यौन र प्रजनन् स्वास्थ्यका बारेमा विद्यालयमा सचेतनामुलक कार्यक्रम

सुर्खेत । सुर्खेतको भेरीगंगा, गुर्भाकोट र लेकबेशी नगरपालिकाका विभिन्न सात वटा बिद्यालयमा किशोर यौन र प्रजनन् स्वास्थ्यका बारेमा सचेतनामुलक कार्यक्रम सम्पन्न भएको छ । किशोर किशोरीहरुलाई यौन र प्रजनन् स्वास्थ्य अधिकारका बिषयमा सचेत गराउन किशोराअवस्थाका बिद्यार्थीहरुलाई लक्षित गरी एफ.सि.डि.यो को आर्थिक सहयोग तथा भिएसओ नेपाल र ब्रिटिश काउन्सील नेपालसंगको सहकार्यमा आसमान नेपालद्धारा सञ्चालित बालिका शिक्षाको दिगोपना र मुलप्रवाहीकरणका लागि शसक्तिकरण परियोजना अन्तरगत बिद्यालय स्तरीय सचेतनामुलक कार्यक्रम आयोजना गरिएको हो ।

कार्यक्रममा किशोर—किशोरी अवस्थामा आउने परिवर्तन, सुरक्षित यौन व्यवहार र प्रजनन् स्वास्थ्य के हो, यसको महत्व, यौन व्यवहार, किशोर किशोरीमैत्री स्वास्थ्य सेवा, जीवन उपयोगी सीप, किशोरी गर्भाअवस्थाका जोखिम, सुरक्षित गर्भपतन र कानुनी प्रावधान लगायतका बिषयमा छलफल गरिएको आसमान नेपालका कार्यक्रम संयोजक सुनिता बोहोराले जानकारी दिइन् ।

कार्यक्रम भेरीगंगा १० स्थित प्रभात माध्यमिक बिद्यालय थानीचौर, जनज्योती माध्यमिक बिद्यालय भेरीगंगा ९, शिखर माध्यमिक बिद्यालय भेरीगंगा ११, जीवनज्योती माध्यमिक बिद्यालय लेकबेशी ४ मा कार्यक्रम सम्पन्न भएको हो । यसैगरी नेपाल राष्ट्रिय माध्यमिक बिद्यालय गुर्भाकोट ६ बडाखोली, जनसेवा माध्यमिक बिद्यालय गुर्भाकोट ९, भेरी माध्यमिक बिद्यालय गुर्भाकोट १०, कार्यक्रम सञ्चालन गरियो । कार्यक्रममा बिद्यार्थी, बाल समुहका प्रतिनिधि, जेम्स क्लवका सदस्य, किशोरी समाबेशी शिक्षा सञ्जालका सदस्य, नेपाल रेडक्रस सोसाइटीका प्रतिनिधि लगायतको उपस्थीति रहेको थियो ।