कर्णालीमा सुरु भयो ‘छोरी सम्मेलन’

सुर्खेत । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा आजदेखि तीनदिने ‘कर्णाली छोरी सम्मेलन’ सुरु भएको छ । श्री ज्योति फाउन्डेसन र कर्णाली प्रदेश सरकारअन्तर्गतको सामाजिक विकास मन्त्रालयको सहकार्यमा आयोजना गरिएको सम्मेलन तीन दिनसम्म चल्नेछ।

सम्मेलनमार्फत प्रदेशका किशोरी तथा युवतीहरूलाई नेतृत्व क्षमता, आत्मविश्वास र सामाजिक उत्तरदायित्वबारे सचेत गराउने उद्देश्य राखिएको आयोजकले जनाएको छ। श्री ज्योति फाउन्डेसनकी अध्यक्ष ज्योति कटुवालले भनिन्, “कर्णालीका छोरीहरू अधिकार र अवसरबाट पछाडि परेकाले उनीहरूलाई सशक्त बनाउन यो सम्मेलनको आयोजना गरिएको हो।”

उनका अनुसार सम्मेलन ‘कर्णाली छोरी सशक्तिकरण अभियान’ अन्तर्गतको एक गतिशील पहल हो। “यो केवल एक कार्यक्रम होइन, चेतनाको स्वरूपमा कर्णालीका छोरीहरूलाई सक्षम बनाउने सामाजिक आन्दोलन हो,” कटुवालले भनिन्।

सम्मेलनमा विभिन्न विषयमा प्रवचन, अन्तरक्रिया, बहस र प्रेरणादायी सेसन हुनेछन्। त्यस्तै, सहभागी छोरीहरूले आफ्ना अनुभव र मनका कुरा साझा गर्नेछन् भने सांस्कृतिक कार्यक्रममार्फत आफ्नो प्रतिभा प्रस्तुत गर्ने अवसरसमेत पाउनेछन्।

सम्मेलनले महिलाको अधिकार, शिक्षा, स्वावलम्बन र नेतृत्व विकासमा टेवा पुर्‍याउने अपेक्षा गरिएको छ।