सुर्खेत । कर्णाली प्रदेशसभाका सदस्यहरु आधुनिक प्रविधिसँग अभ्यस्त हुन थालेका छन् । प्रदेश सभा सदस्यहरुले कृत्रिम बौद्धिकता (एआइ) चलाउन तालिम नै लिएर सिकेका छन् । प्रदेशसभा सचिवालयले शनिबार आयोजना गरेको अनुभव आदनप्रदान कार्यक्रममा आधुनिक प्रविधिसँग आफूलाई अभ्यस्त गराउन र ज्ञान बढाउनका लागि प्रदेशसभा सदस्यहरुका लागि एआइ चलाउन सिकाइएको हो ।
प्रदेशसभाका पूर्व र वर्तमान सदस्यहरूबीच संसदीय अभ्यासका विविध पक्षमा अनुभवन आदान प्रदान कार्यक्रममा विषय विशेषज्ञ प्रवेश सुवेदीले प्रयोगात्मक रुपमै प्रदेशसभा सदस्यहरुलाई एआईको प्रयोग बारे सिकाएका थिए । उनले एआइबाट विषय बस्तु कसरी खोज्नेलगायतका विविध विषयमा सिकाएका थिए ।
कार्यक्रममा सभामुखनन्दा गुरुङले एआइको सही प्रयोगले आफुहरुले गर्ने हरेक गतिविधिमा सहज हुने बताए । उनलेले धेरै ज्ञानका कुराहरु सजिलै प्राप्त गर्न सक्ने बताए । उनले कानुन निर्माणमा समेत प्रदेशसभा सदस्यहरुलाई एआइको प्रयोगले सहयोग पुग्ने उल्लेख गरे ।
यसको प्रयोगले प्रदेशसभा सदस्यहरूको नीतिनिर्माण तथा दैनिक कामहरुमा महत्वपूर्ण भूमिका खेल्ने उनको नाई थियो । कार्यक्रममा नेपाली काँग्रेसका प्रमुख सचेतक हिक्मत विष्टले यो प्रविधि प्रयोग गर्न अतिआवश्यक रहेको बताए । उनले भने, ‘यो प्रविधिको बारेमा हामी निर्वाचित हुन बित्तिकै जान्न आवश्यक रहेछ । ढिलै भए पनि जान्ने र बुझ्ने अवसर पाइयो । यसको प्रयोगले हामीले धेरै गर्न सक्छौँ ।’ कसरी कानुन बनाउने, प्रभावकारी कार्यान्वयन कसरी गर्ने, समस्या समधानका उपायहरु पनि एआइले बताइदिने भएकाले यसको प्रयोग महत्वपूर्ण रहेको उनको भनाई छ ।
प्रदेश सभा सदस्य जानकी सिंहले एआइको बृहत प्रयोगका लागि अझै सिक्न जरुरी रहेको बताइन् । उनले यसबाट धेरै ज्ञान लिएर प्रदेश सभामा आफ्नो भूमिकालाई प्रभावकारी बनाउन सक्ने विश्वास व्यक्त गरिन् ।
आवाजपत्र । १४ असार २०८२, शनिबार २२:०१