‘प्राप्त महिला अधिकार प्रभावकारी कार्यान्वयन गर्न आवश्यक ’

सुर्खेत । संविधानले महिलालाई दिएको अधिकार कार्यान्वयनमा जोड दिन आवश्यक रहेको बताइएको छ । ११५ औँ अन्तराष्ट्रिय महिला दिवसको अवसरमा अखिल नेपाल महिला संघ कर्णाली प्रदेशले शनिबार वीरेन्द्रनगरमा आयोजना गरेको कार्यक्रममा यस्तो बताइएको हो ।
अखिल नेपाल महिला संघका केन्द्रिय सचिव तथा कर्णाली प्रदेश इन्चार्ज मिना सिंह रखालले संघर्ष र बलिदानबाट ल्याएको महिला अधिकार प्रभावकारी रुपमा कार्यान्वयन हुनुपर्नेमा जोड दिइन् । अझै पनि ३३ प्रतिशत महिला सहभागिता हुन नसकेको भन्दै हरेक क्षेत्रमा ३३ प्रतिशत पु¥याउन र समानताका आवाज उठाउन आवश्यक रहेको उनले बताइन् । उनले भनिन्, ‘हामीले प्राप्त अधिकार सबै कार्यान्वयन भएको छैन् । अधिकार काार्यन्वयनका लागि आवाज उठाउने काम अनेम संघले नेतृत्वदायि भूमिका खेल्नुपर्छ ।’
यस्तै कार्यक्रममा प्रदेश सभा सदस्य एवंम नेकपा एमाले कर्णाली प्रदेशका उपाध्यक्ष टेकराज पछाईले महिलाहरुले समानन्तर अवसर खोज्दै नेतृत्व गर्ने वातावरण गराउनुपर्ने बताए । महिलाले पनि हरेक क्षेत्रको नेतृत्व लिन सक्षम भएकाले योग्यताको आधारमा नेतृत्व गर्ने वातावरण बनाउन आवश्यक रहेको उनको भनाई थियो ।
अखिल नेपाल महिला संघ कर्णाली प्रदेशका अध्यक्ष पदमा खड्काले महिलाले प्राप्त अधिकारलाई स्थापित गर्न आवश्यक रहेको बताइन् । उनले महिला आन्दोलनको उपलब्धीका कारण आज हरेक तहमा महिला सहभागिता बढे पनि यसलाई अझै अर्थपूर्ण गराउनुपर्ने उल्लेख गरिन् । महिला आन्दोलन र अधिकार प्राप्तिमा अखिल महिला संघको भूमिका अग्रणी रहेको आगामी दिनमा पनि निरन्तर हुने उनको भनाई थियो । कार्यक्रममा विभिन्न जनवर्गीय संगठनमा निर्वाचित पदाधिकारीहरुलाई सम्मान गरिएको थियो ।