सुर्खेत । कर्णाली प्रदेशका नवनियुक्त मुख्यमन्त्री यामलाल कंडेलले स्रोत र साधनको सही सदुपयोग नहुँदा फालाफालको स्थित भएको भन्दै त्यसलाई सच्चाउने र बदल्ने आफ्नो पहिलो प्राथमिकता रहने बताएका छन् । मुख्यमन्त्री बनेसँगै पहिलो पटक बिहिबार प्रदेश सभाको बैठकमा बोल्दै मुख्यमन्त्री कंडेलले प्राप्त स्रोत साधनको समयमै सही सदुपयोग नहुँदा फालाफालको अवस्था रहेको उल्लेख गर्दै यसलाई सच्याएर अघि बढ्ने बताएका हुन् ।
उनले भने, ‘कर्णालीमा जति स्रोत साधन हुनुपर्ने हो, त्यो नभए पनि जति हामीले प्राप्त गरेका छौँ , त्यसलाई समयमै प्रयोग नगर्दा फालाफालको अवस्था छ । यसलाई बदल्ने र सच्चाउने मेरो पहिलो प्राथमिकता रहने छ ।’ उहाँले सबै प्रदेश सभा सदस्यहरु सहमत भए कतिपय नीतिहरु पनि पुर्नविचार गर्नुपर्ने आवश्यक रहेको भन्दै विकासको गति निर्माण गर्न सकिने औंल्याए ।
उनले जनताको अपेक्षा भरोसा र विश्वासलाई स्थापित गर्न सन्तुलित विकासको अवधारणा, योजना र बजेट छान्न आवश्यक रहेको बताए । मुख्यमन्त्री कंडेललले भन्ने स्थानबाट गर्ने स्थानको नेतृत्वदायी भूमिका रहेको भन्दै सबैको सामुहिक अभियानबाट अघि बढ्ने बताए । उनले अहिले अवस्थाको बारेमा बुझ्ने प्रक्रियामा रहेको त्यस पछि आफ्ना सोचहरु सार्वजनकि गर्ने जानकारी दिए ।
उनले परिणाम नल्याउँदा जनतामा निराश छाएको उल्ल्ेख गर्दे थोरै भए पनि यसलाई सुधार गर्ने कुरामा प्राथमिकता रहने बताए । उनले अघिल्लो सरकारले गरेका राम्रा कामहरुको निरन्तरता,, संरक्षण र पैरवी गर्ने र सच्चाउनुपर्ने भए प्रदेश सभालाई जानकारी गराएर मात्र गर्ने पनि उल्लेख गरे ।
आवाजपत्र । ३० चैत्र २०८०, शुक्रबार ०७:४३