सुर्खेत । नेपालगन्ज मेडिकल कलेजका प्रमुख कार्यकारी अधिकृत सन्तोष कुमार बि.एनले जनशक्ति व्यवस्थापनमा कमी हुँदा सोचे जस्तो सेवा प्रवाह हुन नसकेको बताए । समन्वय सहकार्यबाट नागरिकको स्वास्थ्य परिवर्तनका लागि सकारात्मक पहल भएको उनको भनाई छ ।
यूएसआइडी–पीआरए परियोजना अन्तर्गत ह्याडिक्याप इन्टरनेशनलको प्राविधिक सहयोगमा नेपालगंज मेडिकल–कलेज शिक्षण अस्पताल कोहलपुरद्वारा संचालित पुनस्र्थापना सेवा र सामाजिक विकास मन्त्रालयको संयोजकत्वमा प्रदेश स्तरिय पुनस्र्थापना समन्वय बैठकमा बोल्दै उनले आगामी दिनमा स्वास्थ्य पुनस्र्थापनाका लागि लखनऊ लगायतका अन्य बाह्य क्षेत्रमा जानुपर्ने बाध्यतालाई कम गर्न योजना बनाइरहेको समेत जानकारी दिएका थिए ।
सामाजिक विकास मन्त्रालयमा घनश्याम भण्डारीले नेपालगन्ज मेडिकल कलेज कर्णालीको प्रेषण केन्द्रका रूपमा स्वीकार गरिएको बताएका छन् । मन्त्री भण्डारीले शिविरबाट पहिचान भएका बिरामीमा रोगको पहिचान हुने तर उपचार नभइदिने समस्याले गर्दा जनतामा नैराश्यता पैदा भइरहेको बताए ।
शिविर सञ्चालन गर्दा विरामीमा देखिएका रोगको उपचारमा समेत सहयोग हुने गरी कार्ययोजना बनाएर शिविर सञ्चालन गर्न उनले सुझाव दिएका छन् । विपन्न, गरिब परिवारका सदस्यका लागि सामाजिक सुरक्षा कोषको सहयोग गरिदिन समेत आग्रह गरेका छन् । भौतिक शरीर गुमाएकाहरुका लागि कृत्रिम सामग्री दिएर जीवनयापन गर्न सहज बनाउने तर्फ सहयोगका लागि मन्त्री भण्डारीले आव्हान गरेका थिए । नीतिगत कार्यका लागि सरकारका तर्फबाट आफू तयार रहेको जानकारी गराउँदै साझेदारीका लागि वातावरण बनाउन सुझाव दिए ।
उनले कर्णाली प्रदेशका मानसरोवर लगायतका हिमाली जिल्ला भ्रमणमा आएका पर्यटकका लागि आकश्मिक उपचारका लागि सेवालाई गुणस्तरीय बनाउन समेत सुझाव दिए ।
यस्तै सामाजिक विकास मन्त्रालयका सचिव दीर्घ बहादुर पोखरेलले पुनस्र्थापनालाई स्थानीय स्तरमै सेवा प्रवाह गरिनुपर्ने बताएका छन् । अपाङ्गता पुनस्र्थापनाका लागि अस्पतालको मात्र होइन सरकारको पनि रणनीतिक योजना बनाइरहेको उनको भनाई छ । उनले आवश्यक परेमा नेपालगन्ज मेडिकल कलेज र स्थानीय तहसँग प्राथमिकताका आधारमा साझेदारी गर्न तयार रहेको जानकारी दिए ।
स्वास्थ्य सेवा निर्देशक डा. रविन खड्काले विषेशगरी अपाङ्गता भएका व्यक्तिका लागि पुनस्र्थापना आवश्यक हुने बताए । कागजमा लेखिएका कुरा कार्यान्वयनमा आउन र त्यसबाट नतिजा प्राप्त गर्न कठिन हुने गरेको उनको भनाइए छ । जनशक्ति व्यवस्थापन र उनीहरूका लागि प्रशिक्षण चुनौती भइरहेको भन्दै उनले उपकरणका हिसाबले अभाव नरहेको तर प्रयोगमा आउन नसकेको बताए ।
प्रदेश अस्पताल सुर्खेतका हाडजोर्नी तथा नशा डा. विकास केसीले मांसपेसी अपाङ्गता भएका व्यक्तिहरूको संख्या बढिरहेको जानकारी दिए । अपाङ्गता परिचयपत्रका लागि सिफारिस लिनेहरूको संख्या बढिरहेको तर परिचयपत्र सही सदुपयोग हुन नसकेको उनले टिप्पणी गरे । अपाङ्गता भएका व्यक्तिहरूलाई सहयोगी निकायले दिएका उपकरणको उपयोग सही तरिकाले हुन नसकेको उनको भनाई छ ।
प्रदेश स्वास्थ्य आपूर्ति केन्द्रका निर्देशक डा. शक्ति प्रसाद सुवेदीले स्थानीय तहसम्म पुनस्र्थापनाका लागि तालिम प्रदान गर्न आवश्यक रहेको र तीन वटै तहबीच छलफल तथा समन्वय हुन जरुरी रहेको बताए ।
आवाजपत्र । ६ कार्तिक २०८१, मंगलवार १९:३१