सुर्खेत । कार्यस्थल र सार्वजनिक स्थलमा हुने हिंसा तथा दुव्र्यवहार रोक्नका लागि सुर्खेतका सरोकारवालाहरुले प्रतिवद्धता जनाएका छन् । वीरेन्द्रनगर नगरपालिकाको समन्वयमा सञ्चारिका समुह कर्णाली प्रदेशले आयोजना गरेको कार्यस्थलमा हुने हिंसा र दुव्र्यवहार सम्बन्धी दुई दिने तालिम तथा अन्तर्रक्रिया कार्यक्रममा सरोकारवाला निकायले सामुहिक रुपमा एक्यवद्धता जनाएका हुन् । सञ्चारिका समुह कर्णाली प्रदेश, सुर्खेत उद्योग वाणिज्य संघ, नेपाल उद्योग तथा व्यवसाय महासंघ, संयुक्त यातायात व्यवस्थापन, पत्रकार महासंघ सुर्खेत, प्रेस युनियन सुर्खेत, प्रेस चौतारी सुर्खेत, प्रेस चौतारी कर्णाली प्रदेश र सुर्खेतस्थित विभिन्न सञ्चार माध्यमले हरेक सार्वजनिक निजी तथा औद्योगिक व्यावसायिक प्रतिष्ठानहरूमा कुनै पनि वर्ग, लिङ्ग, धर्म जाति वा राजनैतिक आस्थाका आधारमा हिंसा भेदभाव र दुर्व्यवहार नहुने गरी सुरक्षित वातावरण निर्माणका लागि सामूहिक रुपमा प्रतिवद्धता जनाएका हुन् ।
कार्यस्थलमा हुन सक्ने आर्थिक शारीरिक मानसिक यौनजन्य र साइबर लगायतका सबै खाले हिंसा वा भेदभाव विरुद्ध लिखित रुपमा स्पष्ट नीति बनाई प्रभावकारी कार्यान्वयन गर्ने पनि उनीहरुले सहमति जनाएका छन् ।
नेपाल उद्योग तथा व्यवसाय महासंघ सुर्खेतका अध्यक्ष भानुभक्त खड्काले आफु र आफ्नो क्षेत्रमा लैङ्गिकमैत्री वातावरण बनाउने प्रतिवद्धता जनाएका छन् । पुरुषले महिला गर्ने विभेद भन्दा पनि महिलाले महिलालाई गर्ने विभेद अझ बढी रहेको उनको भनाई छ । उनले आफ्नो काम गर्ने क्षेत्रमा लैङ्गिकमैत्री नीति नै बनाउन नसके पनि केही कार्यस्थलमा महिला पुरुषबीच समान व्यवहार, समान पारिश्रमिक दिँदै आइरहेको बताए ।
तालिमको प्रशिक्षकका रुपमा टिका विष्टले कार्यस्थलमा हुने हिंसा र दुव्र्यवहारबाट कसरी आँफुलाई सुरक्षित राख्ने तथा कानुनी उपचार के हुन सक्छ ? भन्ने विषयमा सहजीकरण गरेकी थिइन् ।
आवाजपत्र । १९ असार २०८१, मंगलवार २१:१०