमा राष्ट्रिय धान दिवस तथा दही चिउरा खाने दिन र हिलो अनि हरियालीका साथ असार महिनालाई मानो रोपेर, मुरी उब्जाउनेु महिनाको रूपमा समेत लिने गरिएको बताए । साथै रोपाई जात्रा, हिलो खेल्ने, दही चिउरा खाने जस्ता नामले मनाउने परम्परा रहि आएको छ ।
यस्तै, मन्त्री शाहका अनुसार कर्णाली प्रदेशमा कुल ४१,९०४ हेक्टर जमिनबाट करिब १,४५,०६३ मेक्टिटन धान उत्पादन हुँदै आएको र धान बालीको उत्पादन तथा उत्पादकत्व बृद्धिलाई प्रदेश सरकारले प्राथमिकतामा राखेर अगाडी बढेको छ ।
आवाजपत्र । १६ असार २०८१, शनिबार १६:५८