गभर्नरका लागि विश्व पौडेलसहित तीन जनाको नाम सिफारिश

काठमाण्डाै । गभर्नर सिफारिश समितिको आज बसेको बैठकले नेपाल राष्ट्र बैंकको नयाँ गभर्नरमा तीन जनाको नाम सिफारिश गरेको छ ।

अर्थ मन्त्रालयमा आज बसेको समितिको बैठकले गभर्नरका लागि पहिलाे नम्बरमा डा. विश्व पौडेलसहित राष्ट्र बैंककी डेपुटी गभर्नर नीलम ढुङ्गाना तिम्सिना र दिनेश भट्टराईको नाम सिफारिश गरेकाे हाे । गभर्नरको नाम टुङ्गो लगाउन आजै मन्त्रिपरिषद् बैठक बस्ने तयारी छ ।

यसअघि सर्वोच्च अदालतले आजै अर्थशास्त्री डा. विश्व पौडेललाई गभर्नर बन्ने बाटो खुला गरिदिएको थियो । न्यायाधीश सपना प्रधान मल्लको एकल इजलासले उहाँलाई गभर्नर बन्नबाट रोक्ने रिट दरपीठ गर्ने सर्वोच्च प्रशासनको यसअघिको आदेश सदर गरेको हो ।

यस्तै आज दिउँसो प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच विश्व पौडेललाई नेपाल राष्ट्र बैंकको नयाँ गभर्नर बनाउन सहमति जुटेको थियो । त्यसपछि अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सिफारिश समितिको बैठक बोलाउनुभएको थियो ।

गभर्नर पद रिक्त रहेको डेढ महिना पुग्न लाग्दा पनि सरकारले नियुक्त गर्न सकेको छैन ।

(उज्यालोबाट साभार)