सुर्खेत । कर्णाली प्रदेशका ५५ प्रतिशत जनसंख्या स्वास्थ्य बीमाको पहुँच बाहिर रहेको पाइएको छ । बीमा बोर्ड कर्णाली प्रदेश सुर्खेतले आयोजना गरेको नवौ स्वास्थ्य बीमा दिवसका अवसरमा कर्णालीका ५५ प्रतिशत जनसंख्या अझै पनि स्वास्थ्य बीमाको पहुँच बाहिर रहेको जानकारी दिएको हो । कार्यक्रम लागु भएको ८ वर्षको अवधिमा प्रदेशका ४५ प्रतिशत जनसंख्या मात्र स्वास्थ्य बीमाको पहुँचमा रहेका छन् ।
बोर्डका प्रदेश संयोजक महेशप्रसाद ठाकुरले उपल्लो डोल्पाका ३ स्थानीय तहमा अझै पनि स्वास्थ्य बीमा कार्यक्रम लागु हुन नसकेको बताए । शे–फोक्सुण्डो, डोल्पोबुद्ध र छार्काताङ्सोङ गाउँपालिकामा बीमा कार्यक्रम नै लागु हुन नसकेको उनले बताए ।
कर्णालीमा सबैभन्दा बढी जुम्लामा ८२ प्रतिशत नागरिक बीमामा आबद्ध छन् । भने सबैभन्दा कम सल्यानका नागरिक बीमा कार्यक्रममा आवद्ध छन् ।
राष्ट्रिय जनगणना २०७८ अनुसार कर्णालीको जनसंख्या १६ लाख ८८ हजार ४१२ जनसंख्या छ । जसमध्ये हालसम्म ४५ प्रतिशत नागरिक मात्रै बीमामा आबद्ध भएको प्रदेश संयोजक ठाकुरले बताए ।
तथ्यांक अनुसार कर्णालीका ७८६ मध्ये ३६ वटा स्वास्थ्य संस्थाले मात्र स्वास्थ्य बीमा कार्यक्रमको सेवा प्रदायकको रुपमा सेवा दिइरहेका छन् । कर्णाली प्रदेशअन्तर्गत स्वास्थ्य बीमा कार्यक्रमको सेवा प्रदायक स्वास्थ्य संस्थाहरुको भुक्तानीको अवस्था निकै कम रहेको पाइएको छ । स्वास्थ्य बीमा बोर्ड कर्णाली प्रदेश कार्यालयका अनुसार चालू आर्थिक वर्ष (२०८१÷०८२) को पाँचों भुक्तानी मिति २०८१ फागुन १५ सम्ममा २० करोड ६७ लाख ८४ हजार ६६८ रुपैयाँमात्र भुक्तानी भएको देखिन्छ ।
यस्तै वीरेन्द्रनगरमा सोमबार सँगै मनाइएको नवौ स्वास्थ बीमा दिवस र विश्व स्वास्थ दिवसका अवसरमा सामाजिक विकास मन्त्रालयले संचारकर्मीहरुसँग अन्तक्रिया पनि गरेको थियो । उक्त कार्यक्रममा बोल्दै सामाजिक विकास मन्त्री घनश्याम भण्डारीले सडक नपुग्दा माथिल्लो डोल्पाका ३ पालिका बीमा मात्र नभई अन्य सेवा पनि पुग्न नसकेको बताए ।
मन्त्रालयका स्वास्थ महाशाखा प्रमुख बृष बहादुर शाहीले सबैलाई बीमा कार्यक्रममा जोडिन अनुरोध गर्दै कर्णालीमा वार्षिक ३६ हजार बढी जिवित जन्मिएका शिशुमध्ये २६ प्रतिशत शिशु मृत्युदर रहेको जानकारी दिए । १ लाख सुत्केरी आमामध्ये १७२ जनाको मातृ मृत्युु हुने गरेको उनले बताए । उनका अनुसार कर्णालीमा ७६ प्रतिशतले नियमित गर्भ जाँच गर्दछन् । भने ७२ प्रतिशतले सुरक्षित प्रसुति सेवा लिने गरेका छन् । भने ९० प्रतिशत स्वास्थ्य संस्थाले सुरक्षित प्रसुती सेवा दिने गरेका छन् ।
स्वास्थ सेवा निर्देशनालय सुर्खेतका निर्देशक डा. रविन खड्काले स्वास्थ्य बीमा कार्यक्रमको पहुँचमा सबै कर्णालीवासी जोडिनका लागि धेरै चुनौती रहेको उल्लेख गर्दै लक्ष्य पुरा गर्न सबै निकायले हातेमालो गरेर अघि बढ्नुपर्ने बताए ।
आवाजपत्र । २४ चैत्र २०८१, सोमबार २०:४८