हुलाक सेवालाई आधुनिक र प्रविधिमैत्री बनाउने मन्त्री गुरुङ प्रतिबद्धता

सुर्खेत । संचार सूचना तथा प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले हुलाक सेवालाई आधुनिक र प्रविधिमैत्री बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् । कर्णाली प्रदेशको राजधानी सुर्खेतमा हुलाक निर्देशनालयको भवन शिलान्यास गर्दै मन्त्री गुरुङले वर्र्षाैदेखि परिवर्तन नभएको हुलाक क्षेत्रलाई अब आधुनिकरण गरिने स्पष्ट पारे । मन्त्री गुरुङले भने, “अब म आएको छु, अब परिवर्तन हुन्छ ।” उनले हुलाक सेवा संवेदनशील भएको उल्लेख गर्दै कानुन, संरचना र जनशक्ति सुधारको खाँचो रहेको औंल्याए ।

कार्यक्रममा संचार सूचना तथा प्रविधि मन्त्रालयका सचिव राधिका अर्यालले हुलाक सेवा जनतालाई प्रत्यक्ष जोड्ने माध्यम भएको भन्दै यसको प्रविधियुक्त रूपान्तरण आवश्यक रहेको बताइन् । “सूचना प्रविधिमा तीव्र विकास भएकाले हुलाक सेवालाई कार्य सक्षम बनाउँदै स्थानीय तहमा समेटिनेछ,” उनले भनिन् ।

मुख्यमन्त्री कार्यालय कर्णाली प्रदेशका सचिव वीरेन्द्रकुमार यादवले कर्णालीलाई डिजिटल बनाउन सूचना प्रविधिमा लगानी आवश्यक रहेको बताए। उनले लोक कार्यकारी विज्ञापन प्रणालीमा एकरूपता ल्याउने र आइटी संरचना बलियो बनाउने कुरामा जोड दिए ।

प्रमुख जिल्ला अधिकारी जगदीश्वर उपाध्यायले तीनै तहलाई जोड्ने संयन्त्रको रूपमा हुलाकको भूमिकालाई महत्त्वपूर्ण बताउँदै यसलाई अब डिजिटल प्रविधिमा लैजानुपर्ने बताए ।

शिलान्यास कार्यक्रमले हुलाक सेवाको पुनः जागरण र डिजिटल रूपान्तरणको दिशामा नयाँ युगको सुरुवात गर्ने विश्वास व्यक्त गरिएको थियो।