कर्णाली मन्त्रिपरिषद् बैठकका चार निर्णय

सुर्खेत । कर्णाली प्रदेश सरकारको मन्त्रिपरिषद्को बैठकले विभिन्न ४ निर्णयहरू गरेको छ । विभिन्न मन्त्रालयहरुद्वारा पेस गरिएका प्रस्तावहरूमध्ये बैठकले चार वटा महत्वपूर्ण प्रस्तावहरू स्वीकृत गरेको हो । बैठकले पहिलो प्रस्ताव अन्तर्गत उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको रिक्त सचिव पदमा कायम मुकायम सचिवको जिम्मेवारी दिने निर्णय गरेको छ ।

दोस्रो प्रस्तावअनुसार कर्णाली प्रदेश प्रशिक्षण प्रतिष्ठानको कार्यकारी निर्देशकका रूपमा एक कर्मचारीलाई खटाउने निर्णय गरिएको छ । तेस्रो निर्णयमा आन्तरिक मामिला तथा कानुन मन्त्रालयमार्फत वार्षिक कार्यक्रम अन्तर्गत खर्च शीर्षक नं. ३७२११ को कार्यान्वयनका लागि संकेत नं. ७.२.७.१ अनुसारको रकम स्थानीय तहमा निकासा दिन अख्तियारी पठाउने निर्णय गरिएको छ ।

यस्तै, चौथो प्रस्तावस्वरूप ‘आमसञ्चार तथा सूचना प्रवाह सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८१’ लाई प्रशासन तथा विधायन समितिबाट प्राप्त परिमार्जनसहित प्रदेश सभामा पेस गर्न स्वीकृति प्रदान गरिएको छ ।