सुर्खेत । सुर्खेतस्थित कोपिला भ्याली स्कूलले विश्वकै उत्कृष्ट विद्यालय पुरस्कार २०२५ (World’s Best School Prizes 2025) अन्तर्गत वातावरणीय कार्य श्रेणीमा शीर्ष १० स्थानमा पर्न सफल भएको छ ।
विश्वव्यापी रूपमा शिक्षा क्षेत्रमा दिगो, नवप्रवर्तनशील र समाजमा सकारात्मक प्रभाव पार्ने विद्यालयहरूलाई सम्मान गर्न सन् २०२२ देखि सुरु गरिएको यस पुरस्कारमा नेपालबाट पहिलोपटक कुनै विद्यालय अन्तिम १० मा छनोट भएको हो ।
कोपिला भ्याली स्कूल एक स्वतन्त्र, गैरनाफामूलक संस्था हो, जसले कर्णाली प्रदेशको वीरेन्द्रनगरमा विपन्न पृष्ठभूमिका ४०० भन्दा बढी बालबालिकाहरूलाई गुणस्तरीय शिक्षाका साथै वातावरणीय सचेतना र दिगोपनासँग सम्बन्धित शिक्षा प्रदान गर्दै आएको छ । ‘ग्रीन स्कूल’ अवधारणामार्फत वातावरण संरक्षणलाई शिक्षाको अभिन्न अङ्ग बनाउने यस विद्यालयको प्रयासलाई विश्व समुदायले उच्च मूल्याङ्कन गरेको छ ।
पाँच विधामा पुरस्कृत हुने
यो पुरस्कार वातावरणीय कार्य, समुदाय सहकार्य, नवप्रवर्तन, चुनौती पार गर्ने क्षमता, र स्वस्थ जीवनशैली यी पाँच विधामा प्रदान गरिन्छ । विज्ञ निर्णायक मण्डलद्वारा विजेताहरू छनोट गरिनेछन् । साथै, हाल सार्वजनिक अनलाइन भोटिङ पनि खुल्ला गरिएको छ, जहाँ विश्वभरका मानिसहरूले आफ्नो मनपर्ने विद्यालयलाई समर्थन गर्न सक्नेछन् ।
सन् २०२५ अक्टोबरमा विजेता विद्यालयहरूको घोषणा गरिनेछ । यसका साथै, शीर्ष ५० मा छनोट भएका सबै विद्यालयहरूलाई नोभेम्बर १५(१६ मा अबुधाबी, यूएईमा आयोजना हुने ग्लोबल नीति संवाद कार्यक्रममा आमन्त्रण गरिनेछ । त्यहाँ विद्यालयका प्रतिनिधिहरूले विश्वभरका नीति निर्माताहरू तथा शिक्षाविद्हरूसँग आफ्ना अनुभव र कार्यदिशा साझा गर्ने अवसर प्राप्त गर्नेछन् । नेपालको तर्फबाट यस्तो उपलब्धि हासिल गर्नु केवल कोपिला भ्याली स्कूलको मात्र नभई, समग्र नेपाली शिक्षा क्षेत्रको लागि गर्वको विषय हो ।
आवाजपत्र । ४ असार २०८२, बुधबार २०:२६